सुरेश राई | साहित्य | चैत २८, २०८१
१. महाभूल
समाजले उनीहरूको विजातीय प्रेममा बाधा पुर्याएपछि रमेश र मीना एकाबिहानै रमिते भीरबाट तल हाम फाले र सीधै माथि मृत्युलोकमा पुगे। हावामा एउटा पन्ना लेखेर उडाए- ‘जात ठूलो–सानो हुँदैन। हाम्रो प्रेम अमर रहोस् !’
मृत्युलोकमा पुगेपछि एक कर्मचारीले उनीहरूलाई एउटा कोठामा लिएर गए। उनीहरूलाई सोफामा बसाएर ठूलो स्क्रिन देखाउँदै भने– ‘यदि तिमीहरूले आत्महत्या नगरेको भए तिमीहरूको लेखान्त कस्तो थियो, हेर ! ’
त्यो भव्य पर्दामा रमेश र मीनाको चलचित्र सुरु भो।
चलचित्रमा भीरबाट हाम फाल्नलाई ठिक्क परेका उनीहरू त्यतिकै फर्किए। अर्को दिन रमेशले मीनालाई राजधानी भगायो। उनीहरूले ईश्वर साक्षी राखेर विवाह गरे। ज्याला-मजदुरी गर्दै पेट पाले। बाउको हुबहु अनुहार लिएर उनीहरूको एक छोरा पनि भयो। छोरा बढ्दै गयो।
जातप्रथाको विरुद्ध लड्ने एक शिक्षित युवा बन्यो। उसले नाम, दाम, इज्जत सबै कमायो। छोरोको पनि विवाह भयो। उनीहरूका दुई फूल जस्ता नातिनीहरू भए। रमेश र मीना क्रमशः वृद्ध हुँदै गए, सुखी र सन्तुष्ट देखिए।
चलचित्र सकिन नपाई बीचमै मीना ग्वाँग्वाँ रुन थाली। रमेश पनि पिल्पिल रोइरहेको थियो। रमेशले सोध्यो( ‘हजुर, यदि यो हाम्रो लेखान्त थियो भने हाम्रो शीघ्र मृत्यु कसरी भयो तरु’
कर्मचारीले भन्यो, ‘विधाताले नियम बदले, जो आफ्नो यति सुन्दर जीवनको कुनै मूल्य नै देख्दैन र जिन्दगी सिध्याउन लागिपर्छ, उसको मृत्यु स्वीकार गरिदिने ’
पछुतोमा चुर्लुम्म डुबेको रमेशले आँसु पुछ्यो र मतर्फ हेर्दै बोल्यो- ‘प्रिय कथाकारज्यू, धर्तीमा हाम्रो सन्देश लगिदिनुस् है ! आत्महत्या महाभूल हो । सबैलाई पूरा जिउनु भन्दिनुस्, पूरा !’
२. जुठो डबका
क्याप्टेन वीरध्वज आफ्नी सानी नातिनीसँग सिकुवामा खेल्दै थिए । उनका छोराबुहारी यूकेतिरै बस्छन् । यसपालिको दसैँ मनाउन भनेर छोराबुहारी र नातिनी गाउँ आएका छन् ।
अचानक उनको आँखा आँगनछेउ रहेको एउटा जुठो डबकामा पर्यो । डबका देखेर रिसको पारो चढेर आयो र उनी चिच्याए– 'हैन, यो माइला कामीले भर्खरै जाँड खाएको डबका हैन रु नमाझी गएछ कि क्या हो !'
क्याप्टेन वीरध्वज आफ्नी सानी नातिनीसँग सिकुवामा खेल्दै थिए । उनका छोराबुहारी यूकेतिरै बस्छन् । यसपालिको दसैँ मनाउन भनेर छोराबुहारी र नातिनी गाउँ आएका छन् ।
अचानक उनको आँखा आँगनछेउ रहेको एउटा जुठो डबकामा पर्यो । डबका देखेर रिसको पारो चढेर आयो र उनी चिच्याए– 'हैन, यो माइला कामीले भर्खरै जाँड खाएको डबका हैन रु नमाझी गएछ कि क्या हो !'
'हो त । यो त त्यही डबका हो !,' क्याप्टेनीले थपिन् ।
माइला कामी दिउँसो दाउरा चिर्न क्याप्टेनकहाँ खेताला आएको थियो । सम्झेर क्याप्टेनलाई सही नसक्नु भो ।
'लोकतन्त्र र गणतन्त्र आएपछि यसले सारै पो हेप्न थाल्यो हौ ! पेल्नुको पनि सीमा हुन्छ नि गाँठे, भित्तामै पो पुर्याउन थाल्यो त !'
