नेपाल एयरलाइन्सकाे  काठमाडौँ–ओसाका सिधा उडान भदौ १२ देखि

नेपाल एयरलाइन्सकाे  काठमाडौँ–ओसाका सिधा उडान भदौ १२ देखि

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३२, २०७६

काठमाडाैँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ ।

२०७६ भदौँ १२ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले जनशक्ति व्यवस्थापनदेखि व्यापार प्रवद्र्र्धनका काम अघि बढाएको हो ।

पर्यटकीय यामसँगै महत्वपूर्ण चाडपर्वको समय पारेर निगमले भदौ १२ देखि ओसाका उडानको तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अगष्टको उडानका लागि टिकट बुकिङ खुलाइएको र अहिलेप्रति उडान ८० भन्दा बढी टिकट बुकिङ भइसकेका छन् ।

अगष्ट महीनामा उडान गर्दा यात्रु प्रर्याप्त हुने भएकाले निगमलाई राम्रै फाइदा पुग्ने विश्वास लिइएको छ । निगमले यसअघि आगामी असार १९ गतेदेखि ओसाका सिधा उडान गर्ने योजना बनाएको भए पनि यात्रुको सङ्ख्या कमी रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको हो ।

सम्बन्धित ट्राभल एजेन्सीसँग पनि छलफल गरी उनीहरूको सुझावका आधारमा उडान केही पर सारिएको निगमको भनाइ छ । निगमले वाइड बडी ए–३०३० जहाजमार्फत लामो गन्तव्यमा उडान भर्ने योजनाका साथ जापानसहित अन्य गन्तव्यमा पनि प्रक्रियाअघि बढाएको छ ।

चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तव्यमा उडान भर्नेबारे गरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ । निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।

निगमसँग अन्तरर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।