अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा  ३२ जना नेपाली पक्राउ

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा  ३२ जना नेपाली पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३१, २०७६

काठमाडौं । सांगितीक कार्यक्रममा भाग लिन भनि मलेसिया आएका ३२ जना नेपाली पक्राउ परेका छन् । 

मलेसियामा एसएसओजी धमाका वान नामक सांगीतिक कार्यक्रमका लागि मलेसिया आएका ३ जना कलाकारसहित ३२ जनालाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको हो । 

कार्यक्रमका लागि मलेसिया आएका गायिकाद्धय श्रेया राई, सुनिता थेगिम, गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक गत बिहीबार पक्राउ परेका हुन् । 

मलेसियाली अध्यागमन नियम कानुन उल्लंघन गरेको आरोपमा उनीहरुलाई कार्यक्रम शुरु हुनु अगावै खानतलासी गरी नियन्त्रणमा लिइएको बताइएको छ ।

कार्यक्रम स्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको र हाल पुत्राजयास्थित अध्यागमनको हिरासत गृहमा राखिएको जानकारी प्राप्त भएको नेपाली दूतावासले जनाएको छ ।

दुतावासका अनुसार अध्यागमनको नियन्त्रणमा रहेकामा २० जना पुरुष र १२ जना महिलाहरु छन् । 

ईदको अवसरमा आयोजना गरिएको उक्त सांगीतक कार्यक्रम शुरु हुनु अगावैदेखि सादा पोशाकमा आएका प्रहरीले सहभागीहरुमाथि धरपकडगरेका थिए ।

दुतावासले पक्राउ परेका नेपालीहरुको अवस्था बुझी रिहाइ अथवा सुरक्षित फिर्तीको पहल गर्ने तयारी भइरहेको छ ।