बद्रीनारायण धाम निर्माण: छ करोड ५१ लाख सहयाेग सङ्कलन

बद्रीनारायण धाम निर्माण:  छ करोड ५१ लाख सहयाेग सङ्कलन

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार १, २०७६

काठमाडौँ  । नारायण पोखरेल प्रतिष्ठानले बद्रीनारायण धाम निर्माणका लागि छ करोड ५१ लाख सहयाेग सङ्कलन गरेको छ ।

प्रतिष्ठानले नागार्जुन नगरपालिका–७ रामकोटस्थित नारायण आध्यात्मिक केन्द्र परिसरमा निर्माण गर्न लागेको बद्रीनारायण धामका लागि २०७६ वैशाख २३ देखि ३१ गतेसम्म सीतापाइलामा आयोजना गरेको ‘गीताज्ञान महानुष्ठान–२०७६’बाट उक्त रकम सङ्कलन गिरएकाे हो ।

वाचन शिरोमणि नारायणप्रसाद पोखरेलको ६५औँ जन्मजयन्तीका अवसरमा यहाँ आज आयोजना गरेको ‘गीताज्ञान महानुष्ठान–२०७६ आयव्यय सार्वजनिक कार्यक्रम’मा र एक करोड ६२ लाख २२ हजार नगद उठिसकेको र र चार करोड ८८ लाख ९८ हजारको प्रतिबद्धता आएको गीताज्ञान महानुष्ठान मूल आयोजक समितिका अध्यक्ष जयराम लामिछानेले जानकारी दिनुभएकाे छ ।

'रामकोटलाई धार्मिक पर्यटनसँग जोड्न महानुष्ठानको आयोजना गरेका हौँ, उक्त महानुष्ठानबाट उठेको रकम नारायण आध्यात्मिक केन्द्र परिसरमा निर्माण हुन लागेको बद्रीधाम निर्माणमा खर्च गरिने छ ।  उहाँले भन्नुभयो । काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले नारायण पोखरेल धार्मिक मञ्चबाट मुलुक निर्माणको अभियानमा लाग्ने महान् व्यक्ति भएकाले उहाँको प्रतिष्ठानले बद्रीनारायण धाम निर्माणमा जुटेर राम्रो कामको थालनी गरेको बताउनुभयो ।

'निर्माण हुन लागेको बद्रीनारायण धाम नारायण पोखरेलका परिवार र काठमाडौँ क्षेत्र नं ९ को मात्र नभएर राज्यको सम्पत्ति हो, यसलाई राज्यले सहयोग गर्नुपर्छ', उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका सांसद श्रेष्ठले गुठी विधेयकमा देखिएको समस्या वार्ता र छलफलबाटै समाधान गर्न सकिने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले बद्रीनारायण धाम निर्माणका लागि काठमाडौँ महानगरपालिकाले  एक करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्व हिन्दू महासङ्घका अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र अधिकारीले सरकारले गुठीमाथिको प्रहार गरेर धर्ममाथिको प्रहार गर्न खोजेको भन्दै गुठी विधेयक तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बद्रीनारायण धाम निर्माणले नेपालको पर्यटन क्षेत्रको विकास हुने उल्लेख गर्नुभयो ।

ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले धार्मिक पर्यटन विकासका लागि बद्रीनारायण धामले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले बद्रीनारायण धाम निर्माणका लागि आयोजना गरेको ऐतिहासिक गीताज्ञान महानुष्ठान–२०७६ का लागि ३००१ सदस्य रहने गरी विभिन्न समिति गठन गरिएको प्रतिष्ठानका अध्यक्ष वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले जानकारी दिनुभयो । रामकोटमा नमूना बद्रीनारायण धाम निर्माण गरेर विश्वको आध्यात्मिक केन्द्रका रुपमा विकास गर्ने प्रतिष्ठानको लक्ष्य रहेको अध्यक्ष पोखरेलको भनाइ थियो । उक्त आध्यात्मिक केन्द्र तथा धाम निर्माणका लागि रु ५० करोड लाग्ने अनुमान गरिएको प्रतिष्ठानले जनाएको छ ।