‘धर्म, कला र विज्ञान एकै वृक्षका हाँगा हुन्’

‘धर्म, कला र विज्ञान एकै वृक्षका हाँगा हुन्’

किरण भण्डारी  |  जीवनदर्शन  |  असार २, २०७६

हामीलाई आफ्नो शरीरबारे पर्याप्त ज्ञान छैन । यत्रो ब्रह्माण्डको के कुरा । हामी पृथ्वीभित्र छौं । पृथ्वी सौरमण्डलभित्र छ । सौरमण्डल ‘मिल्की वे’ आकाशगङ्गाभित्र छ । यसभित्र १० हजार करोड तारा र ग्रह छन् । ५४ आकाशगङ्गाको १ ‘क्लस्टर’ छ । यसदेखि बाहिर ‘भर्गो सुपर क्लस्टर’ छ । यसभन्दा बाहिर ‘लियानिका सुपर क्लस्टर’ छ । यसमा मिल्की वे आकाशगङ्गा जस्ता १ लाख अरु आकाशगङ्गा छन् । यो आजसम्म खगोलले पत्ता लगाएको हाम्रो ‘अब्जरेबल युनिवर्स’ हो । यसभन्दा बाहिर के छ अझै पत्ता लाग्न सकेको छैन । कतिपयले ‘मल्टिवर्स’को कुरा गरेका छन् । यसभित्र अरु कति ब्रह्माण्डहरू होलान् ? हामी कल्पना पनि गर्न सक्दैनौं । यस्तो अद्भूत ब्रह्माण्ड कहिले बन्यो ? यो आफै बन्यो कि कसैले बनायो ? हामी अनुत्तरित छौं । विज्ञानले हामीलाई टुङ्गोमा पुर्‍याउन सकेको छैन । धर्मशास्त्र र ईश्वरको टुङ्गो छैन । 

मसँग भव, भाग्य र भगवानबारे अनेक जिज्ञासा छन् । के साँच्चि नै भगवान्को अस्तित्व छ त ? के यो भव उनैले रचेका हुन् ? के हाम्रो भाग्य उनैले लेख्छन् ? के हामी उनैको सृष्टि हौं ? यस्ता प्रश्न अझै कति छन् कति । अज्ञानताले छोपेको बेला म भगवान्मा विश्वास गर्छु र कट्टर अध्यात्मवादी हन्छु । तर्कले जितेको बेला म विज्ञानमा विश्वास गर्छु र कट्टर भौतिकवादी हुन्छु । कहिलेकाहीँ यी सबैलाई मिथ्या ठान्छु । फेरि कसैले चसक्क चिमोटिदिन्छ अनि म कुनै विचारकको वा कुनै दार्शनिकको एउटा विचार सापटीमा बोलिदिन्छु । आखिर मसँग त के नै पो छ र आफ्नो मौलिक भन्नु ! 

वेद महान् कि बाइबल ? विज्ञान महान् कि विश्वास ? सदियौदेखि हामीले कुनै एउटा विचारलाई महान् बनाउन एकअर्काबीच कित्ताकाट गर्‍यौं । धर्मले जोड्ने सिकाउँछ, टुट्न होइन । यिनै सन्दर्भमा सघन हार्दिकता र करुणाको प्रस्तुत जापानी किस्सा सर्वथा मननयोग्य होला ।

मानिसले जे–जति सिक्छ ‘पर’बाट सिक्छ । जीवन र जगत्बाट सिक्छ । सबै ज्ञान सापटी नै त रहेछन् नि जगत्प्रदत्त निःसृत चेतनाको, ‘पर’ बोधको । अनि दुनियाँमा मौलिक के नै पो रह्यो र ? कसैले ‘तेरो आफ्नो कुरा बोल्’ भन्यो भने मसँग केही छैन शून्यसिवाय । त्यसैले त ब्लुमको ‘एन्जाइटी अफ् इन्फ्लुएन्स’ को असर ममा रहँदै रहेन । 

जर्मनीका महान् दार्शनिक फ्रेडरिक दिउँसै हातमा बत्ती लिएर ईश्वर खोज्न निस्किएका थिए । केही नभेट्टाएपछि उनले बीच सहरबाट उद्घोष गरे, ‘ईश्वर मरिसके ।’ पछाडि फ्रान्सका अर्का विख्यात दार्शनिक जाँ पाल सात्र्रले नित्सेका विचारको खण्डन गर्दै अर्को उद्घोष गरे, ‘नित्से गलत थिए किनभने र्ईश्वर जन्मिएकै थिएनन्, नजन्मिएका ईश्वर मर्दै मर्दैनन् ।’ कतिले ईश्वर छन् भने, कतिले छैनन् भने । पाइथागोरसल छ भने, सोपेनहावरले छैन भने । जेनोफेनिजले छ भने, एपिक्युरसले छैन भने । बु्रनोले छ भने, रसेलले छैन भने । देकार्तेले छ भने, डिमोक्रिटसले छैन भने । व्यासले छ  भने, बुद्धले छैन भने । अघि संसारभरका धेरै द्रष्टाले यसैगरी अने विषयमा अनेक सत्य बोलेर गए । तर, कोही कसैले सिङ्गो लोकको निरपेक्ष सत्य नबोली नै गए । 

