लक्ष्मी न्यौपाने: भजनकीर्तनदेखि लोकगीतको शिखर आरोहणसम्म

लक्ष्मी न्यौपाने: भजनकीर्तनदेखि लोकगीतको शिखर आरोहणसम्म

यमबहादुर दुरा  |  लोकरञ्जन  |  जेठ ३१, २०७६

एकजना धर्मात्मा अभिभावक आफ्नी छोरी बिरामी भएकाले बेचैन थिए । छोरी च्यापेर अस्पताल ओहोरदोहोर गरिरहँदा उनले प्रतीक्षा गरे, ‘छोरी निको भए घरनजिक सरस्वतीको मन्दिर बनाउँछु’ । नभन्दै भगवानले पुकारा सुनेजस्तै भयो । छोरी निको भइन् ।  

उनले आफ्नो प्रतीज्ञा अनुसार सरस्वतीको मन्दिर निर्माण गरिछाडे । त्यसपछि नवनिर्मित मन्दिरमा पूजाआजा र भजनकीर्तनको परम्परा बस्यो । पूजापाठ र भजनकीर्तनका छरछिमेक जम्मा हुन थाले । रोगमुक्त भएकी छोरी पनि विस्तारै विस्तार भजनकीर्तनमा सामेल हुन् थालिन् । समयक्रममा उनी सुनाम कमाएकी लोकगायिका बन्न सफल भइन् ।

यो किस्सा अहिलेका ख्यातिप्राप्त लोकगायिका लक्ष्मी न्यौपानेको हो । अहिले लोकगीतमा उनको बेग्लै पहिचान छ । उनी साङ्गीतिक परवेशमा हुर्किइन् । लक्ष्मीका बुबा भोलाप्रसाद न्यौपाने नियमितजसो भर्जनकीर्तनमा सामेल भइरहन्थे । उनी गाउँठाउँको साङ्गीतिक माहोलको हिस्सा बन्थे ।

साँझमा भजनकीर्तन गरेपछिमात्र भातभान्साको मेसो हुन्थ्यो । उनी जन्मेको गाउँबस्ती लोकसङ्गीतका दृष्टिले उर्भरभूमि थियो । 

उनको भने लोकगीतको फाँटमा आउने उनको कुनै सोच थिएन । तर, समय बित्दै जाँदा उनमा कसोकसो लोकगीतप्रतिको अनुराग बढ्दै गयो । उनी १/२ कक्षा पढ्दादेखि नै गीत गाउँथिन् । आफू पढ्ने विद्यालयले आयोजना गर्ने लोकगीत प्रतियोगितमा भाग लिइरहन्थिन् । पुरस्कार पनि हात पार्थिन् । 

उनी रेडियो नेपालबाट बज्ने लोकगीतहरू प्रेमपूर्वक सुन्थिन् । त्यसमा पनि ‘चौतारी’, ‘रोदी’ र ‘प्रतिभा साँझ’ नछुटाई सुन्थिन् । उनलाई ‘चौतारी’ कार्यक्रममा गाउने रहर हुन्थ्यो । उनी जन्मस्थान पाल्पाबाट २०५१ सालतिर काठमाडौं घुम्न आएकी थिइन् । त्यही समयमा ‘चौतारी’ मा गाउने मौका पाइन् । यससँगै उनको एउटा ठूलो धोको पूरा भयो ।  

त्यो समय लक्ष्मीका लागि धेरै हिसाबले फलदायी सावित भयो । त्यसबेला लोकगीतका हस्ती नारायण रायमाझीसँग उनको भेट भयो । रायमाझीले उनको स्वर मन पराए । उनकै सहयोगमा तीजको गीत पनि रेकर्ड गराउने मौका पाइन् । 

गीत स्वराङ्कन गराएर उनी घर फर्किइन् । घर फर्किएपछि रेडियोमा आफ्नो स्वर सुनिन् । उनको मनमा आश्चर्य र खुसीको भाव उम्लिएर आयो । अहिले त्यो प्रसंग उठ्दा उनको मुहारमा खुसी छचल्किन्छ ।

राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालको ‘चौतारी’ कार्यक्रमबाट आमस्रोतलाई मखमली स्वर सुनाउनु र नारायण रायमाझीसँग भेट हुनु उनको जीवनका सुन्दर संयोग थियो, जुन एउटा महत्वपूर्ण ‘टर्निङ प्वइन्ट’ पनि थियो । 

