इस्लाम धर्ममा पैगम्बर मोहम्मद (स. अ. व.)को चित्र बनाउन किन प्रतिबन्ध छ ?

इस्लाम धर्ममा पैगम्बर मोहम्मद (स. अ. व.)को चित्र बनाउन किन प्रतिबन्ध छ ?

राजबाबु श्रेष्ठ 'सागर'  |  लोकरञ्जन  |  फागुन २७, २०८१

इस्लामका अन्तिम पैगम्बर हजरत मोहम्मदको बारेमा छलफल गर्दा एउटा कुरा तपाईंले पक्कै देख्नु भएको होला, कहिल्यै पनि उनको कुनै तस्वीर देखाइँदैन । यसको मुख्य कारण के हो भने, इस्लाममा अल्लाह वा अन्य कुनै पनि पैगम्बरको चित्र, मूर्ति वा अन्य कुनै माध्यमद्वारा देखाउन सख्त मनाही छ । 

मुस्लिमहरूका लागि पैगम्बर हजरत मोहम्मदको चित्र बनाउनु पूर्ण रूपमा निषेधित छ । यसलाई उहाँको अपमान मानिन्छ, किनकि यस्तो कार्यले मूर्ति पूजालाई प्रोत्साहित गर्न सक्छ भन्ने इस्लामिक विद्वानहरूको तथा इस्लामको भनाइ छ । जब कुनै व्यक्तिले यो नियम तोड्छ, यसले ठूलो विवाद सिर्जना गर्न सक्छ । 

फ्रान्सेली साप्ताहिक पत्रिका (शार्ली हेब्दो )द्वारा प्रकाशित पैगम्बर हजरत मोहम्मदका कार्टुनहरूको कारणले उत्पन्न भएको विवाद तपाईंलाई याद हुन सक्छ ।

तर किन इस्लाममा यस्तो नियम छ ? किन पैगम्बर हजरत मोहम्मदको चित्र बनाउन प्रतिबन्धित छ ? के कहिल्यै उनको कुनै चित्र बनाइएको थियो ? यस विषयमा कुरान के भन्छ त ? यस प्रतिबन्धले इस्लामिक कलामा कस्तो प्रभाव पारेको छ ? आजको युगमा भने यो निकै गम्भिर र सोचनीय विषय बनेको छ । 

कुरानमा के भनिएको छ ?

इस्लामको पवित्र ग्रन्थ कुरानमा स्पष्ट रूपमा पैगम्बर मोहम्मद (स. अ. ओ.)को चित्र बनाउन नपाइने उल्लेख गरिएको छैन । तर, कुरानमा केही यस्ता आयातहरू छन् जसलाई आधार मानेर इस्लामका विद्वानहरूले तस्वीर बनाउन भने मनाही गरिएको व्याख्या गरेका छन् ।

'अल्लाह नै आकाश र पृथ्वीको सृष्टिकर्ता हो। उहाँको कुनै तस्वीर वा आकृति छैन ।' (कुरानः४२: ११) 

यसको आधारमा इस्लामिक विद्वानहरूले निष्कर्ष निकालेका छन् कि अल्लाहलाई कुनै पनि चित्र वा आकृतिमा सीमित गर्न सकिँदैन । उहाँको महिमा यति विशाल छ कि कुनै पनि मानवले त्यसलाई चित्रण गर्न सक्दैन ।

त्यस्तै, कुरानको २१औं सूरा, ५२–५४ आयत मा भनिएको छ । 

(अब्राहमले आफ्ना बुवासँग सोधे) "तपाईंहरूले यी मूर्तिहरूको पूजा किन गर्नुहुन्छ ?"
(बुवा आजर)ले जवाफ दिए) 'हामीले हाम्रा पुर्खाहरूलाई यसरी नै पूजा गर्दै गरेको देखेका थियौँ ।'

यस आयतलाई आधार मानेर इस्लामका विद्वानहरूले भन्छन् तस्वीरले मूर्ति पूजालाई बढावा दिन सक्छ । यदि कुनै व्यक्तिले पैगम्बर मोहम्मद (स. अ. ओ.)को आकृति बनायो भने, पछि त्यो आकृतिलाई भगवान् अथवा ईश्वरको रूपमा पूजा गर्न थालिन सक्छ, जुन इस्लाममा निषेधित छ ।

हदीसमा के भनिएको छ?

