एकदिवसीय विश्वकप क्रिकेट : इग्ल्याण्डद्वारा वेस्ट इण्डिज सहजै पराजित

एकदिवसीय विश्वकप क्रिकेट : इग्ल्याण्डद्वारा वेस्ट इण्डिज सहजै पराजित
वेस्ट इण्डिजविरुद्ध सतक प्रहार गरेपछि इग्ल्याण्डका जोय रुट । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ ३२, २०७६

काठमाडौं । जारी विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबार राति आयोजक इग्ल्याण्डले वेस्ट इण्डिजलाई सहजै पराजित गरेको छ ।

इग्ल्याण्डले वेस्ट इण्डिजमाथि ८ विकेटको फराकिलो जित दर्ता गरेको हो ।

इग्ल्याण्डले २१३ रनको लक्ष्य ३३.१ ओभरमा २ विकेट गुमाएरै पूरा गर्यो । इग्ल्याण्डका जोय रुटले अभिजित १०० रन जोडे । यस्तै, जोनी बेरस्ट्रोले ४५ र क्रिस वोक्र्सले ४० रनको योगदान दिए । अर्का ब्याट्सम्यान बेन स्ट्रोक्सले अभिजित १० रन जोडे ।

वेस्ट इण्डिजका लागि सान्नोन गाविरियलले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गर्न आएको वेस्ट इण्डिजले ४४.४ ओभरमा २१२ रनमा अलआउट भएको थियो । टिमका तर्फबाट निकोलस पूरनले सर्वाधिक ६३ रन जोडे । सिमरोन हेटमेयरले ३९ रन तथा क्रिस गेलले ३६ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । तीन ब्याट्सम्यानले खाता पनि खोल्न पाएनन् ।

वेस्ट इण्डिजको ब्याटिङ क्रम धरासायी पार्न जोफ्रा आर्चर र मार्क उडले समान तीन विकेट लिए । यस्तै, जोय रुटले दुई तथा क्रिस वोक्र्स र लायम पुल्नकेटले समान एक विकेट लिए ।

खेलको प्लेअर अफ दि म्याच जोय रुट घोषित भए ।

अंकतालिकामा दोस्रो

जितसँगै इग्ल्याण्ड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि चौथो स्थानमा रहेको इग्ल्याण्डले दुई स्थान सुधार गरेको हो । चार खेल खेलेको इग्ल्याण्डको ६ अंक छ ।

अंकतालिकाको शीर्ष स्थानमा न्युजिल्याण्ड छ । समान खेल खेलेको न्युजिल्याण्डको ७ अंक छ ।

यस्तै, समान खेल खेलेको अस्ट्रेलिया तेस्रो स्थानमा छ । उसको पनि ६ अंक छ । इग्ल्याण्डसँग समान अंक भए पनि रनरेटका आधारमा अस्ट्रेलिया तेस्रो स्थानमा छ ।

यी टिमभन्दा एक खेल कम खेलेको भारत अंकतालिकाको चौथो स्थानमा छ । भारतको ५ अंक छ ।