बीपी-रेणुः मोती-भारतेन्दु नेपाल भारत सेतु सर्सर्ती पर्गेल्दा

पुस्तक समीक्षा

बीपी-रेणुः मोती-भारतेन्दु नेपाल भारत सेतु सर्सर्ती पर्गेल्दा

हरिविनोद अधिकारी  |  साहित्य  |  बैशाख ०२, २०८२

नेपाल र भारतका बिचमा रहेका सुमधुर सम्बन्धका अनेक आयाममा राजनीतिक, धार्मिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्बन्धका अनेक सेतु देखिन्छन् । सरकार सरकारका बिचमा भन्दा पनि जनस्तरमा देखिने सम्बन्ध सुमधुर, प्रगाढ र दीर्घकालीन रहेका छन् ।

खुला सीमा, मिल्दोजुल्दो भाषा र कतिपय ठाउँमा त भारतमा बोलिने भाषा र नेपालमा बोलिने भाषाको रुप समान पनि पाइन्छ । धार्मिक तथा सांस्कृति सम्पदाले सीमा कोरेका छैनन् । झन नेपालीहरुले भारतको स्वतन्त्रता आन्दोलनमा अंग्रेज विरुद्ध नेपालीहरुले गरेको संघर्ष सहयोग, नेपालको पारिवारिक राणा शासनविरुद्ध भारतीय स्वतन्त्रता सेनानीहरूको सहयोगले सम्बन्ध सेतु निर्माणमा ठुलो सहयोग पुर्‍याएको स्पष्ट अनुभूत गर्न सकिन्छ ।

भारत परतन्त्र हुनुभन्दा र परतन्त्रको जन्जिर फुस्काएर स्वतन्त्र हुनुभन्दा पहिलेदेखि नै नेपालको शिक्षा प्राप्त गर्ने केन्द्र भारतको बनारस प्रमुख रुपमा थियो । भारत र नेपालको आधुनिक कालमा पनि सम्बन्ध सुधारका लागि अनौपचारिक प्रक्रियाहरु अपनाइएको पाइन्छ । त्यसमध्ये धरानमा बसेर नेपाली राजनीति, साहित्य र इतिहासका अध्येता तथा साहित्यकार गिरिराज आचार्यले नेपाल भारतका बिचको दुईवटा सम्बन्ध सेतुका सम्बन्धमा समेत केन्द्रित रहेर भर्खरै एक ग्रन्थ प्रकाशित गर्नु भएको छ । 

साहित्यकार तथा समीक्षक आचार्यले नेपालका दुई मूर्धन्य साहित्यकारहरूलाई यसमा जोड्नु भएको छ । नेपालका  वरिष्ठ राजनीतिज्ञ तथा वरिष्ठ साहित्यकार विश्वेश्वरप्रसाद कोइराला र  भारतका स्वतन्त्रता सेनानी तथा वरिष्ठ साहित्यकार फणीश्वरनाथ रेणुका बिचको अन्तरङ्ग सम्बन्ध अन्ततः नेपाल र भारतका बिचको बलियो कडी बनेको प्रमाणित गर्नुभएको छ ।

रेणु सामान्य व्यक्तिबाट असामान्य साहित्यकार बन्नुमा बीपी कोइरालाको असल निर्देशन देखिन्छ । एउटा पारिवारिक सम्बन्धले र दाजु भाइको कर्तव्य परायणताले पनि नेपाल भारत सम्बन्धले नयाँ बाटो पहिल्याएको पाइन्छ यो पुस्तक नियाल्दा , पर्गेल्दा । पारिवारिक सम्बन्धले बनेको दुई देशका मूर्धन्य व्यक्तित्वहरूको सम्पर्कले मुलुकमा साहित्यिक सम्बन्धमात्र बनेन, नेपाल र भारतका बिचको स्वतन्त्रता संग्राममा पनि अद्भूत सहयोग कारक बन्यो । रेणुले पनि बीपीका निर्देशनमा सहज तरिकाले आफूलाई नयाँ उँचाइमा पु¥याएको स्वीकार गरेका देखिन्छन् भने कोइराला परिवारको नेतृत्वलाई सहयोग गर्दा नेपालको प्रजातन्त्र स्थापनामा उनको अपूर्व सहयोग देखिन्छ ।

