‘फ्लुको सङ्क्रमण न्यूनिकरणको लागि सरकारले अनिवार्य रूपमा भ्याक्सिन लगाउने व्यवस्था गरिनुपर्छ’

‘फ्लुको सङ्क्रमण न्यूनिकरणको लागि सरकारले अनिवार्य रूपमा भ्याक्सिन लगाउने व्यवस्था गरिनुपर्छ’

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  असार १, २०७६

प्रा.डा.अर्पणा न्यौपाने
प्रा.डा.अर्पणा न्यौपाने काठमाडौं मेडिकल कलेजको मेडिसिन विभाग प्रमुख हुनुहुन्छ । हरेक वर्षजस्तो विभिन्न खालको ‘फ्लु’को आतंक सृजना हुने गर्छ । वास्तवमा ‘फ्लु’ भनेको के हो ? ‘फ्लु’को उत्पादन कसरी हुन्छ । यो भाइरस कसरी उत्पादन र सक्रिय हुन्छ ? यसबाट बच्ने उपाय के हुन् ?  सर्वसाधारण, चिकित्सक र राज्यले अपनाउनुपर्ने सावधानीमा केन्द्रित रहेर लोकसंवाद डटकमले प्रा.डा.अर्पणा न्यौपानेसँग अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूलअंशः   

सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्‍र्यो‍ भने ‘फ्लु’ भनेको के हो ?

‘फ्लु’ भनेको इन्फ्लुएन्जा भन्ने एउटा रोगको सर्ट फर्म हो । मुख्यचाहिँ इन्फ्लुएन्जा हो । इन्फ्लुएन्जा भन्ने ट्रम पनि एकथरीको इन्फ्लुएन्जा भन्ने भाइरस हुन्छ, त्यो इन्फ्लुएन्जा भाइरसबाट हुने रोगलाई इन्फ्लुएन्जा भनिन्छ । त्यसलाई छोटकरीमा फ्लु भनिन्छ । सामान्य हाम्रो बोलीचालीको भाषामा भन्दा छोटकरीमा फ्लु भयो मलाई भनेर भन्छौं । फ्लुमा धेरैजसो रुघाखोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने त्यस्तो खालको लक्षण देखिएको मानिसलाई अरु केही नसोची फ्लु भयो भन्ने चलन छ ।

यो रोग सासको माध्यमद्वारा मानिसको शरीरमा प्रवेश गर्ने रोग हो भनेर बुुझ्दा सही हुन्छ कि गलत ?

एकदमै सही हुन्छ, जस्तोः रुघाखोकी जहिले पनि सासबाट नै जाने चिज हो । लङ्गसमा जान्छ, सासमार्फत् भित्र गएर असर गर्न थालेपछि जुन लक्षणहरू देखा पर्छ त्यसलाई नै रुघाखोकी भन्छौ । सासबाट जाने भन्दाखेरि जुन श्वासप्रश्वासबाट जाने र ड्रप्लेक्ससँंग सम्बन्धित हुन्छ । यसको कुनै पनि डिजिजको ट्रान्समिसन कसरी हुन्छ भन्दा ड्रपलेचबाट, ड्रपलेच इनफेक्सनबाट हुन्छ । खाना खाको रुटबाट हुन्छ भन्ने चलन हुन्छ नि त । त्यस्तै यो फ्लु ड्रपलेच इनफेक्सनबाट हुन्छ, जुन रुघा लागेको मान्छेले हाच्छयुँ गर्दा सिँगानको कण निस्कन्छन् । ती वातावरणमा जाँदाखेरि त्यहाँको स–सानो डस्टमा मिलेर एक किसिमको ड्रपलेच बनाउँछन् । ड्रपलेच भनेको एउटा थोपा हो । त्यो थोपा हावामा तैरिरहेको हुन्छ । त्यो थोपा अर्को मान्छेले सास फेर्दाखेरि भित्र उसको रेस्पाटी सिस्टममा जान्छ र त्यसले रोग संक्रमण गराउँछ । 

अहिलेसम्म चिकित्सा विज्ञानले कति खालको फ्लुको पहिचान गरेको छ ? 

