आचार्यको प्रबन्ध सङ्ग्रह ‘अध्यात्मवाटिका’ सार्वजनिक

आचार्यको प्रबन्ध सङ्ग्रह ‘अध्यात्मवाटिका’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ ३२, २०७६

काठमाडौँ । साहित्यकार रामप्रसाद आचार्यको प्रबन्ध सङ्ग्रह ‘अध्यात्मवाटिका’को लोकार्पण गरिएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशन गरेको पुस्तकको आज यहाँ लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अध्यात्मवाटिकाका प्रबन्ध सङ्ग्रहका सबैजसो निबन्ध आध्यात्मिक वर्गमा जीवन र जगत्को नयाँ मूल्य खोज्ने खालका रहेको बताउनुभयो ।उप्रेतीले भन्नुभयो, 'लेखक नैतिक मूल्य र मान्यताको जगमा जीवन सञ्चालनको लागि सदाचारको बोटो खोज्ने प्रत्यत्नमा रहेको पाइन्छ । चिन्तनपूर्ण विचारलाई सार्वसाधारणका लागि सहज सम्प्रेषणीय बनाउन सरल वाक्यले झनै महत्व बढाएको छ ।'

 सो अवसरमा प्राडा भागवत ढकालले पुस्तकले असल संस्कार सिकाउनमा मद्दत गर्ने भन्दै जीवन पद्दति र मूल्यमा आधारित समाज निर्माणका बारेमा प्रष्ट पारेको बताउनुभयो । साहित्यकार डा. घनश्याम खतिवडाले अबको युग अध्यात्मिक युग भएको भन्दै अध्यात्म, सङ्गीत र साहित्यले समाजलाई सही मार्गमा डोर्‍याउन सहयोग पुर्‍याउने बताउनुभयो । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले निजामती क्षेत्रमा काम गर्दागर्दै पनि नौ वटा कृतिहरु प्रकाशनमा ल्याउनु आचार्यको ठूलो सफलता भएको बताउनुभयो ।

वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले आचार्यको अध्यात्मवाटिका पुस्तकले समाजको यथार्थ चित्रण गरेको भन्दै यो पुस्तक नयाँ पुस्ताका लागि जीवनपयोगी हुने बताउनुभयो । कार्यक्रममा सामाजिक अभियन्ता प्रेमकुमार पराजुली, वाङ्मय प्रतिष्ठानका सल्लाहकार ठाकुरप्रसाद शर्मा, सदस्य गुणाकर न्यौपानेले आचार्यको पुस्तकले आध्यात्मिकताको महत्वलाई थप उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यात्मिक पृष्ठभूमिका जीवन र जगत्को मूल्य खोज्दै मानिसलाई नैतिक र सदाचारको बाटोमा हिँड्न निर्देश गर्ने यस सङ्ग्रहमा आठवटा प्रबन्ध सङ्ग्रह समावेश गरिएको छ । आचार्यको यो नवौं कृति हो भने प्रतिष्ठानले हालसम्म १२६ वटा कृतिहरु प्रकाशन गरेको कुरा पिन कार्यक्रममा  जानकारी दिइएकाे थियाे ।