बाल कल्याण नमुना माध्यमिक विद्यालयमा २ हजार ६६५ विद्यार्थी !

बाल कल्याण नमुना माध्यमिक विद्यालयमा २ हजार ६६५ विद्यार्थी !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ ३१, २०७६


 रोल्पा ।  रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले बितेको एक दशकयता गरेको शैक्षिक सुधारसँगै अभिभावकको आकर्षण बढ्न थालेको छ । सरकारी विद्यालयको पठनपाठन राम्रो नहुने भन्दै निजी विद्यालयतर्फ आकर्षण बढिरहेको बेला रोल्पाको उक्त विद्यालय भने अभिभावकका लागि आकर्षणको केन्द्र बनेको हो ।

व्यवस्थापकीय परिवर्तन र प्रशासनिक सुधारपछि भने अहिले सो विद्यालय जिल्लाकै नमूना विद्यालयको रूपमा स्थापित भएको छ । शिक्षा विभागले ‘एक निर्वाचन क्षेत्र, एक नमूना विद्यालय’को अवधारणाअनुसार रोल्पा जिल्लामा नमूना विद्यालयको रुपमा छनोट भएका दुई विद्यालयमध्ये सो विद्यालय एक हो । अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको लगातारको लगावका कारण विद्यालयको सुधार सम्भव भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताउनुभयो । 'अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवं जिम्मेवारीवोध तथा शिक्षकमा आएको सेवाभावकै कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको हो', अध्यक्ष न्यौपानेले भन्नुभयो । विद्यालयमा आएको परिवर्तनसँगै निजी विद्यालय छाडेर सो विद्यालयमा अध्ययन गर्नेको भीड लागेको छ ।
 
शिक्षकमा कर्तव्यप्रतिको जिम्मेवारी, विद्यार्थीमा अनुशासन र पढ्नुपर्छ भन्ने भित्री अठोट एवं अभिभावकको निरन्तर सहयोग र निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको विद्यालयका प्राचार्य मधुसुदन पोखरेलले बताउनुभयो । विद्यालयको समग्र अवस्था सन्तोष गर्ने स्थितिमा पुगे पनि अझै धेरै गर्न बाँकी रहेको पोखरेलले प्रतिक्रिया दिनुभयो । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको समीप सम्बन्ध र जिम्मेवारीप्रतिको बुझाइमा एकरूपता नहुँदासम्म विद्यालयको परिवर्तन असम्भव रहेको पोखरेलले अनुभूति व्यक्त गर्नुभयो । वर्षेनी दुई/ तीन सय विद्यार्थी निजी छाडेर आफ्नो विद्यालयमा आउने गरेको पोखरेलले जानकारी दिनुभयो ।

चालू शैक्षिकसत्रमा सो विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म  २ हजार ६६५  विद्यार्थी रहेको विद्यालयले जानकारी दिएको छ ।  विद्यालयले हाल शिशु कक्षादेखि कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट पढाउँदै आएको छ । आगामी एक वर्षभित्र कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने विद्यालयले जनाएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यम अनिवार्य बनाइएको छ भने कक्षा ६ देखि १० सम्म अङ्ग्रेजी र नेपाली माध्यमका दुई धारमा पढाइ हुँदै आएको विद्यालयले जानकारी दिएको छ । ' सोही विद्यालयमा अध्ययन गरेका तथा राम्रो निजी विद्यालयबाट आएकाका लागि अङ्ग्रेजी माध्यम र अन्य विद्यालयबाट आएका विद्यार्थीका लागि नेपाली माध्यमको व्यवस्था गरेका छौँ' , विद्यालयका प्राचार्य मधुसुदन पोखरेलले भन्नुभयो ।
 
दश जोड दुईमा विज्ञान, मानविकि, व्यवस्थापन, शिक्षा र कम्युटर विज्ञानको पढाइ भइरहेको विद्यालयले जानकारी दिएको छ । केही वर्षयता सो विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन प्राप्त गरी सव–इञ्जिनीयर र सव–ओभरसियर विषयमा समेत पठनपाठन गर्दै आएको छ ।

विद्यालयमा बढ्दै गएको विद्यार्थी सङ्ख्याको तुलनामा मानवीय र भौतिक संरचनाको व्यवस्थापनमा चुनौती थपिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवित्रा आचार्यले बताउनुभयो । वर्षेनी ठूलो सङ्ख्यामा नयाँ विद्यार्थी थप हुँदै जाँदा शिक्षकको सङ्ख्या पनि थप्नुपर्ने र कक्षाकोठासमेत थप गर्नुपर्ने भएकाले विद्यालयलाई ठूलो व्ययभार हुँदै आएको आचार्यको भनाइ छ । कक्षा ६ देखि १० सम्म दुई भाषामा पठनपाठन गर्नुपर्दा दोब्बर जनशक्तिको व्यवस्थापन गर्नुपरेकाले थप व्ययभार हुँदै आएको उहाँको भनाइ छ । विद्यालयले अभिभावकलाई  सन्तुष्टि दिन सके पनि यसको थप सुधारका लागि विद्यालय व्यवस्थपान समिति र विद्यालय प्रशासन गम्भीरताका साथ लागिपरेको उहाँले बताउनु भएकाे  समाचार राससमा उमा केसीले लेख्नु भएकाे छ ।