इन्फ्लुएन्जा भन्ने भाइरस ‘ए’, ‘बी’, ‘सी’ भनेर तीन थरीका हुन्छन् । धेरैजसो जुन हामीले ‘फ्लु’ भनेर कुरा गर्छौ ती ‘ए’ र ‘बी’ वर्गका हुन् । तर, इन्फ्लुएन्जाको भाइरस कुनचाहिँ आउँछ भन्न गाह्रो हुन्छ । यो सिजन अनुसार परिवर्तन भइरहन्छ, जस्तोः यो वर्ष एउटा छ भने अर्को वर्ष अर्कै हुन सक्छ । त्यो वर्ष त्यो छ भने अर्को वर्ष फेरि अर्कै हुन्छ । 

फ्लुलाई कहिले बर्ड फ्लु, स्वाइन फ्लु भनेर भन्ने गरिन्छ त्योचाहिँ कुनै पशुपन्छीमार्फत् वा कुनैचाहिँ मान्छेमार्फत् सर्ने हो वा यो भाइरस कसरी उत्पादन हुन्छ त ?

भाइरस उत्पादन हुनेभन्दा पनि भाइरस भन्ने एउटा डिएनए, आरएनए जुन हाम्रो भित्र जेनेटिक कोर्ड हुन्छ नि, त्यो एउटा मात्रै भएको वातावरणमा त्यो कसैनकसैभित्र रहिराखेको एउटा पाटिकल हो । त्यो एउटा जीवित पाटिकल हो, त्यसले मल्टीप्लाइ गर्न सक्छ । अनि त्यो मानिसमा पनि हुन्छ, सुँगुरमा पनि हुन्छ, चरामा पनि हुन्छ । त्यो जुनसुकैमा भए पनि त्यसको आधारभूत संरचना हेमएग्लुटेनेन एच र एउटा न्युरएमाइनिटिज भन्ने एन त्यो दुई वटाबाट हुन्छ । कुनचाहिँ संरचना हेमएग्लुटेनेन एच छ र कुनचाहिँ संरचनाको न्युरएमाइनिटिज भन्ने हिसाबले त्यसलाई ‘एन वान’, ‘एच टु’, ‘एच थ्री’, ‘एच वान एन वान’ हुन्छ, जस्तोः स्वाइन फ्लु भयो भने ‘एच वान एन वान’ देखिन्छ । त्यो स्वानफ्लु कसरी आयो त भन्दा त्यसको जेनेटिक जुन मेकअप छ त्यो त इन्फ्लुएन्जा भाइरस नै हो । तर, त्यसमा यो एच र एनमा केही परिवर्तन भएर त्यो सुँगुरमा भएको ‘एच वान’ र मान्छेमा भएको ‘एच वान’ मिलेर त्यसमा परिवर्तन भएर बनेको हुनाले त्यसलाई ‘एच वान’, ‘एन वान’ भनेर भन्छौं । भाइरसले जेनेटिक मेकअपमा बनाउँदाखेरि मान्छे, सुँगुर, चरा मिलाएर सबैको लिएर त्यसले जिन्स लिन्छ अनि आफूलाई परिवर्तन गर्छ । त्यसको नराम्रो पक्ष यही हो । त्यसले हरेक वर्ष आफूलाई परिवर्तन गर्छ, जुन २००९ मा ‘एच वान’, ‘एन वान’ स्वाइनफ्लु भयो नि त्यो बेलामा त्यो भाइरसले के ग¥यो भने इन्फ्लुएन्जा ए भाइरस हो हुनचाहिँ अनि मान्छेमा हुने खालको पनि छ । त्यसमा जेनेटिक स्ट्रक्चर तयार गर्छ । चरामा भएको पनि अलिकति लियो, सुँगुरमा भएको पनि अलिकति लियो र त्यसलाई मोडिफाई गरिदिएर त्यसलाई नोबेल भाइरस भनेर नयाँ बनाइदियो । यो भाइरस नयाँ–नयाँ बन्दै जान्छ । यसरी नयाँ बन्दै जाँदा भ्याक्सिन त चाहियो, त्यो भ्याक्सिनचाहिँ हरेक वर्ष त्यसको परिवर्तत गर्नुपर्ने हुन्छ । किनभने त्यसले आफूलाई हरेक वर्ष एन्टिजेनिक सेफ्ट गराउने, एन्टिजेनिक जेक्ट गराउँछ । उसले पनि अपडेट गर्दै जान्छ र मेडिसिएन पनि त्यही अनुसार अपडेट गर्दै जानुपर्छ, जस्तोः अहिलेको सिजनमा हामीसँंग इन्फ्लुएन्जा ‘ए’ र इन्फ्लुएन्जा ‘बी’ छ । त्यसको सिजन त्यही सेक्टेम्बरबाट सुरु भएर जनवरीसम्म एकै चोटी हरुरु आउँछ फेरि जुन–जुलाइमा अलिअलि  देखापर्छ ।

