'सम्झनामा गोविन्द भट्ट’ सार्वजनिक

'सम्झनामा गोविन्द भट्ट’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ ३०, २०७६

काठमाडाैँ । साहित्यकार, दार्शनिक तथा समालोचक गोविन्द भट्टको स्मृतिमा प्रकाशित पुस्तक ‘सम्झनामा गोविन्द भट्ट’ को लोकार्पण गरिएको छ ।

साहित्य सन्ध्या नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष तथा साहित्यकार नारायणमान बिजुक्छे र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले  स‌ंयुक्त रुपमा पुस्तक लोकर्पण गर्नुभएकाे थियाे ।

छ सय ५६ पृष्ठको पुस्तकका सम्पादकमा विष्णु प्रभात, वासुदेव अधिकारी र सुदर्शन श्रेष्ठ हुनुहुन्छ । कृतिमा भट्टका बारेमा लिखित ९६ लेखरचना समावेश गरिएको छ । सो अवसरमा नेमकिपाका अध्यक्ष बिजुक्छेले भट्टले नेपाली समाजमा पुर्‍याएको योगदानबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो । बिजुक्छेले देश विकासमा योगदान पुर्‍याउने व्यक्तिलाई राज्यले सम्मान गर्नुपर्छ भन्दै भट्टका विचारले देशलाई मार्गदर्शन गर्नमा मद्दत मिल्ने बताउनुभयो । 'भट्टका बारेमा मैले पनि धेरै जान्ने, बुझ्ने अवसर पाएँ'  बिजुक्छेले भन्नुभयो, 'साहित्य र दर्शनका माध्यमबाट उहाँले साँच्चै नै समाजलाई सही मार्गमा डोर्‍याउन खोज्नुभएको रहेछ ।' 

अर्को प्रसङ्गमा नेता बिजुक्छेले संसदीय राजनीतिक प्रणालीमा आबद्ध भई कम्युनिष्ट विचारधारा कमजोर बन्दै गइरहेको बताउनुभयो । 'चुनाव जित्नका लागि सबै पक्षलाई तिलाञ्जलि दिने काम भइरहेको छ' उहाँले भन्नुभयो, 'यो अवस्थाबाट समाजवाद ल्याउन सम्भव छैन ।' प्रतिष्ठानका कुलपति उप्रेतीले भट्ट माक्र्सवादी दर्शनलाई गहिरो अध्ययन गरेको व्यक्ति भएको बताउनुभयो । 'भट्टमा परिस्थितिलाई आकलन गरेर निर्णय लिन सक्ने खुबी थियो', उहाँले भन्नुभयो,  'उहाँ छलफल र परामर्श गरेर मात्र आफ्ना विचारहरु बाहिर लैजाने गर्नुहुन्थ्यो ।'

नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउन कूटनीतिक तवरबाट भूमिका निर्वाह गरेकै कारण चीन सरकारले भट्टलाई अहिले पनि स्मरण गर्ने गरेको उप्रेतीले बताउनुभयो । प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले प्रलेसलाई गति दिन भट्टको ठूलो योगदान रहेको बताउनुभयो । 'भट्टको समन्वयात्मक भूमिकाले सङ्घमा देखिएका विवाद पनि कम हुँदै गइरहेका थिए', प्रा. डा. गिरीले भन्नुभयो, 'उहाँको विचारबाट हामी निकै प्रभावित भएका थियौँ ।' राष्ट्रियता र स्वाधीनताको पक्षमा भट्ट निकै अडिग हुनुहुन्थ्यो', उहाँले थप्नुभयो, 'नेपाली साहित्य अनुवादको क्षेत्रमा पनि उहाँको अग्रणी भूमिका रहेको छ ।' 

कृतिका सम्पादक अधिकारीले भट्टसँग राजनीतिक दलका शीर्ष नेताहरु बेलाबेलामा सल्लाह र परामर्श लिएर मात्र निर्णयमा पुग्ने गरेको जानकारी दिनुभयो । 'मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्नुपूर्व भट्टसँग परामर्श लिनुभएको थियो', उहाँले भन्नुभयो, 'अन्य नेताहरुले दर्शन र सिद्धान्तका बारेमा परामर्श लिन परे भट्टलाई बोलाउने गर्थे ।' प्रा डा चैतन्य मिश्र, प्रा डा माधवप्रसाद पोख्रेल र सम्पादक प्रभातले भट्ट र पुस्तकका बारेमा बोल्नुभएको थियो । उहाँहरुले भट्टलाई बहुआयामिक व्यक्तिका रुपमा चित्रण गर्नुभयो । 'अन्तरराष्ट्रिय क्षेत्रमा नेपाली बौद्धिकतालाई चिनाउन भट्टको उच्च योगदान रहेको छ', प्रभातले भन्नुभयो, 'भारत र चीन दुवै देशका विशिष्ट व्यक्तिमाथि प्रभाव जमाउनुभएको थियो ।'

भट्टका बारेमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा शोध गर्नुभएका हुमाकुमारी पाण्डेले भट्टले सरल भाषामा कविता निबन्ध र समालोचना लेख्ने गरेको बताउनुभयो । कार्यक्रममा भट्टकी जेठी छोरी लुना, भाइ अच्युत, साहित्यकार मोहनप्रसाद आचार्य, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, कोषाध्यक्ष गोपालकुमार मैनालीलगायतले भट्टको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो । भट्टका ‘शोषित पुकार’ (कविता, युगवाणी), ‘शान्ति सन्देश’ (खण्डकाव्य), ‘नेपाललाई बुझ्ने समस्या: एक लामो र कठिन प्रक्रिया’, ‘चीनका चार आधुनिकीकरण’, ‘गोविन्द भट्टका समालोचना’, ‘गोविन्द भट्टको माक्र्सवादी चिन्तन’ (लेखसङ्ग्रह), ‘गोविन्द भट्टका दार्शनिक रचनाहरु’, ‘आधुनिक युग, आधुनिक साहित्य’ (नेवारी निबन्ध पुस्तिका)  आदि प्रकाशित रहेका छन् ।