देश प्रेमको धागोले बेरिएको : संसारको परिधि यात्रा

देश प्रेमको धागोले बेरिएको : संसारको परिधि यात्रा

उमा शर्मा  |  साहित्य  |  फागुन २८, २०८१

मलाई पुस्तक डा. चन्द्र गिरीद्धारा लेखिएको ‘संसारको सेरोफेरो’को विमोचनमा जाने अवसर मिल्यो । कार्यक्रममा  विज्ञहरूको पुस्तक प्रतिको विचार सुन्ने अवसर पनि मिल्यो । सबैका कुरा सुन्दा पढ्नु अगावै पुस्तक भित्रका केही महत्वपूर्ण कुराहरू पनि थाहा पाइयो । त्यसले जिज्ञासा अझ बढ्यो ।  लेखककै हातबाट पुस्तक पाउँदा अर्कै मजा आउँदो रहेछ । नयाँ पुस्तकबाट आउने मिठो सुवास अनि समारोहका विज्ञहरूको पुस्तक प्रतिको गहन बिचार आफूसँगै लिएर घर फर्किएँ म त्यसदिन ।  

त्यहाँ लेखकले भन्नु भएको थियो,'म त साहित्य क्षेत्रमा भर्खर बामे सर्दै गरेको विद्यार्थी हुँ ।' यसअघि नै ‘मैले नदेखेको सपना’ नामको पुस्तक साथै कैयौँ फुटकर लेख प्रकाशित गरिसकेका लेखकको कुरा सुनेर अलिअलि अक्षर कोर्दै त्यसलाई कथा र कविताको नाम दिदै गरेको आफैंप्रति टिठ लागेर आयो । अनि मनमनै सम्झेँ, उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र । त्यसै भनिएको होइन रहेछ ।  

साँच्चै भन्ने हो भने चन्द्र गिरी जस्ता व्यक्तिहरूले आफ्नो लेखनीबाट मात्र नभएर आफ्नो व्यवहारबाट पनि समाजलाई धेरै सकारात्मक कुरा सिकाइरहेका हँदा रहेछन् । आखिर असल मान्छे नै त एउटा असल लेखक बन्ने न हो ।   

पुस्तक पठनको यात्रा सुमधुर रह्यो । कतै ठेस लागेन, कतै बहकिएन मन । बाटो मोडिएन, नदी झैँ बगिरह्यो..., पुस्तकका पानाहरूमा मन । अनि पुस्तक पढिसके पछि उहाँलाई यो पुस्तक प्रतिको आफ्नो पाठकीय प्रतिक्रिया लेखेर उपहार दिने जमर्कोमा लागेँ यसरी–सुदामाले कृष्णलाई कनिका उपहार दिए झैँ यी शब्दहरु 
संस्कृतमा एउटा श्लोक  छ– 
यस्तु सञ्चरते देशान् यस्तु सेवेत पण्डितान् ।
तस्य विस्तरिता बुद्धिः तैलबिन्दुरिवाम्भसि ।।
यसको भावार्थ हो–

जो व्यक्ति विभिन्न देशमा यात्रा गर्छ, विद्वानसँग सम्बन्ध राख्छ, उसको बुद्धि उसैगरी बढ्छ,  जसरी तेलको एक थोपा पानीमा फैलिन्छ ।

त्यसपछि मलाई लाग्यो । माथिको श्लोकमा भने जस्तै आफैँमा विलक्षण प्रतिभा भएका लेखकको विद्वतालाई  देश देशावरको भ्रमण र  त्यहाँका  वैज्ञानिक तथा कुटनीतिज्ञहरू सँगको नजिकको भेटघाट र सम्पर्कले सुनमा कसी लगाए झैँ अझ निखारेको रहेछ । 