 

फ्लु सिजन अनुसार आउने समस्या हो ? त्यो मौसमी भएर सबै ठाउँमा एक खालको आतंक फैलाउने, फेरि अरुबेला चुपचाप बस्ने कारण यही हो ?

हो, यही हो । सिजन अनुसार त्यसको गतिविधि बढ्ने हुन्छ, जस्तोः मान्छेको पनि एउटा कुनै निश्चित समय नभइकन प्रजननको सिजन हुँदैन । त्यसैगरी चराचुरुंगीको पनि यो महिनामा प्रजनन हुन्छ । त्यस्तै खालको एउटा समय हुन्छ । त्यो महिनामा यिनीहरू अलि बढी एक्टिभ हुन्छन् । यी जेसुकै भए पनि इन्फ्लुएन्जा भाइसर तीन किसिमको हुन्छ । अहिले हाम्रोतिर चलिरहेको ‘ए’ र ‘बी’ हो । ‘ए’ मा पनि यो सिजनमा रेकर्ड भएको मृत्यु छ, यो ‘एच वान एन वान’ जुन स्वाइनफ्लुबाटै भएको हो, जुन पिडिएम जिरो नाइन भन्छ नि त्यो २००९ मा बनेको भाइरस हो । त्यही भाइरस अहिले चलनचल्तीमा आएर यसपाली त्यो अलि बढेको थियो । त्यसले एक–दुई वटा मृत्यु त गर्छ नै, हरेक सिजनमा त्यो यसपाली पनि भएको छ । त्यो नेचुरल फेनामेना हो । यो सिजनमा ‘एच वान, एन वान’, बी र अर्को एभेन इन्फ्लुएन्जा काभे्रबाट आएको थियो, जुन एक्सपायर पनि भयो । त्यसको जुन स्टक्चर हुन्छ, त्योचाहिँ ‘एच फाइभ’, ‘एन सिक्स’ हुन्छ । त्यो बेसिक एन वाला स्टक्चर चरामा हुने भएकाले त्यसलाई हामी वर्डफ्लु भन्छौं । त्यो संसारभर गएर हेर्ने हो भने एच र एन बाट मात्र चिनिन्छ । 

हामीले के भन्यौं भन्दा सिजन अनुसार त्यो एक्टिभ हुन्छ र त्यतिखेर हुन्छ । तर, सिजन नहुँदा पनि कोही मान्छेलाई यस्तो हुन सक्ने कतिको सम्भावना हुन्छ ?

त्यो त भइरहेकै हुन्छ । तर, कुनै सिजनमा त्यो एक्टिभ भएपछि सबै मान्छेलाई त्यहीनिर फैलिने हो, जस्तैः जनवरीसम्मको समय भने मैले त्यसपछि अप्रिलतिर त्यसको भाइरस नै त्यसको एक्टिभेट सम्भावना कम हुन्छ । त्यो समयमा चुप लागेर बसेको हुन्छ । त्यसबेला त्यसलाई खोज्न पनि जान पर्दैन ।

सामान्यतया कतैबाट मान्छे आउजाउमा रोक्नेदेखि लिएर पशुपन्छी पनि ल्याउन लानको लागि रोकटोक पनि गरिन्छ । तर, त्यो नहुँदा पनि त्यो भाइरस त देखा पर्छ कि पर्दैन ?

