भाषाका अभिभावकसँग अन्तिम भेट:‘मेरो घरमा आउनुहोला नि है, कुराकानी गर्नु छ’

भाषाका अभिभावकसँग अन्तिम भेट:‘मेरो घरमा आउनुहोला नि है, कुराकानी गर्नु छ’

ज्ञानेन्द्र विवश  |  साहित्य  |  फागुन २४, २०८१

फाल्गुन महिनाको त्यो दिन, जब वरिष्ठ भाषाविद् एवं साहित्यकार चूडामणि गौतमसँग भेट भएको थियो, कसरी थाहा हुन्थ्यो कि त्यो नै अन्तिम हुनेछ ? हामीले उहाँलाई सदैव जीवित साहित्यका स्तम्भ, नेपाली भाषाका एक अथक साधकका रूपमा देखेका थियौं । 

भाषा, व्याकरण, साहित्यिक विमर्श, समाज शास्त्रका जटिल आयामहरू उहाँको सहज भाषामा सुन्ने सौभाग्य धेरैपटक प्राप्त भएको थियो । तर त्यो दिनको भेट, त्यो संक्षिप्त वार्ता, त्यो एक झलक–सबै अब सम्झनाको सेतो पानामा अंकित मात्र रहने भयो ।

उहाँको व्यक्तित्व उस्तै गम्भीर थियो । सरल,  मिठास पूर्ण र विद्वतासहित । नेपाली भाषा, व्याकरण र साहित्यलाई उचाइमा पुर्‍याउने उहाँको अभिलाषा अनगन्ती कृतिहरूमा झल्किन्थ्यो । ती सबका साक्षी म आफैं थिएँ । त्यो दिनको भेटमा पनि उहाँको आँखा अझै नयाँ योजनाका शब्दहरू बुन्दै गरेझैँ देखिन्थ्यो ।

मैले सहजै सोधेँ, ‘गौतम सर, तपाईका आगामी योजना के छन् ?’

उहाँले हल्का मुस्कानसहित भन्नुभयो– ‘यही भाषा लेखन हो । यो भाषा मरेपछि हामी बाँच्छौँ र ? त्यसैले हाम्रो भाषालाई हामीले बचाउनुपर्छ ।’

त्यस वाक्यको गहिराइ, त्यसको संकेत, त्यसको मौन चीत्कार मलाई बल्ल २०८१ साल फाल्गुन १२ गते साँझ थाहा भयो– जब खबर आयो उहाँ यो संसारलाई सदाका लागि छाडेर गइसक्नुभयो ।

मनले विश्वास गर्न मानेन । तस्बिर हेर्छु– त्यो नै अन्तिम क्षण कैद गर्ने अन्तिम तस्बिर । जुन तस्बिरमा अर्का भाषाविद् शरच्चन्द्र वस्ती हुनुहुन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा त्यो दिन उहाँले लगाएको हल्का सेतो रङको सर्ट, अनुहारमा झल्किएको गम्भीरता, ओँठमा झिनो मुस्कान, आँखामा शाश्वत जिज्ञासा । त्यो अनुहार अब केवल सम्झनामा मात्रै सीमित रहने भयो ।

त्यही भेटमा उहाँले शरच्चन्द्र वस्तीतिर फर्केर भन्नुभयो– ‘उहाँ मेरो घरमा आइसक्नुभयो ।’

‘तर मेरो त विवशजीसँग धेरै वर्षपछि भेट भयो ।’ वस्तीले मलाई भन्नुभयो ।

गौतम सरले पुनः विनम्र आग्रहसहित भन्नुभयो– ‘मेरो घरमा आउनुहोला नि है । कुराकानी गर्नु छ ।’

यही बोली नै उहाँको अन्तिम भयो । तर पछि पनि फोनमा उहाँसँग कुराकानी त भएको थियो । मैले फेरि उहाँको घर जाने समय मिलाउनै सकिनँ । उहाँको निवास डिल्लीबजार पिपलबोटसँगै जाँदा मैले मेरा तीन वटा भेटको काम पूरा गर्नु थियो । सम्पादक शेषराज शिवाकोटीलाई त्यही पर घरमा भेट्ने । अनि अलिवर स्वदेश प्रकाशनका ऋषिराम पाण्डेसँग भेटेर किताब लिने । भेटका यिनै समय मिलाउँदै गर्दा गौतम सरलाई भेटेर फर्किने योजना अधुरै रह्यो ।