सभ्यताको प्रारम्भदेखि नै मान्छेले यात्रा गर्दै आएका छन् । समय अनुसार यात्राको प्रारुप र औचित्य फरक हुँदै गयो र यो भइरहन्छ पनि । स्वाभाविक पनि हो । आधारभूत आवश्यकता परिपूर्तिका लागि, भौतिक प्रगतिका लागि र आत्मिक उन्नतिका लागि मान्छेको जीवनमा यात्राले अपरिहार्य भूमिका खेलेको हुन्छ ।  

लेखकले संसारका १२६ देशको भ्रमण गरेका छन् । ती  भ्रमण कुनै वातावरणविद् भएर गरिएको थियो त कुनै पारिवारिक । कुनै एउटा पथिकको एक्लो विचरण थियो । साँच्चै भन्ने हो भने एउटा प्रगतिशील चेतनासहितको मान्छेले निरन्तर अघि बढ्नुमा नै जीवनको सिद्धि देखेको हुन्छ । यसरी अघि बढ्न यात्रा अपरिहार्य नै हुन्छ । यात्राले व्यक्तिलाई आफु बाँच्दै आएको परिचित परिवेशबाट बाहिर निकालेर भिन्न भूगोल, संस्कृति, खानपान, रहनसहनसँग साक्षात्कार गराउँछ, जसबाट जीवनलाई फरक कोणबाट बुझ्ने अवसर मिल्छ । यसले मान्छेको विश्वव्यापी दृष्टिकोण फराकिलो पार्दै चेतनाको परिधि पनि विस्तार गर्छ । ‘संसारको सेरोफेरो’ पुस्तक पढ्दा साहित्यकार चन्द्र गिरीमा विविध संस्कृति, भौगोलिक परिदृश्य र मानव सभ्यताका पक्षहरूलाई गहिराइमा आत्मसात गर्ने विशेष योग्यता देख्न सकिन्छ ।

पुस्तक पढ्दा मैले सबैभन्दा धेरै अनुभूत गरेको कुरा हो– उनको देशप्रेम । लेखकले आफु भौतिक रूपमा मातृभूमिबाट टाढा रहेपनि पनि देशलाई मनमा बोकेर हिँडेका छन् । जसलाई हेनरी रोलिन्सले यसरी भनेका छन्–

The best way to learn about your country is to leave it. 

संसारका विभिन्न देशहरूको यात्रा गरिरहँदा लेखकले मातृभूमिको महत्व अझ गहिरोसँग  बुझेको देखिन्छ । जस्तोः 

‘बब मार्लीको देशमा’ (पृष्ठ  ३०) मा जमैकाको (६) फीट लामो झरना चढ्दा उनले आफ्नो देशको सगरमाथालाई सम्झिएका छन् भने आफ्नो देशका अमूल्य सम्पदाहरूको  उचित प्रचारप्रसारको अभावमा उपेक्षित रहेकोमा खिन्न पनि बनेका छन् । 

‘रिक्साले ढाकेको ढाका’ (पृष्ठ ६३) मा बंगलादेशको विकासबाट प्रभावित भएका लेखक आफ्नो देशको  अवस्थाप्रति चिन्तित भएका छन् ।  

‘मध्यरातको घाम सँगै अलास्का क्रुज’  (पृष्ठ २४४) मा एङ्कोरेज अलास्काको  एउटा गाँउको सम्बृद्धि देख्दा आफ्नै जिल्ला झापाको सम्झना गर्न पुग्छन् । 

‘सिंह नभएको ‘सिंहपुर' (पृष्ठ २२७) मा सिंगापुरमा गोरखाली सैनिकको वीरता देखेर लेखकले गर्व गरेका छन् भने उनीहरूका परिवारलाई त्यहाँ स्थायी बसोबास गर्न निषेध गरिएकोमा दुःख व्यक्त पनि गरेका छन् ।   

पुस्तक पढिसक्दा उत्तर आफैँ भेटेँ- उनले केही निश्चित बिन्दुहरू जोडेर सरल रेखा मात्र खिचेका रहेनछन्, बरु संसारको परिधि नै समेटेका रहेछन् । उनले भूगोल मात्र होइन, सभ्यता, संस्कृति र अनुभवको एउटा वृत्त नै छिचोलेका रहेछन् ।