त्यो रोक्नुु एकदमै जरुरी छ । तर, त्यो आउने पनि त्यस्तै ठाउँबाट हो, जुन ठाउँमा कमन हुन्छ, जस्तैः २००९ भन्दा अगाडि यो ‘एच वान, एन वान’ कमन थिएन । तर, अहिले त एकदमै कमन छ नि । किनभने अहिले लोकल भइसक्यो । कुनै एउटा ठाउँमा त्यो ‘एच वान एन वान’ नपुगेको हो भने यहाँको मान्छे त्यहाँ गएर लान त सक्छ नि ! जस्तैः त्यो एभिएन इन्फ्लुएन्जा भन्छौं नि त्योचाहिँ चीनबाट आएको हो । यहाँ त्यतिकै त आएको थिएन । चीनको कनेक्सनबाट, हङकङको कनेक्सनबाट त्यो ठाउँबाट पहिला निस्केको हो । त्यो ठाउँमा उसलाई चाहिएको जस्तो वातावरण भयो त्यो त्यहानिर बसिरहेको थियो । चराहरूमा थियो, चराहरूमा जुन थियो त्यो मान्छेमा आयो र मान्छेमा आउँदा उसले आफूलाई अलिकति परिवर्तन गरेर आयो । त्यो ठाउँमा वातावरण सबै कुरा उसलाई मिलेर मान्छेमा आयो । हामीकहाँ त्यही मान्छेले यता ट्रान्सफर गर्न सक्छ वा कोही नेपालबाट त्यहाँ गएको छ भने उसले ल्याएको हुन सक्छ ।

मानिसको आवतजावत नहुँदा स्वतः बसेकै ठाउँमा हुने वा चराचुरुंगी, पशु, सुँगुरबाट सृजना हुने सम्भावना कतिको हुन्छ ?

हुन सक्छ, कसरी आयोे भनेर परीक्षण गराउन पठाउँदा हामीलाई थाहा हुन्छ । त्यहीे आधारमा हामीले भन्ने हो । एकदमै नयाँ चिजको टेस्ट गर्ने प्रोभिजन त हामीसँग छैन । त्यो चीनले गर्छ, अमेरिकाले गर्छ । इन्डियाले त सकेको छैन भनेपछि हाम्रो त त्यत्रो प्रविधि छैन । हामीसँग त जुन भइरहेको छ त्यो एलेकिट दिन्छ अनि हामीले त्यो अनुसार परीक्षण गर्ने हो । परीक्षण गर्दाखेरि मान्छेहरू अथवा पशुसँगको आउजाउ गर्नेसँग अलि बेसी देखिएको अहिले हामीले ल्याप परीक्षणबाट देखिएको कुराहरू यही भन्ने बुझ्नु पर्ने हुन्छ । हुनत जसलाई पनि हुन सक्छ । सुँगुरलाई हुन्छ, ज्याकललाई हुन्छ, वल्फ सबैलाई हुन सक्छ । तर, अब त्यो हरेकमा भएको फ्लुले चाहिँ आफूलाई यसरी बनाउँदै लाग्छ जसले गर्दा मानिसमा गएर पनि मल्टिप्लाइ गर्न सक्छ ।

यसको उपचारमा सर्वसाधारणको पहुँच कतिको छ ?