यसपछिका कालखण्डमा उनका लागि अवसरका ढोकाहरू खुल्दै गए । २०५४ सालमा रेडियो नेपालले आयोजना गरको लोकगीत प्रतियोगितामा उनको गीत १३ वटा उत्कृष्ट गीतमा परे । उनले त्यतिबेला गाएको गीतको एउटा हरफ यस्तो थियो, ‘कहिले जीवन मिल्छ र माटोमा, सधैँ काँडा म हिँड्ने बाटोमा, यो दुखी जीवन’ । 

यो गीत निश्चय नै निराशा झल्काउने थियो । तर पनि धेरैले यही गीत मन पराए । यही गीतले उनको परिचय बनाउन धेरै हदसम्म सहयोग गर्‍यो ।

गीत दुःखको थियो । यही गीत धेरैले मीठो माने । अंग्रेज कवि पीबी शेलीले त्यसै भनेका रहेनछ,  ‘दुःखका गीत अतिशय मीठो हुन्छ’ भनेर । 

लक्ष्मी २०५५ सालमा रेडियो नेपालमा स्वर परीक्षामा उत्तीर्ण भइन् । यतिञ्जेलसम्म उनले साङ्गीतले यात्राले उडान भर्न शुरु गरिसकेको थियो । उनी २०५४ सालदेखि नै राजधानीमा रहेर साङ्गीत–साधनामा सरिक हुन थालिन् । उनको कला र गलाको ख्यातनामा दिन दुगुना रात चौगुना बढ्दै गयो । 

जतिबेला उनी साङ्गीतिक यात्राको शिखर आरोहणतिर लाग्दै थिइन्, त्यतिबेला देशमा एफएम रेडियोहरूले खुल्ने लहर तीव्र गतिमा चल्दै थियो । ती रेडियोलाई साङ्गीतिक खजना पनि चाहिएका थिए । 

यता, यही सङ्गीत उद्योगले ठूलै मात्रामा अडियो अल्बम उत्पादन गरिरहेका थिए । ‘पेन ड्राइभ कल्चर’ र यु ट्युब भित्रिएका थिएनन् । ती अल्बम स्थानीय एफएम रेडियोहरूमा खुबै बज्थे । यसरी रेडियोमा गीत बज्ने कलाकारमा लक्ष्मी न्यौपानेको नाम पनि अग्रपंक्तिमै पर्छ । लामो दुरीमा गुड्ने गाडीहरूले बजाउने कुरा त छँदैछ ।

‘फूलबुट्टे चोलीमा’, ‘मिर्मिरको घाम’, ‘कालीपारे दाइ’, ‘फूलमा भमरा’, ‘पूर्वैमा झ्याल राखे’, ‘राम्दी झरेर’, ‘वनमा काँडा छ’, ‘डोरी फुर्काले’, ‘गेटमा बेलीजाइ’, ‘सिमसिम पानी रैछौ बेइमानी’, ‘यो मायाको संसार विचित्र’, ‘चरी भए आउँथेँ उँडेर’ आदि उनले स्वर दिएका सुपरहिट अल्बमहरू हुन् । 

साङ्गीतिक यात्रामा रहँदा लक्ष्मीले थुप्रै अनुभूति सङ्गालेकी छिन् । उनले एउटा अनुभव पंक्तिकारसँग सेयर गरिन् । 

देशमा सशस्त्र द्वन्द्व चर्किँदै थियो । हत्या र हिंसाका रौं ठाडो पार्ने घटनाहरू एकपछि अर्को गरी बढ्दै गएका थिए । यही विषयलाई केन्द्रीय भावभूमि बनाएर गीत रेकर्ड हुँदै थियो । अल्बमको नाम थियो, ‘पल्टन सर्‍यो नि’ ।

गीतमा नेपाली सेनामा कार्यरत छोरा घर आउन नसकेको विषयलाई लिएर आमा–छोरीबीचको वार्तालाप थियो । आमाको भूमिकामा उनी स्वयं थिइन् भने छोरीको भूमिकामा बीमाकुमारी दुरा । गीत गाउँदगाउँदै उनी भावुक भइन् । बीचैमा रोइदिइन् । गीत रेकर्ड भयो । गीतमा उनको रुन्चे स्वर प्रष्ट सुनिन्थ्यो ।

