लोकसंवाद संवाददाता | समाचार | बैशाख २०, २०८२
काठमाडौँ । रुद्र-गोरी श्री- अम्बिका ओली प्रतिष्ठान, झापाले एक समारोह बिच एघारौं सम्मान तथा पुरस्कार समर्पण समारोहको आयोजना गरी तीन विधाका समाजसेवी तथा स्रष्टाहरूलाई सम्मान पत्रसहित नगद राशिबाट पुरस्कृत गरेको छ ।
प्रतिनिधि सभाका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले विभिन्न तीन विधाका चार जना समाजसेवी तथा स्रष्टाहरूलाई नगद राशिसहित सम्मान गर्नुभएको हो ।
यसरी १ लाख १ हजार एक सय ११ रुपैयाँ नगद राशिसहित एकल महिला (विधवा) हरुको मानव अधिकारको सुनिश्चितता, उनीहरूको अदृश्यताको अवस्थामा नीतिगत तथा व्यवहार गत सुधारका लागि खेलेको भूमिका साथै उनीहरूको सशक्तीकरणका लागि गरेको प्रयासका लागि संस्थागत रूपमा ' मानव अधिकारका लागि महिला,एकल महिला समूह 'डब्ल्यु.एच.आर.) , काठमाडौँलाई 'गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार' बाट सम्मानित गरिएको थियो भने पत्रकारितामा विद्यमान पितृसत्तात्मक शोच तथा लैगिंकताको दृष्टिकोणबाट असहज कार्य वातावरणमा पनि १५ वर्षको कलिलो उमेरदेखि पुरुष पत्रकारहरूको वर्चस्व रहेको राजनीतिक बिटको पत्रकारितामा लागि परम्परागत मान्यतालाई चिर्दै मूलधारको सञ्चारमाध्यममा महिलाको स्थान स्थापित गर्न गरेको सङ्घर्षका लागि १ लाख १ हजार एक सय ११ रुपैयाँ नगद राशिसहित
'अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार' बाट पत्रकार बिनु सुवेदीलाई सम्मानित गरिएको छ ।
यसरी नै लैगिंक सामाजिक करणका कारण बाल्यकाल देखि नै बालक र बालिकाहरूलाई गरिने विभेद युक्त सामाजिक तथा पारिवारिक व्यवहारमा सन्तुलन ल्याउन सामुदायिक स्तरमा सञ्चालन गरेका सचेतनामूलक अभियानको लागि हेलम्बुकी सुश्री सदिच्छा पण्डित तथा कलिलै उमेरमा सकारात्मक सोचलाई प्रवर्द्धन गर्दै निबन्ध, कविता, कथा, नाटक र पत्रकारितामा कलम चलाइरहनु भएका नवलपरासीका सर्जक त्रिदेव पौडेललाई संयुक्तरुपमा जनही ५० हजार १ सय ११ रुपैयाँ नगदसहित 'देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार' बाट सम्मानित गरिएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि उपसभामुख माननीय रानाले आफू समेत यस प्रतिष्ठानको पुरस्कारबाट सम्मानित भएको क्षणको स्मरण गर्दे प्रतिष्ठानले समाजमा सकारात्मक अभ्यासको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रमालाई गौरा देवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार पुरस्कृत डब्लु. एच.आर. की संस्थापक एवं राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापा, 'अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार' बाट पुरस्कृत पत्रकार बिनु सुवेदी, 'देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार' बाट पुरस्कृत सदिच्छा पण्डित र त्रिदेव पौडेलले पनि मन्तव्य राख्नु भएको थियो ।
पुरस्कार छनौट गर्ने समितिका तर्फबाट पत्रकार शिव गाउँलेले विभिन्न विधामा समाजमा योगदान गरेका सर्जक तथा स्रष्टाहरूको विवरण सङ्कलन तथा छनौटमा अवलम्बन गरेको वस्तुगत मुल्याकंन पद्धतिका आधारहरू सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
उक्त सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम रुद्र- गौरी श्री- अम्बिका ओली प्रतिष्ठान, झापाका अध्यक्ष गङ्गा प्रसाद ओलीको अध्यक्षतामा नेपाल पर्यटन बोर्डको सभाकक्ष सम्पन्न भएको थियाे ।