यसको उपचारमा पहुँच र नपहुँचको भन्ने कुरा त हुँदैन । यसमा कोही कोहीलाई अनुमानित १ प्रतिशतलाई एकदमै सिभिया निमोनिया हुन्छ । अरुलाई रुघाखोकी जस्तो मात्रै भएर पनि जान सक्छ । जुन १ प्रतिशतमा सिभिया निमोनिया भयो त्यो कसलाई हुन्छ भन्दा अलिकति कमजोर शरीर युमिनिटी पावर कम भएकाहरू, जस्तोः डायबिटिजका बिरामी र बच्चाहरूमा बढी हुुनसक्छ । त्यसो भनेर यो वयस्क मानिसमा पनि हुन सक्छ, नहुन सक्ने होइन । त्यो थोरै प्रतिशतमा सिभिया निमोनिया हुन्छ । त्यस्तोमा एक किसिमको कडा खालको एक किसिमको भाइरल निमोनिया हुन्छ । दुवैतिर छाती पूरै सेतो हुन्छ र अक्सिजन यति कम हुन्छ कि तिनीहरूलाई भेन्टिलेट गरेर त्यहाँ भेन्टिलेटर पनि राम्रोसँग गर्न जान्ने मान्छेको मान्छेको हातमा प¥यो भने मात्रै त्यस्तो बिरामीलाई बचाउन सकिन्छ, जस्तैः यो सिजनको अलि अगाडि एउटा ‘एच वान एन वान’ सिभिया भएर आएको मान्छेलाई यहाँ राखेर २१ दिनसम्म भेन्टिलेट गरेर राम्रो बनाएर डिस्चार्ज गरेका उदाहरण पनि छ ।  यस्तो सेन्टरमा आएर ऊ बाँचेर गयो, जस्तो पायो त्यस्तै सेन्टरमा गयो । एक त त्यो पेसेन्टलाई भेन्टिलेट गर्नु पर्छ भन्ने पनि नबुझ्ने र भेन्टिलेटरमै हालेर पनि भेन्टिलेट राम्रोसँग गर्न नजान्नेहरूको हातमा पर्‍यो भने बिरामीको ज्यान जाने बढी सम्भावना हुन्छ । 

फ्लुको उपचार कतिको महँगो छ ?

भेन्टिलेटरको खर्च मात्रै हो । महँगो छैन भन्दा पनि हुन्छ, जस्तैः हाम्रो काठमाडौं मेडिकल कलेज (केएमसी)मा ल्याएर भेन्टिलेट गर्‍यो भने त्यही भेन्टिलेटरको कस्ट त हो नि । यसलाई महँगो भन्नेमा जानै पर्दैन । फेरि सबैलाई भेन्टिलेटरमा राख्नु पर्छ भन्ने पनि छैन, जो सिभिया हुन्छ, त्यसलाई राख्ने हो । यही पेसेन्टलाई भनौं न यसो त कतिलाई गरेका छौं । कतिपय सिभिया निमोनिया लिएर आएका हुन्छिन् । फ्लु पोजिटिभ आइरहेको हुन्छ, के गर्ने हामीले माक्ससम्म नलगाएर उपचार गरेका छौं । हामीलाई सुरुसुरुमा थाहा नभएर हो, पछि त्यसको इफेक्टिभ पिरियड भन्छन् नि, त्यसको सात दिन अलि केही दिनपछि त अलि इफेक्टिन हुँदैन नि त त्यही भएर पछि मात्र भेटाएको छ ।

त्यसको सुरुमा अलि बढी सर्ने सम्भावना हुन्छ अनि सात दिनपछि अलि कम–कम हुँदै जान्छ हो ?

त्यो सर्ने पनि केमा भर पर्छ भने सिँगान, खकारबाट भाइरस निस्किरहेको समयमा बढी हुन्छ । जबसम्म त्यो भाइरस त्यहाँनिर एक्टिभ हुन्छ । जब त्यो निस्किरहेको हुँदैन भने अलि कम हुने नै भयो । त्यो एकदमै सिँगान, खकारबाट निस्किरेहको बेलामा त्यहाँ कसैले सास लियो भने सर्छ । कम निस्कने त्यस्ता हावामा भएको ठाउँबाट सास लियो भने त्यसपछि त्यो भाइसर कम हुँदै जान्छ । हाम्रो शरीरले पनि आफै फाइट गर्ने हुन्छ । त्यो भयो भने त्यसपछि सिँगानमा आउँदैन । सातदेखि दस दिनसम्म त्यो आउन छोड्छ, त्यसपछि कम हुन्छ ।

राज्य अथवा चिकित्सकले सावधानीका रूपमा यो–यो कुराहरू गर्नु पर्छ भन्ने केही त्यस्तो हुन्छ ?

