नागढुंगा–सिस्नेखोला सुरुङमार्ग हाज्माले बनाउने

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग हाज्माले बनाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३०, २०७६

काठमाडौं ।  चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी प्रतिस्पर्धामा रहेकामा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । 
हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग निर्माण गर्न लागेको हो ।    

सवा १३ अर्ब रुपैयाँमा सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा र आन्दोलाई जिम्मा दिन लागिएको सडक विभागले जनाएको छ । 

विभागका अनुसार असार मसान्तसम्ममा कम्पनीसँग ठेक्का सम्झौता भइसक्नेछ । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम पूरा गर्नुपर्नेछ । 

यसअघि हाज्माले कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको अनुभव छ । 

विभागका अनुसार सुरुङमार्गको कुल लागत रकम १६ अर्ब ६९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ । निर्माणमा लाग्ने सबै रकम जापानी सहयोग नियोग जाइकाको सहुलियत ऋण हो ।

सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने ०.०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ भने ३० वर्षभित्र ऋण रकम चुक्ता गरिसक्नुपर्नेछ । 

तीन लेनको सुरुङमार्गको कुल लम्बाइ २.६८८ किमि छ । त्यसबाहेक २.४५ किमि भने सडकको भाग हुनेछ । सुरुङ र सडकको कुल लम्बाइ ४.५१ किलोमिटर रहनेछ ।

उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् । बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कम्तीमा २५ र बढीमा ५० रुपैयाँ ‘टोल ट्याक्स’ तिर्नुपर्ने हुन्छ ।