एकदिवसीय विश्वकपमा भारतको पाकिस्तानसँग अपराजित यात्रा कायमै, पाकिस्तान सातौ पटक पराजित

एकदिवसीय विश्वकपमा भारतको पाकिस्तानसँग अपराजित यात्रा कायमै, पाकिस्तान सातौ पटक पराजित
पुल सट प्रहार गर्दै भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २, २०७६

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानसँगको अपराजित यात्रा कायम गरेको छ ।

इग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गतको आइतबार राती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गर्यो । यो एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि पाएको सातौं जित हो ।

वर्षाले खेल बिथोलिएपछि डकवर्थ लुइस नियमका आधारमा ४० ओभरमा ३०१ रनको लक्ष्य पाएको पाकिस्तान २१२ रनमै समेटियो । पाकिस्तानका लागि फकर जमानले सर्वाधिक ६२ रन जोडे । ७५ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । यस्तै, बाबर आजमले ४८ रन जोड्दा कप्तान सर्फराज अहमदले १२ रन बनाए । इमाद वसिम र सादव खान क्रमशः ४६ र २० रनमा अभिजित रहे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

भारतका लागि कुलदीप यादव, हार्दिक पाण्ड्या र विजय शंकरले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रनको विशाल स्कोर खडा गरेको थियो । टिमका लागि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले सर्वाधिक १४० रन जोडे । ११३ बल खेलेका शर्माले आफ्नो पारीमा १४ चौका र ३ छक्का प्रहार गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ५७ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, कप्तान विराट कोहलीले ७७ रन जोडे । ६५ बल खेलेका उनले आफ्नो पारीमा ७ चौका प्रहार गरे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका अलराउन्डर हार्दिक पाण्ड्याले १९ बलमा २६ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । विजय शंकर १५ र केदार जाधव ९ रनमा अभिजित रहे ।

पाकिस्तानका मोहम्मद आमिरले ३ तथा हसन अली र वाहब रियाजले समान १ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच रोहित शर्मा घोषित भए ।