फ्लुको सिजनमा हात धुने सबैभन्दा जरुरी कुरा हो । जहाँ पनि तपाईं बाहिर जानुस्, घर आउने बेलामा साबुन पानीले राम्रोसँग पूरा हातहरू औंठी सबै फुकालेर हात धुनुस् । त्यो भयो भने त्यो भाइरस त्यहाँ छ भने पनि त्यो गइहाल्छ । माक्स लगाएर हिँड्नुस् । माक्स लगाएको छ भने त माक्सले प्रोटेक्ट गर्छ नि त, माक्स पनि अलिकति राम्रो माक्स हुनु पर्‍यो । हावामा भएका भाइरसलाई फिल्टर गर्न सक्ने माक्स हुनु पर्‍यो । यस्तै, रुघाखोकी लागेको मान्छेलाई केयर गर्नेहरूले पनि घरीघरी हात धुनुपर्‍यो । आफूलाई माक्स लगाएर प्रोटेक्ट गर्नु पर्‍यो । 

त्यसो भए यसको उपचार सहज छ, अरु रोगजस्तो एकदमै उपचारै गर्न नसक्ने हुँदैन, तर, मान्छे कति प्रभावित छ त्यसको आधारमा मात्रै त्यसको निर्धारण हुन्छ ?

जब भाइरल निमोनिया भएर दुवैतिर छाती सेतो हुन्छ नि तब मात्रै उपचार जटिल हुने हो । त्योभन्दा अगाडि त आराम नै हो उपचार । मैले देखेकोे फ्लु भएको मान्छेमा त्यसमा फ्लु भइरहेको  छ । म काम गर्छु, म जागिर खान जान्छु भन्यो भने त्यो जटिल हुने सम्भावना एकदमै बढी हुन्छ । घरमै बस्छ, टन्नै झोल कुराहरू खान्छ, सिटामोल खान्छ, आराम गर्छ भने त्यो ४८ घण्टाभित्र बिस्तारै कम भएर जान्छ । फ्लु नै भएको भए पनि, ‘एच वान एन वान’ नै भए पनि मैले त नर्भिकमा बसेर यो गत सिजनमा २१ वटा गनेर ‘एच वान एन वान’ हेरेको छु । तर, तिनीहरु कुनै पनि सिरियस भएनन् । यदि चिकित्सकको सल्लाह प्रभावकारी रूपमा मान्नु पर्‍यो । त्यसरी रोग लागेको बेला धपेडी गरेको छ भने त्यो निमोनिया बढेर जान्छ । यो मैले आफैले देखेको छु । 

हामीलाई त्यसको जानकारी पनि हुन आवश्यक छ । फ्लु भयो भने पहिलो कुरा रेस्ट नै हो भन्ने कुरालाई ध्यान दियो भने कम गर्न सकिन्छ । तपाईंलाई रुघा लाग्यो अब त्यो फ्लु हो भनेर कसरी जान्ने त ? फ्लुमा उच्च ज्वरो आउँछ । १ सय १ डिग्रीदेखि माथि नै ज्वरो आउँछ । १ सय १ डिग्रीदेखि माथिलाई मात्रै मानिन्छ । जिउ बेस्सरी गल्ने, थाक्ने, पखाला पनि लाग्ने हुन सक्छ, कहिलेकाहीँ घाँटी दुख्छ  । यो सबै लक्षण देखिएको छ भने त्यो फ्लु नै हो भन्ने बुझ्नुस् । किनभने त्यो सिजनमा त्यो नै मानेको राम्रो हुन्छ । त्यो भयो भने तपाईं ४८ घण्टा मज्जाले आराम गर्नुस्, त्यो धेरै फैलिँदा पनि फैलिँदैन । तपाईंले घरभित्र बसेर आराम गर्नु भयो भने वातावरणमा पनि आउँदैन । घरमा उसको हेरचाह गर्नेले पनि माक्स लगाउने, हात राम्ररी धुने सबै कुरामा प्रोटेक्सन गरे त्यो फैलिन पाउँदैन । वातावरणबाट त्यो जोगियो । तर, तपाईँ वातावरणमा पनि जानु हुन्छ, काम गर्न पनि जानु हुन्छ, खोकी रहनुभएको छ, आराम गर्नु हुन्न, ज्वरो घटाउने औषधी खानु हुन्न भने अवस्था गम्भीर हुन थाल्छ ।

फ्लु पत्ता लगाउने पनि हामीसँग आफ्नै विधि पनि छन् । त्यतिखेर भएन भने मात्रै अस्पताल जाने कुरा भयो ?