समयसँगै हाम्रा सत्यहरू क्रमः भत्किन थालेका छन् । आजकल यो खण्ड–खण्डमा प्रतीत हुन्छ । त्यसैले त कसैले ईश्वर छन् भन्यो भने उसको सत्य । कसैले छैनन् भन्यो भने पनि उसको सत्य । म कसैको पौत्र– एउटा सत्य । म कसैको पुत्र– दोस्रो सत्य । म कसैको पिता–तेस्रो सत्य । म कसैको पति– चौथो सत्य । तेस्रो पुरुषको दृष्टिकोणमा ‘म’ सत्य अनेक सत्यमा खण्डित हुँदै जान्छ– त्यो पनि सत्य । यी सबै सत्याभासका अंश मानिस आफैले रचेका फरक सत्य न हुन् । तर, जब ‘म’ सत्य (निरपेक्ष ?) को सत्ता नै रहँदैन भने तेस्रो पुरुषको एउटा पनि सत्य नरहेरहेछ जसरी निरपेक्ष सत्यको सत्ता नहुनेबित्तिकै संसारमा कुनै सत्य बाँकी रहँदैनन् । त्यसैले कमसेकम दृष्टिका सन्दर्भमा निरपेष सत्य छैन भन्नु फेरि मिथ्या सत्यसिद्ध हुनु मात्र होला । अनि त ऋग्वेद सत्यको उद्बोधन यसरी गर्छः
एकं सद् विप्राः बहुधा वदन्ति ।

अर्थात्, सत्य एउटै हुन्छ, विद्वान्हरु धेरै नामले पुकार्छन् । सृष्टिबारे लोकमा अनेक सत्य स्वीकारिएका छन् । एउटा हिन्दूले स्वीकारेजस्तो । एउटा इसाई वा भौतिकवादीले स्वीकारेजस्तो । सृष्टि प्रपञ्चको मूल कारण ईश्वर कि परमाणु ? अध्यात्म कि विज्ञान ? ‘विश्वास’बाहेक हामीसँग कुनै अकाट्य प्रमाण छैन । तर, यी दुवै बीचका अनेक समानता भने कम्ता रोचक छैनन् । ईश्वरका तीन अंश ब्रह्मा, विष्णु र महेश्वर, परमेश्वरका तीन अस्तित्व पिता, पुत्र र पवित्रआत्मा, परमाणुका तीन उपपारमाणविक कण इलेक्ट्रोन, न्युट्रोन र प्रोटोन एउटै सत्यका द्योतकजस्ता प्रतीत हुन्छन् । आध्यात्मिक दृष्टिले हेर्दा परमाणु नै ईश्वरको रूपजस्तो । विज्ञानका दृष्टिले हेर्दा ईश्वर नै परमाणुको रूप । बिल्कुल माया जस्तै । ‘क्वान्टा’ जस्तै । यो साधम्र्य सत्यसमीप पुग्ने सोपानमात्र होला । यदि यी तीन अस्तित्वलाई निषेध गर्ने हो भने जगत् निर्माणको व्याख्या पुष्टि हुनै सक्दैन चाहे त्यो अध्यात्मवादको सत्यान्वेषण होस् वा भौतिकवादको । 