त्यसपछि क्याप्टेनले माइलालाई मोबाइलमा लगातार फोन गरे । फोन उठेन । उनको रिसको पारो झन्झन् चढ्दै गै’रहेको थियो । त्यसपछि त झन् सारो झोक्किँदै ‘त्यसलाई घिसारेर ल्याउँछु’ भन्दै माइलाको घरतिर लम्किए ।
एक घण्टापछि क्याप्टेन वीरध्वज अघिअघि माइला पछिपछि उही आँगनमा आइपुगे । बुढाको रिस मरेकै थिएन । गनगन गरिरहेकै थिए । माइला भने डराइडराइ ‘भुसुक्कै बिर्सेछु काका, म माझिहाल्छु’ भन्दै थिए ।
अचानक सबैको आँखा एकसाथ डबकामा पर्यो । डबका चम्किरहेको थियो । कसैले अघि नै माझिसकेको थियो । जुठोको कुनै अवशेष थिएन ।
बुढा फेरि कड्किए, 'कसले माझ्यो हँ यो डबका ? '
यूकेवासी सानी नातिनीले झिनो स्वरमा जवाफ दिई, 'हजुरबा, मैले माझेको नि ' हजुर बेस्सरी रिसाइस्यो, अनि मैले माझिदिएँ । जसले माझे’नि भै’हाल्छ नि जाबो एउटा भाँडा त !'
क्याप्टेन वीरध्वज अक्क न बक्क परे । माइलाले मनमनै सोच्यो– ओहो, यो गणतन्त्र, समानताजस्ता कुरा भनेका त बालापन र बालमनमा मात्रै पो हुँदो रहेछ १
३. ढ्याङ्ग्रो
मूल्यांकनको क्रम चलिरहेको थियो । पहिलो निर्णायकको हातमा स्याने सार्कीको कविता पर्यो । कविता यति शक्तिशाली थियो कि निर्णायक ज्यूको सातोपुत्लो उड्यो । उनलाई भित्रभित्रै एक किसिमको जलन जस्तो केही भएर आयो । कविको थरले त झन् उनलाई छटपटी नै गरायो । तुरुन्तै कवितालाई शून्य अंक दिएर उनी अन्य कविता पढ्न तिर लागे ।
दोस्रो निर्णायकको हातमा पनि उक्त कविता पर्न गयो । अभिव्यक्ति, भाव, चेतना, विचार आदि जम्मैले कविता एक नम्बर थियो । तर उनलाई पनि कविताले पिरोलेन मात्रै अशान्ति नै गरायो । उनले पनि कवितालाई शून्य अंक प्रदान गरे ।
तेस्रो निर्णायक ज्यूले पनि उक्त कविता सहनै सकेनन् । कविता यति बुलन्द थियो कि उनलाई बेस्सरी ईर्ष्या लाग्यो । भित्रभित्रै कताकता डामे जस्तो लाग्यो । उनीबाट पनि उक्त कविताले आखिर शून्य नै पायो ।
यसरी जातीय विभेद विरुद्ध आगो ओकलिएको एउटा सशक्त ज्वालामुखी जस्तो कविता ‘राष्ट्रिय’ भनिएको प्रतियोगितामा रद्दी साबित भयो र त्यसले शून्याङ्क प्राप्त गर्यो । आखिर विजेता तिनै कविताहरू भए जसले ती कथित उच्च जातिका निर्णयकाहरूको अहममा कहीँकतै आँच पुर्याएका थिएनन् ।
पुरस्कार समारोहको दिन सभा हल भरी मानिसहरू खचाखच थिए । मञ्चमा विजेता भएका कविताहरूको वाचनका साथमा बाँसुरी, गितार र तबलाको मीठो धुन गुन्जिरहेको थियो । सारा दर्शकहरू मन्त्रमुग्ध थिए । भरपुर आनन्द उठाइरहेका थिए ।
मञ्च तल सुरुकै लहरमा बसेका ती तीन निर्णायक महानुभावहरूको मन भने बडो बेचैन थियो । उनीहरूको छाती भारी भएको थियो । मुटुमा स्याने सार्कीको उक्त कविताले ठोकेको ढ्याङ्ग्रो अझै बजिरहेको थियो- 'ढ्याङ्ढ्याङ ..ढ्याङ्ढ्याङ् ..ढ्याङ्ढ्याङ्..ढ्याङढ्याङ' ।