आफ्नै विधिभन्दा पनि लक्षण र परीक्षणबाट हो, जस्तैः हाइ फिवर भयो, जिउ दुख्ने, रुघाखोकी, घाँटी दुख्ने भयो भने त्यसलाई फ्लु नै मान्नुस् भन्छु म त । त्यो मान्नु भयो भने सबभन्दा सहज हुन्छ । बिरामीलाई पनि सहज हुन्छ, वातावरणलाई पनि सहज हुन्छ, अरुलाई सर्नबाट पनि बचिन्छ । तपाईंले बाहिर फैलाउँदै जानु भयो भने त्यो पूरै समुदायमै फैलिन्छ । 

जनचेतनाको हिसाबले आम नागरिकलाई दिनु पर्ने सन्देश केचाहिँ भयो भने उपयुक्त होला जस्तो लाग्छ ?

एउटा त रुघाखोकी आएको छ भने सामान्य रूपमा नलिनुस् । रुघाखोकी लागेको छ, घाँटी दुखेको छ, ज्वरो १ सय भन्दा बढी छ भने त्यसलाई फ्लु नै मान्नुस् । फ्लु भनेर स्वाइनफ्लु भयो भनेर डराउनु पर्ने छैन । स्वाइन फ्लु भएको २००९ देखि अहिलेसम्म ९ वर्ष भइसक्यो, त्यो त्यस्तो डराउनु पर्ने छैन । त्यो सिजनमा स्वाइन फ्लु नै आएको छ कि अर्को नयाँ फ्लु आएको भन्ने कुरा आउँछ । त्यही भएर त्यसलाई अलिकति गम्भीर रूपमा लिएर आफूलाई फ्लूू भएको छ भने रेस्ट गर्ने, झोलयुक्त खानेकुरा पर्याप्त मात्रामा खाने, रुघाको लागि औषधी खाने र घरमै बस्ने गर्नु पर्छ । अलिअलि स्याँस्याँ जब बढ्न थाल्छ भने तपाईं घरमा नबस्नुस् अब अस्पताल जानु पर्ने भयो भन्ने कुरा बुझ्नुस् । अर्को के गल्ती हुन्छ भने स्वाँस्वाँ आइरहेको हुन्छ, त्यसलाई बेवास्ता गरेर घरमै बसिदिन्छन् । रुघाखोकी त हो भनेर अनि जब आउँछन्, दुवैतिरको निमोनिया सेतोलग लिएर अनि अन्तिम अवस्थामा अस्पताल आउँछन् । त्यो भएपछि त्यसको विकल्प कुनै नकुनै माक्स लगाएर त्यसमा प्रेसर दिएर अक्सिजन पुर्‍याउनु पर्ने हुन्छ । त्यो दुई थरीबाट गर्न सकिन्छ । एउटा माक्समात्रै लगाएर भेन्टिलेसन गर्ने र ट्युब हालेरै भेन्टिलेट गर्नु पर्ने हुन्छ । धेरै नै फैलिएको छ भने ट्युब हालेरै भेन्टिलेट गर्नु पर्ने हुन्छ । 

यो जुन भाइरसको कुरा हामीले गर्‍यौ, पहिल्यै रुघा लाग्यो अथवा यो तीन–चार वटा कुरा भयो भने फ्लु हो भनेर बुझ्नु पर्छ भनेर तर अहिलेसम्म हामी आम नेपालीको चलन के छ भने अन्तिम अवस्था नआउँदासम्म अस्पताल नजाने, यसलाई म मिचिहाल्छु भनेर पेल्ने काम गर्छन् नि ?

त्यो पनि कस्तो छ भने अलिकति अशिक्षित, अलिकति आर्थिक स्थिति कमजोर भएका मान्छेमा त्यो प्रवृति अलि बढी छ । अलिकति आर्थिक अवस्था राम्रो भएका मान्छेहरू त अलिकति हाच्छुयुँ बढी आउन थाल्यो भने अस्पताल आइहाल्छन् । ती नआउनेको लागि अलिकति बढी चासो दिएर हेर्नु पर्ने हुन्छ । 

त्यसका लागि राज्यले के गर्नु पर्छ ?