 ‘आवाज रुन्छे आयो भन्ने कुरा आयो । त्यस्तो गीतमा त्यस्तै स्वर चाहिन्थ्यो । ठीकै भन्ने कुरा आयो ।’ उनी विगत सम्झिन्छिन्  ।

विगतमा निकै चर्चामा रहेकी उनको आजकल उतिसाह्रो चर्चामा सुनिँदैन । ‘लक्ष्मी न्यौपाने हरायो भन्ने सुनिन्छ नि ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘म हराएकी छैन । म आफ्नै हिसाबले सङ्गीतमा लागिरहेकी छु ।’

धेरैले भन्ने गर्छन्, यतिबेला कलकार कि स्टेज पर्फमेन्सले चिनिन्छन्,  कि त मिडियाले । उनी यी दुवै कुरामा रुचि राख्दिनन् । उनले अपेक्षित चर्चा बटुल्न नसक्नुको मूल कारण यी दुई पक्षको अभाव हो भन्न सकिन्छ ।

यस प्रसंगमा यहाँनेर अर्को कारण पनि जोडिन आउँछ । उनी २०५९ सालमा झलक रेग्मीसँग विवाह बन्धनमा बाँधिइन् । २०६५ सालमा जुम्ल्याहा सन्तान जन्मिए । अहिले उनी तीन सन्तानकी आमा हुन् । लालाबालाको हेरचाहमा समय खर्च गर्दा उनको सङ्गीतकर्म केही हदसम्म छायाँमा पर्न गयो । 

लक्ष्मीले हरेक वर्ष गीत निकाल्दै आइरहेकी छिन् । आफूले अहिलेसम्म ६ हजार जति गीतमा स्वर दिएको उनको दाबी छ । उनले तामाङ सेलो, देउडा, भोजपुरी, थारू तथा काठे गीत पनि गाइसकेकी छिन् ।

उनले आफ्नो साङ्गीतिक करिअरमा परिवारबाट राम्रो साथ र सहयोग पाएकी छिन् । उनका जीवनसाथी पनि लोकगीत अनुरागी हुन् । उनी लोकभाका सङ्कलन र गीत लेखनमा रुचि राख्छन् । लक्ष्मीले आफ्ना श्रीमान्ले लेखेका गीत गाएकी छिन् । 

‘तपाईँलाई मन पर्ने अग्रजहरू को को हुनुहुन्छ ?’ भन्ने प्रश्नको उत्तर दिनुभन्दा अघि एकछिन घोरिँदै भनिन्, ‘मलाई मन पर्ने अग्रजहरू धेरै हुनुन्छ ।’ उनले राजेन्द्र लम्साल क्षेत्री, हरिदेवी कोइराला, योगेन्द्र आचार्य, नारायण रायमाझी, शावित्री शाह र बीमाकुमारी दुराको नाम लिन भ्याइन् । 

राष्ट्रिय दोहोरीगीत प्रतिष्ठानकी आजीवन सदस्यसमेत रहेकी लक्ष्मी न्यौपाने नुरगंगा प्रतिभा पुरस्कार (२०६४), दशककी गायिका (२०७४) छायाँछवि अवार्ड (२०७४) लगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट विभूषित छिन् । 

उनी विचारशील गायिकाकी रूपमा चिनिन्छिन् । उनको ठहर छ, लोकगीतमा समयानुकूल परिवर्तन आवश्यक भए पनि आफूले टेकेको धरातल नै नरहने गरी परिवर्तन गरिनु हुँदैन । गीतमा भावनात्मक सुन्दरता हुनुपर्छ र गीत स्वच्छ मनोरञ्जन दिने खालको हुनुपर्छ भन्ने उनको मान्यता छ ।

कुराकानी टुङ्गिनै लाग्दा उनले कतिपय सोसल मिडियामा ‘कन्टेन्ट डेभलपर’ हरूप्रति असंतुष्टि पोखिन्  । केहीले आफ्नाबारे गलत शीर्षक राखेर पाठक तथा दर्शकलाई दिग्भ्रमित तुल्याएको भन्दै त्यस्तो नगर्न सुझाव दिइन् । 

दुनियाँ जे जसरी चले पनि लक्ष्मी न्यौपानेचाहिँ लोकगीतका कोसेलीहरूमार्फत् आमस्रोता तथा दर्शकलाई माया, सद्भाव र स्वच्छ मनोरञ्जन बाँड्ने अभियानमा तल्लीन् छिन् ।