आजको रेडियो नेपाल ,त्यो बेलाको क्रान्तिकारी नेपाली रेडियोको स्थापना, सामग्री उत्पादन र प्रसारणमा नेपाली कांग्रेसका नेता तारिणीप्रसाद कोइरालालाई सहयोग गर्दा नेपालको सञ्चारमार्फत राजनीतिलाई भएको अभूतपूर्व सहयोगले पनि रेणु नेपालीहरुको मन मस्तिष्कमा रहनु पर्ने नाम भयो र नेपाल भारत सेतु बन्न पुगेको विवरण यो पुस्तकले दिन्छ । 

यसैगरी महान साहित्यकार मोतीराम भट्ट जसले नेपाली साहित्यमा गजलमा मात्र होइन, आदिकवि भानुभक्तको रामायणको खोजी गरी प्रकाशन गरेर नेपालीहरुलाई गुण लगाउनु भयो, नयाँ प्रेस युगमा नेपाल युगलाई डोर्‍याउनु भयो र आफ्नो छोटो समयमा नै नेपालको साहित्यको भण्डारलाई खजानायुक्त बनाउनु भयो । हो, उहाँको त्यो क्षमताका लागि प्रमुख सहयोगी भई मार्ग दर्शन गर्दै प्रमुख भूमिका प्रदान गर्नु भएका भारतका महान साहित्यकार भारतेन्दु हरिश्चन्दुको  समेत आचार्यले नेपाली साहित्यमा परिचय गराउन सफल हुनु भएको छ । सायद नेपाली साहित्यकाशमा टिम टिमाउँदा दुई नक्षत्र मोतीराम र बीपीलाई एउटै संग्रहमा समेटेर नेपाल भारत सेतुका रुपमा भारतमा भारतेन्दु र रेणुलाई प्रस्तुत गर्नुभएको छ । 

त्यसो त यस संग्रहमा रेणु, बीपी, भारतेन्दु तथा मोतीमात्र समेटिनु भएको छैन, यससम्बन्धमा अन्य महानुभावको पनि प्रसङ्ग आएको छ । स्वयं लेखक आचार्यलाई विभिन्न कोणबाट समीक्षा गरिएको छ, पारिवारिक रुपमा , साहित्यिक राजनीतिका बारेमा । आचार्यका विभिन्न कृतिहरूका बारेमा पनि केही समीक्षात्मक टिप्पणी समावेश गरिएको छ । 
यस कृतिमा गहकिलो टिप्पणी गरेर कृतिकारले दिएका तथ्यभन्दा पनि महत्वपूर्ण जानकारी साहित्यकार अध्येता हरि गौतमजीले हामी पाठक तथा समीक्षकहरूलाई दिएर गुण लगाउनु भएको छ । 

परिच्छेद एकमा बीपी र रेणु, परिच्छेद दुईमा मोती र भारतेन्दु, परिच्छेद तीनमा विविध साहित्य, परिच्छेद चारमा पारिवारिक खण्ड, परिच्छेद पाँचमा प्रतिवन्धित साहित्य र परिच्छेद छ मा चिट्ठी पत्र राखिएको छ । अन्तमा आचार्यले आफूसँग सम्बन्धित तस्बिरहरु राखेर ठुलो ग्रन्थ तयार भएको पाइन्छ । 

यो ग्रन्थमा समेटिएका सामग्रीले केही नयाँ जानकारी पनि दिएको छ र जसका लागि कृतिकार धन्यवादका पात्र हुनु भएको छ । विभिन्न ठाउँमा छरिएर रहेका जानकारीहरुलाई  एकैठाउँमा सँगालेर राखिएको नै यस ग्रन्थको विशेषता हो ।

अर्को संस्करण प्रकाशित हुँदा पक्कै नै यसमा देखिएका केही शुद्धाशुद्धि र दोहोरिएका कुराहरुमा ध्यान दिइएने छ भन्ने आशा गर्न सकिन्छ । बारम्बार नयाँ नयाँ विषयमा कलम चलाउने जाँगरलाई भने आचार्यको लगनशीलता प्रशंसनीय छ । यो कृति १३ अप्रिल २०२५अर्थात् ३१चैत्र २०८१का दिन भारतको बनारसमा लोकार्पण गरिएको छ जहाँको भूमिमा मोती र भारतेन्दुको भेट भएको थियो । 

पुस्तकको नाम-बीपी-रेणुः मोती- भारतेन्दु नेपाल भारत सेतु, (पृष्ठ ५०६,थ)प्रथम संस्करण ,२०८१
विधा- इतिहास(समालोचना)
लेखक- गिरिराज आचार्य
प्रकाशक- नीरजा कोइराला आचार्य
मूल्य-रु.८००।