डाइरेक्टली जस्तो ट्युबक्लोसिस जस्तो गरेर एकदम ठूलै प्रोजेक्ट चलाउन जरुरी छैन । तर, कुनै खास फ्लुको सिजन आयो भने रेडियोमार्फत् सन्देश दिने । यसरी फ्लुको सिजन आएको छ । हात धुन एकदमै जरुरी छ, माक्स लगाउन एकदमै जरुरी छ, भीडभाडमा जाँदा झनै सचेत हुनु जरुरी छ । त्यस्तो रुघाखोकी लागेको मान्छे छ भने त्यसलाई अलि सचेत गराइदिन जरुरी छ । हात राम्र्ररी धुनु भयो भने धेरै हदसम्म त्यसलाई फैलिनबाट रोक्न सकिन्छ । त्यही भएर सबैलाई हात धुने बानीबारे जनचेतना दिने र रुघाखोकीको यो–यो लक्षण भयो भने अस्पताल जान पर्छ भनेर जनस्वास्थ्यले नै प्रचारप्रसार गर्‍यो भने यसलाई कम गर्न सकिन्छ । 

अर्को एउटा कुरा भ्याक्सिन छ । यो भ्याक्सिन जुनसुकै लेबलको मान्छेले पनि हरेक वर्ष लगाउन सक्छ भन्ने छैन । मैले यहाँलाई भनिसके त्यो भाइरस यति बदमास छ कि हरेक वर्ष त्यसले आफूलाई कुनै न कुनै हिसावले परिवर्तन गर्छ । त्यसैले हरेक वर्षको लागि भिन्नाभिन्नै भ्याक्सिन लगाउनु पर्छ,  जुन अहिलेको १९/२० को भ्याक्सिन बन्छ नि ।  त्यसलाई हामीले ट्राइभ्यालेन्ट भ्याक्सिन भन्छौं । त्यसले इन्फ्लुएन्जा ‘ए’लाई पनि कबर गर्छ, ‘बी’लाई पनि कबर गर्छ, स्वाइनफ्लु यी सबैलाई मिलाएर बनाएको छ  । त्यो सबैको पहुँचमा त छैन । सरकारले यसको लागि केही गर्नुपर्ने हुन्छ । यो फ्लुलाई रोक्नको लागि सहयोग गर्ने हो भने हरेक ठाउँमा सरकारमार्फत् जस्तो अरु भ्याक्सिन लगाइदिन्छ, त्यसैगरि उपलब्ध गराइदिनुपर्‍यो । अमेरिकातिर सबैलाई यो अनिवार्य छ । रोगको प्रतिरोधात्मक क्षमता अथवा त्यो रोगले ठूलै खालको क्षति नगरोस् भनेर त्यो भ्याक्सिन दिने हो । यसबाट पनि फ्लुु न्यूनीकरण गर्न सकिन्छ । हामीकहाँ त्यो पनि आवश्यक छ । यो सबै भयो भने फ्लुबाट ठूलै जिउधनै जानेगरि क्षति हुनबाट रोकथाम गर्न सकिन्छ । एकथरी बिरामी आउँछन् नि जसले मलाई फ्लु भएको थियो । मैले हरेक वर्षजस्तो हामीले सिओपिडी, डायबिटिज भन्ने रोगमा यो भ्याक्सिन हरेक वर्ष लगाउन दिन्छौं । 

भइहाल्यो भने पनि कडा नहोस् भनेर अनि उनीहरूले त्यस्तो हुँदाहुँदै कहिलेकाहीँ रुघा मात्रै लाग्यो भने पनि डाक्टरसा’बले रुघाखोकी नलाग्ने सुई भन्नुभएको थियो । मलाई फेरि लाग्यो भनेर आउँछन् । त्यो लागेर आए पनि केही हुँदैन, त्यो अलि मथ्थर भएर आउँछ । त्यही इन्फ्लुएन्जाले रुघा मात्रै लाग्ने होइन नि त । अरु पनि भाइरसले पनि हुन्छ । तर, त्यही पर्टिकुलरको लागि निकै हदसम्म त्यसले मथ्थर बनाउँछ ।