साहित्य सदनद्वारा ‘पारिजात साहित्य सम्मान’ सुकन्या वाइबालाई प्रदान गर्ने निर्णय

साहित्य सदनद्वारा ‘पारिजात साहित्य सम्मान’ सुकन्या वाइबालाई प्रदान गर्ने निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ०४, २०८२

काठमाडौँ । साहित्य सदन नेपालले स्थापना गरेको ‘पारिजात साहित्य सम्मान’ पहिलोपल्ट सुकन्या वाइबालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

सदनका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलको अध्यक्षतामा वैशाख ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सुकन्या वाइबा साहित्यकार पारिजातकी बहिनी हुन् । साहित्यकार पारिजातको जीवनकालमा निकट रहेर उनले जुन प्रकारको सेवा, सहयोग र योगदान गरेकी छिन् त्यो उल्लेखनीय छ । ८९ वर्षीया सुकन्या पारिजातको आजीवन सेवामा समर्पित रहिन् । यसका साथै पारिजात कीर्तिशेष भएपछि ‘पारिजात स्मृति केन्द्र’ को स्थापनामा पनि उनको महत्वपूर्ण भूमिका रहेको छ ।

सुकन्या वाइबा स्वयम् पनि साहित्यकार व्यक्तित्व हुन् । उनका विभिन्न फुटकर रचनाका साथै पारिजातको स्मृतिसँग सम्बन्धित ‘अनुभव पारिजातको कलम सुकन्याको’, बालसाहित्य ‘म किट्टी बिरालो’ तथा पारिजातका चिठ्ठी संकलित ‘अपराजिता’ नामक कृति प्रकाशित छन् ।

उक्त सम्मान यही वैशाख १२ गते शुक्रबार साहित्य सदन नेपालको प्रेक्षालयमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने सदनका सचिव प्रह्लाद पोखरेलले जानकारी दिए ।