प्रहरी हाकिमको सक्रियतामा चेपाङ बालबालिकालाई खाजा र पोसाक

प्रहरी हाकिमको सक्रियतामा चेपाङ बालबालिकालाई खाजा र पोसाक

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार ३, २०७६

चितवन । इच्छाकामना गाउँपालिका–६ मा रहेको श्री देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलाका चेपाङ विद्यार्थीलई एक वर्षका लागि खाजा र पोशाक सहयोग प्राप्त भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रहरी नायब निरीक्षक कृष्णज्यू ठकुरीको सक्रियतामा सहयोग सङ्कलन गरी सोमबार हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अफ बालकुमारी नारायणगढका अध्यक्ष बालगोपाल चुके, रोट्र्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाको आर्थिक सहयोगमा विद्यार्थीलाई खाद्यान्नदेखि पोशाक सहयोग गरिएको हो । 

विद्यालयकी प्राधानाध्यापक ज्ञानु पाण्डेले उक्त विद्यालयमा १२० चेपाङ विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।

गरीबीका कारण यहाँका चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो भएको उहाँको भनाइ थियो । खाजाको व्यवस्था हुने भएपछि बालबालिका नियमित हुने प्रधानाध्यापक पाण्डेले विश्वास व्यक्त गर्नुभयो । सो क्रममा बोल्दै समाजसेवी चुकेले चेपाङ बालबालिकालाई यो सहयोगले अध्ययनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा पनि यो सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनलका भाइस डिस्ट्रिक गभर्नर रामप्रसाद भट्टले सो विद्यालयबाट उर्तीण हुने चार विद्यार्थीलाई भरतपुरमा निःशुल्क अध्यापन गराउने प्रतिबद्धता जनाउनुभएको प्रधानाध्यापक पाण्डेले जानकारी दिनुभयो । 

यसैबीच सोही अवसरमा निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको छ । हर्ट फण्ड नेपालको प्राविधिक सहयोगमा मुटुरोग विशेषज्ञ डा कौशल तिवारीले ३५ विद्यार्थी र २३ अभिभावकको मुट परीक्षण गर्नुभएको थियो । 

प्रहरी नायब निरीक्षक ठकुरी ड्युटीको क्रममा यस विद्यालयमा आइपुग्नुभएको थियो । सोही अवसरमा प्रअ पाण्डेले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनभएको थियो ।

प्राधानाध्यापक पाण्डेले विद्यालय र विद्यार्थीको बारेमा जानकारी गराएपछि ट्राफिक प्रहरी ठकुरी आफैँ सहयोग सङ्कलनमा जुट्नुभएको थियो ।

खाजा र नयाँ कपडा पाएपछि बालबालिका खुशी भएका छन् । 
–––