‘कमालको कोस्टारिका’ (पृष्ठ २७२  मा तातोपानीको कुण्डमा आफु डुबेर मजा लिइरहँदा लेखकले नेपालमा भएका यस्ता २० भन्दा बढी कुण्डहरूको सम्झना गरेका छन् ।  

‘युरोप दौडाहामा जे देखियो’(पृष्ठ २११) मा युरोपको यात्राका क्रममा ‘सगरमाथा यहाँबाट ७,३२३ किलोमिटर टाढा छ’ भन्ने लेखिएको बोर्ड देख्दा गर्वको अनुभूति गरेका छन् । 

हरेक नयाँ ठाउँ, भोगाइ र अनुभूतिमा आफ्नो देशको प्रतिबिम्ब देख्नु, त्यहाँको विकाससँग नेपालको तुलना गर्दै सुधारको चाहना व्यक्त गर्नु र संसारलाई हेर्दै र बुझ्दै जाँदा मातृभूमिको महत्व अझ बढ्दै जानुले यो भन्न सकिन्छ कि उनी नेपाली मन बोकेर नै विश्वभर यात्रा गरिरहेका हुन्छन् । 

मैले पुस्तक पढ्दै जाँदा भेटेको अर्को महत्वपूर्ण पाटो हो– लेखकको मानवीय पक्ष । उनले आफ्ना यात्राका अनुभवहरू मार्फत् केवल भौगोलिक अवलोकन मात्र गरेका छैनन्, बरु ती स्थानहरूमा देखिएका मानवीय समवेदनाहरूलाई पनि गहिराइ पूर्वक आत्मसात गरेका छन् ।

फ्लेमिङ्गोले रंग्याएको ताल’ (पृष्ठ ३४) मा उनले लेखेका छन्, 'उसले पैसा चिनेर औधी खुशी हुदै उफ्रिँदै अलि पर मागिरहेकी उसकी आमालाई दियो । उनीहरूको खुसीमा म पनि रमाएँ र भावुक भएँ ।'

‘फ्लेमिङ्गोले रंग्याएको ताल’ (पृष्ठ ३७), र ‘मनमा बसेको माल्दिभ्स’ (पृष्ठ १५६) मा उनले फ्लेमिङ्गो र सार्कको उदाहरण दिदै मानवको असीमित लोभ र पशुहरूको प्राकृतिक सन्तुलनबीचको गहिरो भिन्नता देखाइ दिएका छन् । मानवलाई सृष्टिको सर्वोत्तम रूप भनिए पनि उसको स्वार्थ र असन्तोष कै कारण पृथ्वीको प्राकृतिक स्रोत र साधनको दोहन हुँदै आएको छ । 

पशुहरू आफ्नो आवश्यकता अनुसार मात्र उपभोग गर्छन् तर मानिसहरू भने अतृप्त लालचका कारण आफ्नै सहजाति माथि अन्याय गर्न पनि पछि पर्दैनन् ।  यदि यो अनियन्त्रित लालच रोकिएन भने यही श्रेष्ठता नै अन्ततः उसको विनाशको कारण बन्न सक्छ भन्ने चेतावनी लेखकले प्रभावशाली रूपमा दिएका छन् । यो एउटा गम्भिर सवाल हो ।

‘चालक बिनै गन्तव्यमा पुर्याउने ट्याक्सी’ (पृष्ठ १९०) मा लेखकले रोबोट र कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रभाव प्रति गहिरो ध्यान आकर्षण गरेका छन् । प्रविधिले मानव जीवन सहज बनाए पनि यसको बढ्दो प्रयोगले ल्याउने संकट प्रतिको चिन्ताले लेखकको मानवीय पाटो उजागर भएको छ । यदि प्रविधि मान्छेको नियन्त्रण बाहिर गयो भने रोबोटहरूले मानव श्रम विस्थापित गर्दै मानव अस्तित्व नै संकटमा पार्न सक्छन् भन्ने कुरा पाठकलाई सचेतना पनि गराइएको छ । यो पुस्तकको बलियो पक्ष हो । 

