पूर्णिमा साहित्य रत्न–२०८० बाट प्रा.डा. देवी  नेपाल पुरस्कृत

पूर्णिमा साहित्य रत्न–२०८० बाट प्रा.डा. देवी  नेपाल पुरस्कृत

लोकसंवाद संवाददाता  |  समाचार  |  फागुन २५, २०८१

बाँके । बाँके जिल्लाको कोहरलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ कवि, समालोचक तथा प्राज्ञ प्रा.डा. देवी नेपाललाई ‘पूर्णिमा साहित्य रत्न–२०८०’ बाट पुरस्कृत गरेको छ । प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालको सभापतित्व, बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मा. सूर्य ढकालको प्रमुख आतिथ्य र लुम्बिनी प्रदेश सांसद मा. वसन्ती अधिकारीको विशिष्ट आतिथ्यमा कोहलपुरमा आयोजित सष्टा सम्मान, एकल कविता वाचन तथा सङ्घर्ष र सँगाती कार्यक्रममा प्रा.डा. नेपाललाई उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त समारोहमा वरिष्ठ स्रष्टा गणेश जी.सी.लाई ‘तुलसीराम स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ भने भर्खरै विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा. हरिप्रसाद तिमिल्सिनालाई संस्थाका तर्फबाट सम्मानसमेत गरिएको छ ।  

उक्त कार्यक्रममा प्रमुख अतिथि मा. सूर्य ढकालले भाषा साहित्यको संरक्षण र संवद्र्धनमा राज्यले अब छुट्टै तरिकाले सोचेर नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले यदि कुनै स्रष्टाले तीनवटा कृति प्रकाशन गर्छ भने कम्तीमा एउटा कृतिमाथि चाहिँ राज्यको लगानी हुनुपर्ने विचार राख्दै प्रा.डा. नेपाललाई कोहलपुरले सम्मान गर्न पाउनु गौरवको विषय भएको धारणा राख्नुभयो । यसरी नै विशिष्ट अतिथि मा. वसन्ती अधिकारीले साहित्य समाजमुखी र जीवनमुखी हुनुपर्ने र साहित्यले सामाजिक चेतना र जागरणका लागि विशिष्ट भूमिका खेल्नुपर्ने कुरामा जोड दिँदै त्यस्तै चेतना र जागरणका संवाहक डा. नेपाललाई पूर्णिमाले चिनेर सम्मान गर्नु संस्था आफैँ सम्मानित हुनु हो भन्ने विचार व्यक्त गर्नुभयो । 

पुरस्कृत व्यक्तित्वहरूको परिचय र योगदानका बारेमा प्रकाश पार्दै संस्थाका उपाध्यक्ष खोपीराम वलीले प्रा.डा. नेपालले कविता, खण्डकाव्य, समालोचना र बालसाहित्य क्षेत्रका ३३ वटा मौलिक कृतिहरू, नर्सरीदेखि स्नातकसम्मका ३४ वटा नेपाली पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकहरू, १७ वटा सम्पादित कृतिहरू र अनगिन्ती सान्दर्भिक लेख रचनाहरूका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिनुभएको र पुस्तक लेखन, प्रकाशन, प्रशिक्षण आदिका माध्यमबाट नयाँ पुस्तालाई जागृत गर्दै छन्दकविताको पुनर्जागरण नै गराउनुभएको, नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य हुँदा प्राज्ञिक कर्ममा ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको र प्राध्यापन सेवाका माध्यमबाट पनि उच्च प्राज्ञिक कामहरू गरिरहनुभएको कुराको उच्च मूल्याङ्कन गरी ‘पूर्णिमा साहित्य रत्न’ प्रदान गरिएको जानकारी दिनुभयो । साथै आमा पवित्रा ढकाल र ढकाल परिवारबाट स्थापित तुलसीराम स्मृति पुरस्कारबाट बाँके क्षेत्रमा नै रहेर निरन्तर भाषा साहित्य र समाजसेवामा समर्पित हुनुहुने नौवटा कृतिका स्रष्टा गणेश जिसीलाई उक्त पुरस्कार प्रदान गर्न पाउँदा र भर्खरै विद्यावारिधि उपाधि हासिल गर्नुभएका बाँकेका प्राज्ञिक व्यक्तित्व डा. हरिप्रसाद तिमल्सिनालाई पनि सम्मान गर्न पाउँदा संस्था गौरवान्वित भएको विचार व्यक्त गर्नुभयो । 

सम्मानित व्यक्तित्व प्रा.डा. देवी नेपालले साहित्यलाई केन्द्र र मोफसल भनेर विभाजन गर्नु नहुने, सिर्जना जहाँ हुन्छ त्यही नै त्यसको केन्द्र हुने हुनाले सबैतिरका सिर्जनाहरूको गुणात्मक मूल्य एउटै हुने विचार व्यक्त गर्दै पूर्णिमाले आफूलाई सिर्जनाकर्ममा थप जिम्मेवार बनाएकामा धन्यवाद ज्ञापन गर्नुभयो । सोही दिन ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस पनि परेको कुराको स्मरण गर्दै कार्यक्रमको दोस्रो चरणमा आयोजित ‘एकल कविता वाचन’ शृङ्खलामा कवि नेपालले विश्वभरका नारीहरूको सम्मानमा ‘गान्धारी निस्क बाहिर’ शीर्षकको कविता वाचन गरेर उक्त चरणको शुभारम्भ गर्नुभयो । यसपछि उहाँले शब्दचित्रमा म, परिवर्तन, बुद्धको देश, सङ्कल्प, म गिर्न दिन्नँ गौरव, गुरु र दुइटा गजल गरी नौवटा आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभयो । कार्यक्रमको तेस्रो चरणमा आयोजित ‘सङ्घर्ष र सँगाती’ कार्यक्रममा प्राज्ञिक व्यक्तित्व प्रा.डा. जनार्दन आचार्य र वरिष्ठ साहित्यकार किरण आचार्यले जीवनसाथी बनेर गरेका अनेकौँ सङ्घर्षका कथाहरू प्रस्तुत गरिएका थिए । 

उक्त समारोहमा प्रा.डा. कृष्णप्रसाद घिमिरे, प्राज्ञ महानन्द ढकाल, नरेन्द्रजङ्ग पिटर, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष वीरेन्द्र शाह, वडा नं. ११ की अध्यक्ष कल्पना शर्मा, समाजसेवी कुलबहादुर भट्टराई, ईश्वरीप्रसाद विक, भेरी साहित्य समाजका अध्यक्ष इन्द्र बस्नेत, कोहलपुर वाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपाने, तक्षशिला एकेडमीका अध्यक्ष विष्णु बेलबासे, विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रअहरू तथा शिक्षकहरू, साहित्यिक व्यक्तित्वहरू, पत्रकारहरू, प्रतिष्ठानका सल्लाहकारहरू तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ‘पूर्णिमा साहित्य रत्न’को नगद राशि रु. २५,५५५ र ‘तुलसीराम स्मृति पुरस्कार’को नगद राशि ७,७७७ का साथै दोसल्ला र प्रमाण–पत्र रहेको कुराको जानकारी संस्थाका सचिव केशव निमेषले दिनुभएको छ ।