बल, खनाल, चापागाईं र दुलाल पुरस्कृत

बल,  खनाल, चापागाईं र  दुलाल पुरस्कृत

रासस  |  साहित्य  |  असार ४, २०७६

काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव, २०७५ का पुरस्कृत कविलाई आज शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले कविले नेपाल राष्ट्र र नेपाली जनताका भावनालाई आत्मसात् गरी अनमोल कविता लेख्नु खुशीको विषय भएको व्यक्त गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो, 'कविले विविध भाव, विचार, प्रकृति र संस्कृतिका साथै सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिनु गौरवको विषय हो ।साहित्यिक पर्यटनका माध्यमबाट मुलुकलाई साहित्यकारले योगदानसमेत दिन सक्नेछन् । '

 समारोहमा विसं २०७५ को कविता महोत्सवमा प्रथम हुने फूलमान बल, दोस्रो सुनिता खनाल र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाललाई पुरस्कृत गरियो ।

तृतीय हुने अर्का कवि जीवन खत्री उपस्थित हुनुभएको थिएन । यसैगरी विसं २०७२ का प्रथम र दोस्रो हुने कवि क्रमशः प्रोल्लास सिन्धुलीय र सरस्वती राईको बाँकी पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत कविले आफ्ना कविता वाचन गर्नुभएको थियो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविलाई सिर्जनामा उत्प्रेरित गर्ने उद्देश्यले विसं २०२२ देखि कविता महोत्सवको आयोजना गरिएको बताउँदै प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सम्बन्ध विकास गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित र देशव्यापी बनाउने बताउनुभयो भने काव्य विभागका प्रमुख प्रा.  डा.  हेमनाथ पौडेलले यही २०७६असार ९ गते हुने कविता महोत्सवको छनोटमा वाचनका लागि अलग्गै १० पूर्णाङ्क तय गरिएको जानकारी  समेत दिनुभएकाे  थियाे ।