संस्मरणले स्मृतिहरू सजीव बनाउँछ, तर त्यो जीवत्व क्षणिक मात्र हुँदोरहेछ । एकपल्ट फेरि उहाँको आवाज सुन्न पाए कति राम्रो हुन्थ्यो ! उहाँले गरेको हरेक शब्दको उच्चारण, हरेक वाक्यको संरचना, हरेक भावको प्रवाह– सबै गुमाइसकेको आभासले मन गह्रौँ बनाउँछ । उहाँले घरमा बोलाउनुभएको विनम्र अनुरोधलाई मैले अनायासै बिर्सिदिनुपर्‍यो । यति चाँडै उहाँ सदाका लागि जानुहोला भन्ने भवितव्यको कुरा थाहा नहुँदोरहेछ । 

चूडामणि गौतमको योगदान व्याकरण, शब्दकोशका किताबहरू तथा भाषिक शुद्धिकरण अभियानका विविध पक्षहरूमा मात्र सीमित भइरहँदैन । उहाँ कक्षा कोठामा जीवित हुनुहुने छ । विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूका आदर्श गुरु बनिरहनु हुने छ । भाषा सिक्ने प्रत्येक विद्यार्थीका लागि उहाँ एउटा उज्यालो मार्गदर्शन हुनुहुन्थ्यो ।

तर उहाँ जिउँदै हुनुहुन्छ– उहाँका कृतिहरूमा, उहाँका शब्दहरूमा, उहाँले कोरेका व्याकरणका संरचनाहरूमा । नेपाली भाषा बोल्ने हरेक जिब्रोमा उहाँको योगदान जीवित छ ।
अन्तिम भेटको सम्झना मेरो मानसपटलमा अमिट छ । त्यो दिनको एकै छिनको भेट, त्यो मुस्कान, त्यो संवाद– सबैभित्र एउटा मौन संकेत लुकेको रहेछ, जुन अब आएर मात्रै प्रष्ट भयो । त्यही भेटमा शरच्चन्द्र वस्तीसँगै खिचिएको तस्बिर नै उहाँसँगको अन्तिम चिनो–चेहरा भएर रह्यो । हो, भाषा मरेपछि हामी बाँच्दैनौँ । उहाँ बाँच्नुहुन्छ उहाँका शब्दहरूमा, हाम्रो चेतनामा, नेपाली भाषा–व्याकरण र साहित्यको इतिहासमा ।

फाल्गुन १२, साँझको त्यो खबरले उहाँलाई हामीबाट अलग गर्‍यो, तर उहाँको अस्तित्व शब्दहरूमा जिउँदै छ । त्यसैले म पुनः एकपटक उहाँको निवासमा उहाँसँगै खिचेको तस्बिर र एकेडेमीमा खिचेको तस्बिर हेरिरहेको छु । मनमनै भन्न मन लाग्छ– ‘गौतम सर, तपाई अन्तिम हुनुहुन्न, तपाई नेपाली भाषा साहित्य र खासगरी शब्दकोश निर्माण र अंग्रेजी भाषा सिकाउने सक्षम गुरु ज्ञाताका रूपमा शब्द–शब्दमा हजुर हामीसँगै हुनुहुन्छ ।’

भाषाको अभिभावक चूडामणि गौतम ! उहाँले जीवन भरि नेपालीलाई अंग्रेजी भाषामा सिपालु पार्न अंग्रेजी भाषाको सरल व्याकरण लेख्नुभयो । पछिल्लो समय शुद्ध नेपाली भाषा लेख्न वृहत नेपाली शब्द कोश लेख्नुभयो । 

अब उहाँको अनुपस्थितिमा शब्दहरू मौन भए । व्याकरणले आँखा चिम्ल्यो । अक्षरहरू थर्थर काँप्न थाले । यस्ता आदरणीय भाषाविज्ञ, शब्दज्ञाता व्याकरण गुरुको अवसानले यो क्षेत्रमा ठूलो अभाव खड्किएको छ ।

किनभने नेपाली भाषाको एउटा अभिभावक चूडामणि गौतमको पार्थिव शरीर अस्ताइसकेको छ । एक युगको समाप्ति भएको छ । उहाँसँगको संवाद, भेटघाट र भाषिक विचलनमाथि बहस गर्ने अवसर समेतको अन्त्य भएको छ ।

चूडामणि गौतम कुनै साधारण नाम होइन । नेपाली भाषाशास्त्र, व्याकरण र साहित्यको क्षेत्रमा उहाँ एक अमूल्य निधि हुनुहुन्थ्यो । व्याकरणको कठोर अनुशासनलाई सरलतामा ढालेर पाठकलाई बुझाउने उहाँको अद्भुत क्षमता थियो । नेपाली भाषाका नियम, अपवाद, प्रयोग र विकासक्रमबारे उहाँको व्याख्या सुनेपछि लाग्थ्यो– भाषा कुनै जटिल संरचना होइन, बरु चिसो पानीजस्तै स्वाभाविक रूपमा बग्ने चीज हो ।

