नाकाबन्दीले जन्माएको उद्यमः खाडीबाट फर्केर गाई फार्म

नाकाबन्दीले जन्माएको उद्यमः खाडीबाट फर्केर गाई फार्म

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २९, २०७६

२९ जेठ, बुटवल । ०७२ सालको असोजपछि भारतले नेपालमा अघोषित नाकाबन्दी लगाउँदा सैनामैना नगरपालिका–६ भरतपुरटोलका यादव भट्टराई र ठगप्रसाद गैरे रोजगारीका सिलसिलामा खाडी मुलुक बहराइनमा थिए ।

नाकाबन्दीको अवधिमा भारतबाट खाद्यान्न, तरकारी, फलफूल र इन्धन आउन रोकिँदा नेपाली नागरिकले बेहोर्नुपरेको सास्ती नेपाली युवाले विदेशी भूमिबाट राम्रोसँग नियालिरहेका थिए ।


छुट्टीको दिनमा दुबईमा रहेका रुपन्देही र नवलपरासीका अरु ५ जना साथीहरु एकैठाउँ जम्मा भएर नाकाबन्दीले मुलुकलाई पारेको असरबारे छलफल गर्थे । नाकाबन्दीका बेला भारतबाट इन्धन लगायत वस्तु नआउने, तर बिग्रिहाल्ने, सड्ने वस्तु गोलभेंडा र माछा जस्ता वस्तु भने सजिलै आएको देखेपछि उनीहरुले स्वदेश फर्केर कृषि र पशुपालनमा केही गर्नुपर्छ भन्ने अठोट लिए ।

भट्टराई र गैरेले आफ्नै गाउँमा फर्केर व्यावसायिकरुपमा कृषि वा पशुपालन गर्ने प्रस्ताव साथीहरुसँग राखे । दुबईमा काम गर्दै गरेका साथीहरु खेमप्रसाद रेग्मी, तोयानाथ गैरे, गुरुप्रसाद पंगेनी, गोपाल पंगेनी र श्यामप्रसाद गैरेले यादव र ठगप्रसादको प्रस्तावमा सहमत भए । त्यसपछि सातजनाले एक करोड रुपैयाँ जम्मा गरेर सामूहिक लगानीमा कृषि वा पशुपालन गर्ने निर्णय गरे । विदेशमा यस्तो सल्लाह हुँदैगर्दा भट्टराई र गैरेको गाउँ सैनामैना ६ भरतपूरटोलमा गतिशील पशुपालन तथा कृषि अनुसन्धान केन्द्र विक्रीमा थियो । त्यो कुरा परिवारका सदस्यले बहराइनमा रहेका भट्टराई र गैरेलाई जानकारी गराएका थिए । उनीहरुले त्यही गाई फार्म खरिद गर्ने निर्णय गरे र एक करोड मध्येको ४० लाख रुपैयाँ गाउँमा पठाइदिए ।

केही महिना पुरानै सञ्चालकलाई गाई फार्म सञ्चालन गरिदिन आग्रह गरेर भट्टराई र गैरे ०७४ सालमा गाउँ फर्के । ‘विदेश नजाने गरी घर फर्केर आउँदा गोठमा ७ वटा माऊ र १२ वटा बाच्छी थिए’ भट्टराई भन्छन्, ‘सातजनाले लगानी गरे पनि गाई फार्म सञ्चालन र व्यवस्थापनको जिम्मा साथीहरुले हामी दुईजनालाई दिएको हुँदा लगानी र संरचना थप्दै अहिले ५० वटा माउसहित ६५ वटा गाई पुर्‍यायौं ।’

होलस्टेन, अमेरिकन र इटालियन जर्सी जातका २५ वटा दुहुना गाई रहेको फार्मबाट दैनिक दुई सय लिटर दुध विक्री हुने गरेको प्रबन्धक ठगप्रसाद गैरेले बताए । ‘एक वर्षमा करिब तीस लाख रुपैयाँको दूध विक्री गर्‍यौं’, उनले भने ।

रामापुर मावि सैनामैनाको ८ बिघा जग्गा लिजमा लिएर शुरु गरिएको फार्ममा उनीहरुले यो वर्षदेखि तरकारी खेती पनि शुरु गरेका छन् उनीहरुले । अर्को वर्षसम्म दुई बिघा खेतमा व्यवसायिक रुपमै अर्गानिक तरकारी खेती र बाँकी जग्गामा घाँस खेती गर्ने योजना रहेको उनीहरुले सुनाए ।

गाईबाट सन्तान उत्पादनका लागि उन्नत नश्लको गोरु पनि फार्ममै पालेका छन् । भविश्यमा दूध संकलन र चिस्यान केन्द्र सहित गाईको संख्या एक हजार पुर्‍याएर गोबरग्यास प्लान्टसमेत सञ्चालन गरी देशकै नमूना फार्म बनाउने लक्ष्य रहेको प्रबन्धक ठगप्रसाद गैरेले बताए ।

‘बिचौलिया अन्त्य हुनुपर्छ’

कृषि र पशुपालनमा बिचौलियाका कारण किसान र उपभोक्ता मर्कामा परेकाले सरकारले बिचौलियाको अन्त्य गर्नुपर्ने उनीहरुको माग छ ।

‘हामीले उत्पादन गरेको दूध गोठबाट ४५ रुपैयाँमा विक्री हुन्छ,तर उपभोक्ताले ८० रुपैयाँ तिर्नुपर्छ’ भट्टराई भन्छन्, ‘यो देख्दा मुलुकमा सरकार छ कि छैन भन्ने प्रश्न उब्जिन्छ ।’ जाडो याममा दूधको बढी उत्पादन हुँदा बजारको समस्या आउने गरेकाले दुग्ध विकास संस्थानले दूध खरिद गर्ने व्यवस्था हुनुपर्ने भट्टराईले सुझाए ।

सरकारी निकायबाट प्राविधिक सहयोग र उत्पादनमा आधारित अनुदानको व्यवस्था भएमा कृषि र पशुपालनमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने भट्टराईको तर्क छ ।

विदेशबाट फर्केका युवाले सञ्चालन गरेको यो व्यावसायिक गाई फार्मको सफलताले सिंगो नगरपालिकाका युवालाई प्रेरणा मिलेको सैनामैना नगरपालिका वडा नंं. ६ का अध्यक्ष बसन्त पाण्डे बताउँछन् ।

उनका अनुसार सामूहिक लगानीमा गरिएको यो नगरपालिकाकै ठूलो फार्म हो ।

नगरपालिकाले नगरभित्रका पशुपालन फार्मको गोठ सुधारका लागि एक–एक लाख अनुदान र तरकारी खेतीका लागि निःशुल्क तालिम र बीउ अनुदान दिने गरेको वडा अध्यक्ष पाण्डेले बताए ।

अनलाइन खबरका टोपराज शर्माकाे आलेख