मेसी सबैभन्दा धेरै कमाउने खेलाडी

मेसी सबैभन्दा धेरै कमाउने खेलाडी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ ३०, २०७६

काठमाडौं, एजेन्सी । फोर्ब्स म्यागजिनका अनुसार बार्सिलोनाका फुटबल स्टार लियोनल मेसी फुटबलबाट सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् ।  

चर्चित म्यागजिन फोर्ब्सले जारी गरेको सर्वाधिक कमाउने फुटबलरको सूचीमा मेसी पहिलो पटक शीर्ष स्थानमा परेका हुन् । 

१२७ मिलियन डलर करिब १४ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेर उनले पहिलोे स्थान कब्जा गर्न सफल भएका हुन् । । 

सर्वाधिक कमाउने अन्य शीर्ष तीन खेलाडीमा पहिलो पटक फुटबल खेलाडीले पकड बनाउन सफल भएका हुन् । 

पोर्चुगलका युभेन्ट्स फुटबल स्टार रोनाल्डो १०९ मिलियन डलर करिब १२ अर्ब १० करोडसहित दोस्रो स्थानमा रहेका छन् भने 

ब्राजिलका पीएसजी स्टार नेयमार १०५ मिलियन डलर करिब ११ अर्ब ६५ करोड सहित तेस्रो स्थानमा रहेका छन्। 

फोर्ब्सले गत जुनदेखि एक वर्षको अवधिमा जितेको पुरस्कार, तलब र प्रायोजन जोडेर सूची प्रकाशन गर्ने गर्छ। 

सूचीमा बास्केटबलका ३५ खेलाडी रहेका छन् भने अमेरिकी फुटबलका १९, बेसबलका १३, फुटबलका १२ जना सुचिमा रहेका छन्। 

गल्फ र टेनिसका समान पाँच खेलाडी सूचीमा रहेका छन्। 

सूचीमा समावेश एक मात्र महिला टेनिस खेलाडी सेरेना विलियम्स ६३औँ स्थानमा रहेकी छिन्।  उनको आम्दानी २९.२ मिलियन डलर  रहेको छ। 

त्यस्तै पुरुषतर्फ रोजर फेडेरर ९३.४ मिलियन डलर सहित पाँचौ स्थानमा रहेका छन्। 

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली शीर्ष १०० मा पर्ने एक्ला क्रिकेटर बनेका छन् । उनी लगातार तेस्रो वर्ष फोर्ब्सको शीर्ष १०० भित्र नाम लेखाउन सफल भएका छन् । 

कोहली यो पटक सूचीको अन्तिम अर्थात् एक सयौँ नम्बरमा रहेका छन्। २५ मिलियन डलर कमाउने उनी दक्षिण एसियाका एक्ला खेलाडी हुन्। 

अघिल्लो पटक २२ देशका खेलाडीले शीर्ष १०० मा स्थान बनाएका थिए भने यो पटक २५ देशका खेलाडी शिर्ष १०० मा सामेल छन्। यिनीहरूको कुल कमाइ करिब चार अर्ब डलर रहेको छ। यो अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो।  

बढी कमाउने १० खेलाडी 

१‍ लियोनल मेसी                   फुटबल                               १२७ मिलियन डलर

२ क्रिस्टियानो रोनाल्डो          फुटबल                               १०९ मिलियन डलर

३ नेयमार                            फुटबल                               १०५ मिलियन डलर

४ क्यानेलो अल्भारेस            बक्सिङ                                ९४ मिलियन डलर     

५ रोजर फेडेरर                      टेनिस                               ९३।४ मिलियन डलर       

६ रसेल विल्नस                    फुटबल                              ८९।५ मिलियन डलर         

७ आरोन रोड्जर                   फुटबल                                ८९।३ मिलियन डलर           

८  लिब्रोन जेम्स                   बास्केटबल                            ८९ मिलियन डलर         

९ स्टेफिन करी                     बास्केटबल                         ७९।८ मिलियन डलर                         

१० केभिन डुरान्ट                 बास्केटबल                          ६५।४ मिलियन डलर