पाठ्यपुस्तकमा १० प्रतिशत भन्सार ! पुस्तक व्यवसायीले आयत नगर्ने

पाठ्यपुस्तकमा १० प्रतिशत भन्सार ! पुस्तक व्यवसायीले आयत नगर्ने

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ ३२, २०७६

काठमाडाैँ । नेपाली पुस्तक व्यवसायीले भारत तथा अन्य मुलकमा प्रकाशन भएका पाठ्यपुस्तकको पैठारी (आयात) नगर्ने भएका छन् ।

नेपालमा यसअघि बिनाभन्सार आवश्यकताअनुसार पाठ्यपुस्तक विभिन्न मुलुकबाट आयात हुने गरेको थियो । सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ८० र अन्य मुलुकबाट २० प्रतिशत पुस्तक आयात हुने गरेको  थियाे 

   पाठ्यपुस्तकमा नेपाल आत्मनिर्भर भई नसकेकाले विदेशबाट आयात गर्नु नेपाली व्यवसायीको बाध्यता हो । नेपाल सरकारले आगामी साउन १ गतेबाट विदेशमा प्रकाशित पुस्तकमा १० प्रतिशत भन्सार महसुल लागू गर्ने भएपछि नेपाली व्यवसायीले विदेशमा प्रकाशन भएका पाठ्यसामग्रीको आयात नगर्ने भएका हुन् । 

 आर्थिक वर्ष २०७६/ ७७ का लागि प्रस्तुत भएको बजेटमार्फत बाह्य मुलुकबाट आयात हुने पाठ्यपुस्तकमा १० प्रतिशत भन्सार महसुल निर्धारण गरिएको  छ । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते नेपालको संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आम्दानी र खर्चको विवरण (बजेट) पुस्तिकामा सो कुरा उल्लेख छ ।  

  नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले पुस्तकमा लगाउन शुरु गरिएको १० प्रतिशत भन्सार महसुल सरकारले फिर्ता नलिएसम्म पुस्तकको आयात नगर्ने जनाएको छ । सङ्घका अध्यक्ष लिखतप्रसाद पाण्डेले पुस्तकमा भन्सार महसुल लगाउने कार्य संयुक्त राष्ट्रसङ्घीय शिक्षा, विज्ञान र सांकृतिक सङ्घ (युनेस्को) को घोषणा र अन्तर्राष्ट्रिय सन्धि (बर्न कन्भेन्सन) विपरीत भएको जनाएका छन् । विश्वमा कहीँ कतै पनि पुस्तकमा भन्सार महसुल भने लगाएको पाइँदैन ।   

युनेस्को घोषणापत्रअनुसार पाठ्यपुस्तकमा मूल्य अभिवृद्धि कर (भ्याट) र  भन्सार लगाउन नपाइने उल्लेख छ ।  नेपाल युनेस्कोको सदस्य राष्ट्र हो ।  'तीन प्रकारको शिक्षाअन्तर्गत आधारभूत र माध्यमिक तहमा पढ्ने आम विद्यार्थीका लागि पुस्तक आयात गर्नु पर्दैन भने उच्च शिक्षामा पढ्ने विद्यार्थीका लागि पाठ्यपुस्तक आयात नगरी सुखै छैन’' भन्नुहुन्छ पुस्तक व्यवसायी नवनिधि पन्त ।  

 नेपालमा आधारभूत र माध्यमिक तहमा पढ्ने विद्यार्थीको सङ्ख्या लगभग १५ लाख र उच्च शिक्षा पढ्ने करीब चार लाख रहेको अनुमान छ । सरकारी विद्यालयअन्तर्गत आधारभूत र मावि तहसम्म पढने विद्यार्थीले पुस्तक खरीद गर्नु पर्दैन । 

 मावि तहअन्तर्गत कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई  सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । उनीहरुका लागि जनक शिक्षा सामग्री केन्द्रले पुस्तकको प्रकाशन तथा वितरणको जिम्मेवारी प्राप्त गरेको छ । 

निजी विद्यालयमा पढ्ने विद्यार्थीले भने नेपालका निजी प्रकाशन गृहका पुस्तक आफै किनेर पढ्नुपर्छ । सरकारी र निजी विद्यालय गरी नेपालमा झन्डै २९ हजार विद्यालय छन् । जसअन्तर्गत निजी क्षेत्रको पहुँच २० प्रतिशतमा सीमित छ । 

दुवै तहका विद्यालयमा पढाइने पुस्तकको व्यापार भने झन्डै रु दुई अर्ब रकेको अनुमान छ । तर उच्च शिक्षाअन्तर्गत व्यव्स्थापन, मानविकी, शिक्षा, विज्ञान, कानून, कला, भाषा, साहित्य पढ्ने विद्यार्थीको सङ्ख्या झन्डै चार लाख रहेको अनुमान छ । चार लाख  विद्यार्थीका लागि  भारतबाट पुस्तक आयात गर्नुपर्ने अवस्था रहेको एकता प्रकाशन प्रालिका प्रतिनिधि रामचन्द्र तिमोथी बताउनुहुन्छ । उनीहरुका लागि भन्दै नेपालबाट झन्डै रु तीन अर्बका पुस्तक आयात भइरहेको अनुमान छ ।

भन्सार वृद्धिपछि पुस्तकको मूल्य अनधिकृत रुपमा बढ्नुको साथै  विवौलियाहरु हाबी हुने बताइन्छ । नेपालमा विश्वविद्यालयको सङ्ख्या ११ मध्ये सात विश्वविद्यालयमा विभिन्न विषयका भारतीय पुस्तकहरुको पढाइ हुन्छ । अझै एमविविएस, कला र कानूनका पाठ्यपुस्तकमा  नेपाल भारतसँग  निर्भर छ ।  

नेपालमा जम्मा ६०० प्रकाशन गृहले विभिन्न प्रकृतिका पुस्तक प्रकाशन गर्दै आएकामा ३०० प्रकाशन गृहले पर्यटनसँग सम्बन्धित पुस्तक प्रकाशन गर्छन् । त्यसमध्ये ९० प्रतिशत अर्थात २७० प्रकाशन गृहले विद्यालयस्तरीय पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरण गर्दै आएका छन् । पुस्तक छपाइ गर्ने प्रेसको सङ्ख्या झन्डै ८०० को हाराहारीमा रहेको बताइन्छ ।    नेपाल सरकारले तीन वर्षदेखि विद्यालयस्तरीय पाठ्यपुस्तकमा लगातार  मूल्य समायोजन गर्दै आएको छ । पृष्ठ सङ्ख्याका आधारमा मूल्य समायोजन भएकाले पाठ्पुस्तकको मूल्य अनाधिकृत रुपमा वृद्धि हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्र ले पुस्तक प्रकाशनका सम्बन्धमा नियमन तथा अनुगमनको साथै मूल्य समायोजनसमेत गर्दै आएको समाचार राससकाे लागि राजाराम कार्कीले लेख्नु भएकाे छ ।