इस्लाममा कुरानपछि सबैभन्दा महत्त्वपूर्ण स्रोत भनेको हदीस (पैगम्बर हजरत मोहम्मद स. अ. व. का कथन, क्रियाकलाप, स्वीकृति र मौन स्वीकृतिहरूको सङ्कलन) हो । जसमा पैगम्बर हजरत मोहम्मदका विचार, शिक्षा र क्रियाकलाप समेटिएका छन् ।

हदीस अनुसार, अल्लाह, पैगम्बर मोहम्मद तथा अन्य पैगम्बरहरूको चित्र बनाउने अनुमति छँदै छैन । इस्लामी परम्परामा कुनै पनि जीवित प्राणी, विशेष गरी मानिसहरूको तस्वीर बनाउन पनि सख्त मनाही गरिएको छ ।

यही कारणले इस्लामी कला अमूर्त र ज्यामितीय डिजाइनहरूमा आधारित छ । इस्लामी मस्जिदहरूमा चित्रहरू होइन, बरु सुन्दर सुलेख र ज्यामितीय नमूनाहरू पाइन्छन् ।
तर, शिया मुसलमानहरूका लागि यी प्रतिबन्धहरू भने अलि कम छन् । नराई (पुरानो फारस) मा ७औं शताब्दीमा बनाइएका केही चित्रहरू फेला परेका छन्, जसमा पैगम्बर हजरत मोहम्मदलाई सङ्केत गरिएको छ तर उहाँको अनुहार देखाइँदैन ।

यसले इस्लामिक कलामा परेको प्रभाव

चिनियाँ बौद्ध कला वा युरोपेली इसाई कलामा धार्मिक चित्रण प्रचुर मात्रामा पाइन्छ, तर इस्लामिक कलामा यस्तो देखिँदैन ।
इस्लाममा चित्र बनाउन प्रतिबन्ध भएपछि, मुस्लिम कलाकारहरूले नयाँ कला शैलीको विकास गरे । उदाहरणका लागि :
क्यालिग्राफी (सुलेख): जहाँ कुरानका आयतहरूलाई सुन्दर शैलीमा लेखिन्छ ।
ज्यामितीय ढाँचाहरू: इस्लामी मस्जिद र महलहरूमा देखिने विशेष ढाँचाहरू ।
हिल्या कला: यो सुलेखमूलक चित्रण हो, जहाँ पैगम्बर हजरत मोहम्मदका गुणहरूको वर्णन गरिन्छ ।

पैगम्बर मोहम्मदका विवादास्पद चित्रहरू

२००५ मा डेनमार्कको जिलाण्ड्स-पोस्टेन अखबारले पैगम्बर मोहम्मद साहबका १२ वटा कार्टून प्रकाशित गर्यो, जसलाई धेरै मुस्लिमहरूले अपमानजनक माने ।
२०१५ मा शार्ली हेब्दो पत्रिकाले पैगम्बर हजरत मोहम्मदको कार्टून प्रकाशित गरेपछि आतङ्कवादी आक्रमण भयो, जसमा १२ जना मारिए ।
२०२० मा फ्रान्समा शिक्षक सामुएल प्याटीलाई हत्या गरियो, किनभने उनले अभिव्यक्तिको स्वतन्त्रताको विषयमा हजरत मोहम्मदको कार्टून देखाएका थिए ।

यसबारेमा भारतको कानुनी व्यवस्थामा के छ ? 

भारतमा पैगम्बर मोहम्मदको चित्र बनाउन प्रत्यक्ष रूपमा कुनै कानुनी प्रतिबन्ध छैन । तर, यदि कसैले यस्तो चित्र बनाएर सार्वजनिक गर्‍यो भने, धार्मिक भावना आहत गर्ने भन्दै भारतीय दण्ड संहिता (IPC) को धारा १५३ए, २९५ए, २९८ अन्तर्गत मुद्दा चल्न सक्छ ।
धारा १५३ए: धार्मिक समूहहरूबीच वैमनस्यता फैलाउने कार्य गरेमा ३ वर्षको जेल वा जरिवाना हुन सक्छ ।
धारा २९५ए: जानीबुझी धार्मिक भावनामा चोट पुर्याउने कार्य गरेमा ३ वर्षको जेल वा जरिवाना हुन सक्छ ।
धारा २९८: कुनै व्यक्तिको धार्मिक भावनालाई आहत पार्ने अभिव्यक्ति गरेमा १ वर्षको जेल वा जरिवाना हुन सक्छ ।

निष्कर्ष 

इस्लाममा पैगम्बर हजरत मोहम्मदको चित्र बनाउन निषेध हुनुको मुख्य कारण मूर्ति पूजालाई रोक्नु हो । त्यसैले, इस्लामी परम्परामा मानिसहरूलाई अल्लाहको स्वरूप कल्पना गर्नबाट जोगाउन तस्वीर बनाउन निषेध गरिएको हो ।

हालैका वर्षहरूमा यदि कसैबाट पैगम्बर हजरत मोहम्मदको चित्र बनाइयो वा सार्वजनिक गरियो भने बुझ्नू, त्यसले विश्वभरका मुस्लिम समुदायमा आक्रोश सिर्जना गर्यो अथवा द्वन्द सिर्जना गर्यो । इस्लामी कला यस प्रतिबन्धका कारण ज्यामितीय ढाँचाहरू, सुलेख र अन्य अमूर्त कलाहरूमा केन्द्रित रह्यो ।


स्रोत: बीबीसी न्यूज हिन्दी
प्रकाशन मिति: ८ जुन २०२२
 

अनुवादः  राजबाबु श्रेष्ठ सागर