तर आज अब उहाँ हुनुहुन्न । अब व्याकरणका जटिल सूत्रहरू खुलाउने त्यो आवाज हामीले कहिल्यै सुन्न सक्ने छैनौं । नेपाली भाषा, जसलाई उहाँले दशकौंसम्म आफ्ना ज्ञान र अध्ययनले सिँचेर फुलाउनुभयो, फलाउनुभयो । धेरै शिक्षित सज्जन पुस्ता जन्माउनुभयो । उहाँका चेला आज शोकाकुल छन् ।

हामी चूडामणि गौतमलाई अब केवल उहाँको मृत्युले होइन, उहाँको सिर्जनाले सम्झन्छौं । नेपाली भाषाको व्याकरणलाई वैज्ञानिक, व्यावहारिक र सुबोध बनाउन उहाँले गरेका योगदानहरूलाई सम्झन्छौं । उहाँले लेखेका ग्रन्थहरू, भाषा सम्बन्धी अनुसन्धान, यौटा कुशल शिक्षकका रूपमा दिनुभएको योगदान अनि नेपाली भाषा–संस्कृतिको समृद्धिका निम्ति गर्नुभएको अनवरत साधनालाई सम्झन्छौं । श्रद्धाका पुष्प अर्पण गरिरहन्छौ ।

चूडामणि गौतमको योगदान व्याकरण, शब्दकोशका किताबहरू तथा भाषिक शुद्धिकरण अभियानका विविध पक्षहरूमा मात्र सीमित भइरहँदैन । उहाँ कक्षा कोठामा जीवित हुनुहुने छ । विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूका आदर्श गुरु बनिरहनु हुने छ । भाषा सिक्ने प्रत्येक विद्यार्थीका लागि उहाँ एउटा उज्यालो मार्गदर्शन हुनुहुन्थ्यो ।

अब उहाँको अभाव किन खट्किन्छ ? भन्ने सन्दर्भमा वास्तवमा उहाँको अभाव नेपाली व्याकरणका प्रत्येक अनुत्तरित प्रश्नहरूमा खट्किन्छ । कुनै शब्दको शुद्ध प्रयोगबारे दोधार परेको बेला हामी अब कसलाई सोध्ने ? व्याकरणका जटिलता बुझ्न अब हामीलाई कसले सहज पारिदिने ? भाषा विकासका नयाँ धाराहरू कसरी निरन्तर खोज्ने ?

चूडामणि गौतम हुनुहुन्थ्यो भने, उहाँले नेपाली भाषाका विकृत प्रयोगहरूलाई औंल्याएर सच्याउने गरिदिनु हुन्थ्यो । उहाँ हुनुहुन्थ्यो भने, नेपाली भाषा कसरी प्रविधिसँग तालमेल गर्दै विश्वभर फैलिन सक्छ भनेर नयाँ योजना बुन्ने गर्नुहुन्थ्यो । तर अब ती प्रश्नहरूको जवाफ खोज्ने जिम्मेवारी हामीमाथि आइपरेको छ । हामीले उहाँका अधुरा सपना पूरा गर्ने र उहाँका आदर्शलाई अनुकरण गर्नुपर्छ ।

स्मृतिको उज्यालोमा उहाँ सधैं आइरहनु हुने छ । मृत्युले मानिसको शरीरलाई समाप्त गर्न सक्छ । तर उसका विचारहरू कहिल्यै मर्दैनन् । नेपाली भाषाका प्रत्येक अनुशासित वाक्यहरूमा चूडामणि गौतमको अनुशासन झल्किन्छ । प्रत्येक लेखिएका व्याकरणिक नियमहरूमा उहाँको अनुशासन र साधना देख्न सकिन्छ । प्रत्येक सही प्रयोग भएका वाक्यमा उहाँको आत्मा जीवित रहिरहने छ ।

हामी उहाँलाई सम्झिरहने छौं– नेपाली भाषाको एक अथक साधकका रूपमा । हामी उहाँलाई सम्झिरहने छौं– सही भाषा लेख्ने र बोल्ने प्रेरणाका रूपमा ।

चूडामणि गौतम अब हामीसँग हुनुहुन्न, तर उहाँको भाषा हामीसँग छ । यसैले, भाषा अनाथ छैन । किनभने हामी उहाँका उत्तराधिकारी हौं ।

सतत् नमन भाषा गुरु ! हार्दिक श्रद्धाञ्जली व्याकरण गुरु !