अर्नाकोटको विमानस्थल सञ्चालनकाे तयारीसँगै  होमस्टे प्रति आकर्षण

अर्नाकोटको विमानस्थल सञ्चालनकाे तयारीसँगै  होमस्टे प्रति आकर्षण

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३२, २०७६

 बागलुङ । बागलुङ जिल्लाको पर्यटकीयस्थल अर्नाकोटमा व्यक्तिगत लगानीमा घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । समुद्री सतहदेखि दुई हजार २० मिटर अग्लो रमणीय स्थल अर्नाकोटमा अर्नाकोट घरवास सञ्चालनमा ल्याएको हो । 

बागलुङ जिल्लामा सामुदायिक घरवास सञ्चालनमा आइरहेको सन्र्दभमा निसिखोला गाउँपालिका–२ देवीस्थानका युवा व्यवसायी टेकबहादुर कुँवरले गाउँमै रु ३२ लाखको लगानीमा अर्नाकोट घरवास सञ्चालनमा ल्याउनुभएको हो । अर्नाकोट ढोरपाटन नगरपालिकाको बुर्तिवाङ र निसिखोलाको शिरमा अवस्थित छ । 

बागलुङ जिल्लाका घुम्न लायकमध्येका स्थानहरुमा पर्ने अर्नाकोटमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी घरवास सञ्चालन गरेको सञ्चालक कुँवरले बताउनुभयो । लामो समयदेखि बागलुङ बजारमा होटल व्यवसाय गर्दै आउनुभएका कुँवरले आफ्नै गाउँ घुम्न गएका पर्यटकलाई खान बस्नको असुविधा भएको महसुस गरी घरवास सञ्चालन गर्नुभएको हो । 

 'लामो समयदेखि होटल व्यवसायमा छु, आफ्नै गाउँ घुम्न गएका पर्यटक खान बस्न नपाएको गुनासो सुनेँ', कुँवरले भन्नुभयो, 'दीर्घकालीन सोचका साथ घरवासमा लगानी गरेको छु ।' अर्नाकोट जिल्लाकै बसाइसराइ नहुने गाउँमा पर्छ । अर्नाकोटको डाँडामा मात्र मिलेर बसेका १७० घरले पर्यटकहरुको मनै लोभ्याउछ । 

अर्नाकोटको डाँडामा सरकारले विमानस्थल सञ्चालन गर्नका लागि अन्तिम तयारीसमेत गरेको छ । अर्नाकोट विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी विमानस्थल सञ्चालन गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग कालोपत्रेका लागि पहिलो चरणमा रु दुई करोड बजेटसमेत प्रस्ताव गरी सेकेको छ ।  

अर्नाकोट घुम्न आउने पर्यटक तथा सञ्चालनको क्रममा रहेको विमानस्थललाई लक्षित गरी घरवास सञ्चालनमा ल्याएकोे छु, 'उहाँले भन्नुभयो, 'हालै सञ्चालनमा आएको घरवास प्रति पाहुनाको निकै आर्कषण रहेको छ ।'

घरवासमा एक रातमा ४० पाहुना बस्न सक्ने क्षमता रहेको छ । निसिखोलाको केन्द्रबाट एक घण्टाको पैदल बटोमा अर्नाकोट पुग्न सकिन्छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको निसिखोला कालोपत्रे भएसँगै यात्रुहरुको आगमनमा समेत ह्वात्तै वृद्धि भएका कारण घरवासमा पाहुना आउने क्रम वृद्धि भएको छ ।

ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको सङ्गम स्थलमा रहेको अर्नाकोटबाट ढोरपाटन नगरपालिकाको सुर्तिबाङ लेक, बोबाङ, घम्पु, दुरलेक, खुङ्गा, तमानखोलाका विभिन्न स्थान उच्च पहाडी श्रृङखलाहरु र निसीखोलाको निसी, भल्कोट, नाङ्गेघुरी, प्युठान, गुल्मी, पाल्पा, स्याङ्जा तथा अर्घाखाँचीलगायत म्याग्दीको पश्चिम भाग सहज रुपमा अवलोकन गर्न सकिन्छ । यस्तै एक दर्जनभन्दा बढी हिमालहरुको अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय अर्नाकोट प्रति पर्यटकको आर्कषण बढ्दै गएको छ । 
    

यस्तै अर्नाकोटमा अवस्थित माइली बराह मन्दिर दर्शनका लागि समेत आउने धार्मिक पर्यटकका लागिसमेत घरवास उपयुक्त स्थान बन्न सक्ने कुँवरको अपेक्षा रहेको छ । घरवासमा कोदो तथा फापरको ढिंडो तथा रोटीका परिकार, सिस्नो, मकैको परिकार, भटमास, लोकल भेडाको मासुलगायतका परिकारको स्वाद चाख्न पाइने सञ्चालक कुँवरले बताउनुभयो । 

 वैशाख १ गतेदेखि पाहुनालाई सेवा प्रदान गर्दै आएको अर्नाकोट घरवासको शुक्रबार निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले औपचारिक उद्घाटन गर्नुभएको खवर राससमा खेमराज गौतमले लेख्नु भएकाे छ ।