भारतमा लु लागेर १८४ को मृत्यु

भारतमा लु लागेर १८४ को मृत्यु
भारतको विहारस्थित एक अस्पतालमा भर्ना भएका बिरामी । तस्बिर : दैनिक जागरण डट कम ।

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २, २०७६

पटना । भारतको विहारमा पछिल्लो दुई दिनमा लु लागेर ११३ जनाले ज्यान गुमाएका छन् । आपदा प्रबन्धन विभागका अनुसार विहारमा अहिलेसम्म यसबाट ज्यान गुमाउनेको संख्या १८४ पुगेको छ, जसमा सबैभन्दा बढी औरंगावाद जिल्लाका छन् ।

लु चलेपछि यहाँका अस्पतालमा बिरामीको संख्या बढेको छ । कतिपयले त अस्पतालमै ज्यानसमेत गुमाएका छन् ।  

बढ्दो गर्मीसँगै त्यहाँको प्रशासनले धारा १४४ लागू गरेको छ । यसअनुसार यहाँका मानिसले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म घरमै बस्नुपर्नेछ । यस्तै, उक्त समयमा निर्माण कार्य तथा खुला स्थानमा कार्यक्रम गर्न पनि रोक लगाइएको छ ।

मौसम सामान्य नहुञ्जेल यो धारा लागू हुने प्रशासनले जनाएको खबर भारतीय अनलाइन पोर्टल दैनिक जागरण डट कममा छ ।