भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’ सार्वजनिक

भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०८२

काठमाडौँ । नियात्राकार भवानी खतिवडाको चौथो नियात्राकृति ‘प्रणाम सगरमाथा’ सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौँको कालिका स्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, नियात्राकार इल्या भट्टराई, पेज टर्नरका अध्यक्ष वरिष्ठ साहित्यकार भुवनहरि सिग्देल, वरिष्ठ कवि तथा नाटककार अशेष मल्ल, समालोचकहरू डा. अशोक थापा र महेश पौड्याल तथा लेखक स्वयंले उक्त कृतिको लोकार्पण गरेका हुन् ।

यस अवसरमा आयोजित अन्तरक्रियामा सहभागी नियात्राकार इल्या भट्टराईले भवानीको यस कृतिले उच्च हिमाली भेगको एक विशिष्ट अनुभूति पाठकसँग बाँड्न सफल भएको बताइन् । उनले भनिन्, ‘अन्यत्र पाइने सूचना सुष्क हुन्छ । यस कृतिले बाँड्ने अनुभूति सरस र विशिष्ट छ ।’

समालोचक पौड्यालले नियात्राबाट निजात्मकता हराउँदै गएको वर्तमान सन्दर्भमा भवानी खतिवडाले सरसता र निजात्मकता दुवैको सम्यक मिश्रण प्रस्तुत गरेको टिप्पणी गरे । उनले भने, ‘खतिवडाको लेखनमा उच्च हिमाली जनजीवन र हिमाली भव्यताका झिल्का पाइन्छन् । एक आम नेपाली नारीका लागि एक्लै यति दुष्कर भूगोलको यात्रा गर्नु र त्यसलाई कृतिको आकार दिनु आफैँमा एक विशिष्ट प्राप्ति हो ।’ परिचर्चाको मध्यस्थता समालोचक थापाले गरेको थिए । 

सोही अवसरमा सर्वनाथ थिएटरले विमोचित कृतिभित्रका केही प्रसङ्ग समेटर नाटकको प्रदर्शन पनि गर्‍यो । सर्वनामको एक्काइसौँ ब्याचका विद्यार्थीहरूले अभिनय गरेको उक्त नाटकमा उच्च हिमाली भेगमा भेटिने मौसमको अनिश्चितता, जीवनको जोखिम, र त्यहाँ जीविका चलाउनकै लागि पर्यटकका भारी बोक्ने श्रमिक वर्गको मर्मकथा समेटिएको थियो । 
कार्यक्रमलाई सम्बोधित गर्दै नियात्राकार खतिवडाले भनिन्, ‘लेखन मेरो साधना हो । मैले परिवार र छोराछोरीप्रतिको जिम्मेवारीलाई एउटा मुकामसम्म पुर्‍याइसकेकी छु । मेरो बचेको समय भनेको साहित्य साधनाकै लागि हो ।’ उनले आफू एक श्रद्धालु बनेर हिमाली भेगको यात्रामा जाने, र आफू स्पर्शित भएका प्रसङ्ग टिपेर त्यसलाई नियात्राको रूप दिने गरेको बताइन् । 

कृतिलाई पेज टर्नरले बजारमा ल्याएको हो । यसअघि खतिवडाका ‘घामभन्दा पहिले’, 'चारखोलाको आँगनीमा' र 'आकाश ओढेको डोल्पो’ प्रकाशित छन् । 

यसै कार्यक्रममा खतिवडाकै नेतृत्वमा प्रकाशन संस्था पेज टर्नरले क्यान्सरसँग लडिरहेका कवि गोविन्दराज विनोदीको उपचारचार्थ चलाएको सहयोग अभियानमा जुटेको ४ लाख, ५५ हजार, ३ सय ५६ रुपैया कवि विनोदीकी छोरीलाई हस्तान्तरण गर्‍यो । रकमलाई वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले कवि विनोदीकी छोरीलाई हस्तान्तरण गरेका थिए