यस पुस्तक भित्र यात्राका लागि उपयोगी कुराहरू धेरै छन् । प्रत्येक देशका आफ्नै नियम र कानूनी व्यवस्था हुन्छन् । कहिलेकाहीँ सामान्य कुराहरूलाई बेवास्ता गर्दा ठूलो समस्या उत्पन्न हुन सक्छ र यस पुस्तकमा केही यस्ता तथ्यलाई प्रस्तुत गरिएको छ । जस्तोः 

‘युरोप दौडाहामा जे देखियो’ (पृष्ठ २०४) मा कोलोसियामका अंशहरूको दुरुपयोग गर्दा आउने परिणामको बारेमा जानकारी दिइएको छ ।
‘मैले देखेको थाइल्याण्ड’ मा थाइल्याण्डमा गर्न नहुने कुरालाई सूचीबद्ध गरेर दिइएको छ ।

त्यसबाहेक ‘मनमोहक मसाइमारा’ (पृष्ठ–६१) मा सफारीका लागि गर्नुपर्ने पूर्व तयारीका बारेमा र ‘ती हजार माइलबाट आएका दुई करोड पाहुना’ (पृष्ठ १२२) मा मोनार्क पुतली हेर्न जादा गर्नुपर्ने केही कुराहरूको जानकारी दिइएको छ ।  

‘युरोप दौडाहामा जे देखियो’मा  विभिन्न देशहरूको ऐतिहासिक पक्षको वर्णन रमाइलो र जानकारी मूलक रूपमा प्रस्तुत गरिएको छ ।

पुस्तकमा लेखकले प्राकृतिक सौन्दर्यको जीवित चित्रण गरेका छन् । उनले गरेको प्राकृतिक  दृश्यको वर्णनले जो कोहीलाई पनि भावनात्मक रूपमा आफैँले त्यो क्षण महसुस गरे झैँ  हुन्छ । 

उदाहरणका लागि, ‘बब मार्लीको देश’ (पृष्ठ ३१) मा “पानीमा भएका माछाहरू आकाशमा रहेका ताराजस्तै देखिए, फरक यति थियो कि ती ताराहरू पौडिरहेका थिए।” यस्तो  सुन्दर उपमाले उनको कल्पना शीलता प्रस्ट देखिन्छ । 

‘पानामा नहर घुम्ने रहर’ (पृष्ठ १७३) मा उनको प्रकृतिको गहिरो सौन्दर्य बोध झल्काउने पंक्ति समुद्रमा सूर्यास्तको रंग छालसँगै पौडी खेलिरहेको थियो । सूर्य आफ्नै गतिमा गन्तव्यतिर लागिरहेको थियो । एकै छिनमा समुद्रको ठिक माथि बल्दै गरेको आगोको डल्लो क्षितिजमा विलिन भयो । घाम अस्ताएपछि पानीको रंग निलो हुन पुग्यो अनि बिस्तारै अँध्यारोले राज गर्न लाग्यो ।'

लेखकको प्रकृतिप्रति गहिरो सम्मान, आस्था र संवेदनशीलता झल्किने अरु धेरै उदाहरणहरू छन् । जस्तोः  

‘रावणको देशका ड्राइभर राजा’ (पृष्ठ  १४८) मा उनले पहाडलाई केवल भौगोलिक संरचना नभइ शक्ति, स्थिरता र ईश्वरीय अनुकम्पाको प्रतीकको  रूपमा चित्रित गरेका छन् । 

