एकदिवसीय क्रिकेटमा कोहलीको कीर्तिमान, सचिनलाई उछिने

एकदिवसीय क्रिकेटमा कोहलीको कीर्तिमान, सचिनलाई उछिने
पाकिस्तानविरुद्ध सट हान्ने प्रयासमा भारतका कप्तान विराट कोहली र विकेटकिपिङ गर्दै पाकिस्तानका कप्तान सरफराज अहमद । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १, २०७६

काठमाडौं । भारतका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन बनाउने कीर्तिमान कायम गरेका छन् । उनले २२२ औं इनिङमा उनले यो कोशेढुंगा पार गरेका हुन् ।

आइतबार पाकिस्तानविरुद्धको खेलअघि उनलाई ११ हजार रन बनाउन ५७ रन आवश्यक थियो । उनी ७१ रनमा खेलिरहँदा वर्षाले खेल अवरुद्ध भएको छ ।

यसअघि यो कीर्तिमान भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलरको नाममा थियो । उनले २७६ इनिङमा यो कीर्तिमान कायम गरेका थिए ।

भारतीय टेलिभिजन च्यानल स्टार स्पोटर्सका रिपोर्टर सरंग भालेराओका अनुसार सबैभन्दा छिटो ११ हजार रन पूरा गर्नेको सूचीमा अस्ट्रेलियाका पूर्वक्रिकेटर रिकी पोन्टिङ, भारतका पूर्वक्रिकेटर सौरभ गांगुली र दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर ज्याक कालिस क्रमशः तेस्रो, चौथो र पाँचौं नम्बरमा छन् ।

पोन्टिङले २८६, गांगुलीले २८८ र कालिसले २९३ इनिङमा ११ हजार रन पूरा गरेका थिए ।