पशुलाई झारफुक गर्ने ठाउँमा पशु विज्ञानको पढाइ

पशुलाई झारफुक गर्ने ठाउँमा पशु विज्ञानको पढाइ

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार ३, २०७६


दाङ । सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो । 

राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका सल्लाहकार जीवन गौतम र प्रदेश नं ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्राविधिक शिक्षाको उद्घाटन गर्नुभएको हो । 

त्यस अवसरमा सल्लाहकार शर्माले सरकारले एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुरुप राजपुरमा प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको बताउनुभयो । यस वर्षदेखि कक्षा ९ बाट पशु प्राविधिक शुरु भएको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर चौधरीले बताउनुभयो । यसलाई वर्षेनी निरन्तरता दिँदै कक्षा १२ सम्म पशु विज्ञान पढाउने उहाँको भनाइ छ ।
 
उक्त विद्यायल गाउँपालिकाको एक मात्रै १०ं२ सञ्चालन गर्ने विद्यालय भएकाले उक्त विद्यालयमा पशु विज्ञान पढाइ शुरु हुनु समग्र राजपुरका लागि ठूलो सफलता भएको समेत उहाँको भनाइ छ । ' यस गाउँपालिकामा अहिलेसम्म एउटा पनि प्राविधिक शिक्षालय थिएनन्' , उहाँले भन्नुभयो, ' तर अहिले हामीले सञ्चालनमा ल्याएका छौँ, यो राजपुर गाउँपालिकाका लागि ठूलो सफलताको विषय हो ।'   

प्राविधिक शिक्षा सञ्चालनमा आएपछि विद्यार्थी पनि खुशी भएका छन् । “यसअघि प्राविधिक शिक्षा पढ्नका लागि कि त लमही कि घोराही जानुपथ्र्यो”,’ छात्र सञ्वत यादवले भन्नुभयो, ' अब भने गाउँमै प्राविधिक शिक्षा पढ्न पाइने भयो ।'  शुरुआतमा  ३६ छात्र र १९ छात्रा गरी ४५ ले पशु विज्ञान अध्ययन गर्न पाउने विद्यालयकी प्राविधिक संयोजक सन्तोषी चौधरीले बताउनुभयो । विसं २०६७ मा उक्त विद्यालयले १०ं२ सञ्चालनमा ल्याएको थियो ।
 
त्यस अवसरमा प्रदेशसभा सदस्य शर्माले उक्त प्राविधिक शिक्षाको विकासका लागि प्रदेशबाट पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो । 

‘पशुलाई झारफुक गरिन्छ’

राजपुर गाउँपालिकामा यादव र चौधरी समुदायको बाहुल्य छ । यहाँ प्रत्येक घरमा दुईदेखि ५०/६० सम्म भैँसीपालन गर्ने गरिन्छ । सोही क्षेत्र भैँसीपालनका लागि पनि पकेट क्षेत्र मानिन्छ । तर कुनै कारणवश भैँसी बिरामी परेमा भैँसीलाई झारफुक गर्ने चलन छ । केही महीनाअघि मात्रै राजपुरमा भैँसीमा भ्यागुते रोग देखियो ।

त्यतिबेला पनि झारफुककै भरपर्दा त्यहाँका करीब ३० भैँसी मरेका थिए । ' भैँसीमा भ्यागुते रहेछ, यहाँका नागरिकले रोग देखापरेपछि झारफुक गर्न थाले'  स्थानीय बुद्धिजीवी बिन्तुराम यादवले भन्नुभयो, “त्यसैले ३० भन्दा बढी भैँसी मरे । ' यहाँ पशु प्राविधिकसम्बन्धी ज्ञान नहुँदा पशुमा जुनकुनै रोग लाग्दा पनि यसरी नै झारफुक गर्ने गरेको उहाँको भनाइ थियो । तर अब पशु विज्ञान सञ्चालनमा आएपछि भने यो समस्या अन्त्य हुने उहाँको विश्वास थियो । 

पशु बिरामी परे पनि त्यसका लागि कि त गढवाबजार कि लमही बजार जानुपर्ने अवस्था छ, यसले गर्दा पनि समस्या हुने गरेको सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीले बताउनुभयो । ' नजिकमा पशु प्राविधिक हुँदैनथिए' , उहाँले भन्नुभयो, “त्यसैले यहाँका किसान झारफुकमा भर पर्ने गरेका थिए ।” राजपुरमा उत्पादन भएको दूध दाङको लमही, घोराही, तुलसीपुर, भालुवाङलगायतका बजारमा जाने गरेको छ ।