उनको दृष्टिकोणमा प्रकृति केवल सौन्दर्यको स्रोत मात्र नभएर भावनात्मक, आध्यात्मिक र दार्शनिक मूल्यले भरिपूर्ण छ । उनले  प्रकृतिलाई जीवित अस्तित्व दिएर आस्था र सम्मानका साथ हेरेको देखिन्छ ।

पुस्तकको अर्को विशेषता भनेको हरेक अध्यायको शीर्षक चयन हो । रोचक र सार्थक शीर्षकले पुस्तक पठनलाई ऊर्जा दिएको छ ।  

कुनै पनि विषयलाई सूक्ष्म र गहिरो दृष्टिले अवलोकन गर्ने वैज्ञानिक लेखकले यस पुस्तकमा आफ्नो संसार यात्रालाई जुन काव्यात्मक र संवेदनशील शैलीमा प्रस्तुत गरेका छन्, त्यसले उनको बहुआयामिक व्यक्तित्वलाई उजागर गर्छ । संसारका विभिन्न मुलुकका भूगोल, संस्कृति, खानपान, मौसम, अतिथि सत्कार, होटल, परिवहन व्यवस्था जस्ता विषयवस्तुको वर्णनले यो पुस्तक केवल मनोरञ्जनात्मक मात्र नभई जानकारी मूलक पनि बनेको छ ।

हिजोआज संसारलाई एउटा ‘ग्लोबल भिलेज’ भनिन्छ । अवसरको खोजीमा नेपालका युवाहरू पनि विदेश जाने क्रम दिनानुदिन बढ्दो छ । एकातिर सुनसान गाउँहरू, अर्कोतिर चहलपहलले भरिएका एयरपोर्टहरू-यो विपरित दृश्य नै वर्तमान नेपालको वास्तविकता हो । चाहे घुमफिरको चाख होस्, रोजगारीको आवश्यकता होस्, उच्च शिक्षा हासिल गर्ने इच्छा होस्, व्यावसायिक अवसरहरूको खोजी होस् वा नयाँ संस्कृति र जीवनशैलीसँग परिचित हुने चाहना–यो पुस्तक विदेश जाने युवाहरूका लागि एक अमूल्य मार्गदर्शक साबित हुन सक्छ ।

पृथ्वी गोलो छ । पहिलो पटक ‘संसारको सेरोफेरो’ पुस्तक देख्दा मनमा प्रश्न आएको थियो- लेखकले संसारको यात्रा कसरी गरे होलान् ? व्यास (diameter)  पार गरे ? त्रिज्या (radius) छिचोले ? कुनै निश्चित अक्ष (axis)  वरिपरि घुमे ? वा सम्पूर्ण परिधि(circumference)  नै पूरा गरे ?

पुस्तक पढिसक्दा उत्तर आफैँ भेटेँ- उनले केही निश्चित बिन्दुहरू जोडेर सरल रेखा मात्र खिचेका रहेनछन्, बरु संसारको परिधि नै समेटेका रहेछन् । उनले भूगोल मात्र होइन, सभ्यता, संस्कृति र अनुभवको एउटा वृत्त नै छिचोलेका रहेछन् ।

लेखकले देखेका, महसुस गरेका, आत्मसात् गरेका कुराहरू अझ विस्तृत रूपमा प्रस्तुत गरी हरेक अध्यायलाई एउटा सिंगो पुस्तकका रूपमा विस्तार गरियो भने पनि ती सम्पूर्ण र अर्थपूर्ण हुनेछन् भन्ने लाग्छ मलाई ।

चन्द्र गिरीलाई उज्ज्वल साहित्यिक यात्राको धेरै धेरै शुभकामना ! यहाँको लेखनीले सधैं ज्ञान, प्रेरणा र नयाँ दृष्टिकोण प्रदान गरिरहोस् । आगामी दिनहरूमा थप उत्कृष्ट कृतिहरू प्रकाशनमा आऊन् भन्ने शुभेच्छा । कलम सधैं सशक्त रहोस् ।