विज्ञान र अध्यात्मलाई मिहिन गरी हेर्‍यो भने त्यस्ता अनेकन समानता भेट्टिन्छन् । पृथ्वी, जलवायु, किटपतङ्ग, जनावर र मानिसको क्रमबद्ध उत्पत्तिका कुरा । स्वर्ग र नरकका कुरा । भूमि र प्रारम्भिक खेती प्रणालीका कुरा । प्रलय र जीव संहारका कुरा । यस्ता अनेकौँ समानताका किस्सा छन् धर्मशास्त्रभित्र । विज्ञानभित्र । गीता च्यापेर हिँडे पनि, बाइबल र विकासवाद च्यापेर हिँडे पनि हाम्रो गन्तव्य एकै लाग्छ । केवल अज्ञानता र हठले हामी महान् भुलभुलैयामा छौँ । सत्य त अद्वैत छ । त्यही अन्तिम सत्य होला । तर, ग्रिसेली सोफिस्त स्कुलका दार्शनिक जर्जियस अन्तिम सत्यप्रति सन्देह गर्छन् । सत्य नै छैन, भए पनि बुझ्न सकिँदैन, बुझे पनि व्यक्त गर्न सकिँदैन । जैन दर्शन पनि हो मा हो मिलाउँछ । अन्तिम सत्यविना व्याख्याको हुन्छ । त्योविना शब्दको हुन्छ । अव्यक्त, मौन, बोध, शून्य वा निरालामात्र । परन्तु सत्य त्यति मात्र पनि त होइन होला । हामीले मीमांसा गर्दै आएको ‘अन्तिम सत्य’ मानिस आफैभन्दा बाहेक अर्थोक होइन । हामी नै अन्तिम सत्य हौँ । धर्मका नाममा हुने सबैखाले विभाजन अन्तिम होइन । धर्म र वैज्ञानिक आविष्कार हाम्रा रचना हुन् । दुवै हामीभन्दा माथि हुनुहुँदैन । फेरि हामीबीच यो केको विभाजन ? जगत् रचनाको सबै मीमांसा हे¥यो भने धर्म र विज्ञान उस्तै लाग्छ । उत्पत्तिबारे भएका दुवैको तर्क र दर्शन उस्तै लाग्छ । त्यसैले अध्यात्मवादीले पदार्थलाई र भौतिकवादीले ईश्वरलाई मिथ्या (?) वा असत् (?) अवबोध गरे पनि प्रकारान्तरमा ‘मानवता’ नै गौण हुन्छ भने दुवै हुनुमा तात्त्विक अन्तर छैन । 

वेद महान् कि बाइबल ? विज्ञान महान् कि विश्वास ? सदियौदेखि हामीले कुनै एउटा विचारलाई महान् बनाउन एकअर्काबीच कित्ताकाट गर्‍यौं । धर्मले जोड्ने सिकाउँछ, टुट्न होइन । यिनै सन्दर्भमा सघन हार्दिकता र करुणाको प्रस्तुत जापानी किस्सा सर्वथा मननयोग्य होला ।

जापानमा क्रिस्चियनको सङ्ख्या कुल जनसङ्ख्याको एक प्रतिशत अर्थात् सरदर १३ लाखमात्र छ । यहाँको बहुसङ्ख्यक मानिस ‘सिन्तो’ ‘बौद्ध’ धर्म मान्छन् । प्रारम्भमा सिन्तोलाई राजधर्मका रूपमा मानिन्थ्यो । यो जापानको सबैभन्दा प्राचीन र मौलिक धर्म हो । सिन्तो धर्म मूलतः प्रकृतिपूजासँग निकट लाग्छ । धार्मिक सहिष्णुताको अनुपम अभ्यास गरिरहेका जापानीहरू सिन्तो परम्परा अनुसार जन्म संस्कार, क्रिष्चियन परम्पराअनुसार विवाह र बौद्ध परम्पराअनुसार मृत्यु संस्कार सम्पन्न गर्छन् । विरलै देशमा यस्तो सुन्दर सांस्कृतिक प्रयोग होला । हामीकहाँ यस्तो हार्दिकता कहिले आउँला ? क्रिसमस इसाईहरूको चाड हो । तर सबै जापानी क्रिसमसमा समेत ‘केक’ काटेर उल्लासले नाच्छन् । यस लोकमा निष्ठा, सदाचार र हार्दिकताले ओतप्रोत कुनै सकल जीव छन् भने ती जापानी नै होलान् । तमाम जापानीप्रति मेरो शिर श्रद्धाले झुक्छ । 

धर्म र विज्ञान साध्य होइनन् । यी हाम्रा साधनमात्र हुन् । हामीभन्दा माथि न वेद छ, न त बाइबल र विज्ञान । बरु तीप्रति हामी कृतज्ञ हुनुपर्छ होला । वेद–वेदान्तले आफूलाई चिन्न सिकाउँछ । बाइबलले भाइचारा र प्रेम सिकाउँछ । विज्ञानले सत्य अन्वेषण गर्न सिकाउँछ । महान् आइन्सटाइनले कुन सन्दर्भमा भनेका थिए थाहा भएन । तर, मसँग पनि उस्तै विश्वास छ, ‘सबै धर्म, कला र विज्ञान एकै वृक्षका हाँगा हुन् ।’ 

(किरण भण्डारीकाे हालै प्रकाशित 'उत्पत्ति' पुस्तकबाट)