साक्षरताः विगतकै जस्तो लर्बराउने कदमले सगरमाथा चुम्न सकिंदैन

साक्षरताः विगतकै जस्तो लर्बराउने कदमले सगरमाथा चुम्न सकिंदैन

डा. सदानन्द कडेल  |  दृष्टिकोण  |  असार ४, २०७६

जिज्ञासु भएर सिक्न खोज्ने, अध्ययन गर्ने, खोजी गर्ने र आविष्कार गर्नेमा मानवले नै श्रेष्ठता हासिल गरेको छ । यद्यपि अन्य जीव तथा पशुपन्छीमा पनि सिकाइको प्रक्रियाले निरन्तरता पाइरहेकै हुन्छ । एरिस्टोटलले भनेका छन्, ‘मानव जाति स्वभावैले जान्न इच्छुक हुन्छ ।’ 

उनको यो भनाइ आज पनि अत्यन्तै सान्दर्भिक छ । व्यक्तिको सिकाइ प्रक्रिया बाल्यावस्था, किशोरावस्था र युवावस्थामा पूर्व प्राथमिक विद्यालय, विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा औपचारिक रूपमा तथा प्रौढावस्थामा अनौपचारिक कक्षामा हुने शिक्षण क्रियाकलापमा मात्र सीमित छैन । यो त आजीवन वा जीवनपर्यन्त निरन्तर चलिरहन्छ । ७१ वर्षको उमेरमा प्रसिद्ध दार्शनिक सुकरात मर्नुभन्दा अघिल्लो दिन बाँसुरी सिक्दै थिए । ५० वर्ष नाघ्दैमा ‘अब बूढो भइयो, किन सिक्न पर्छ र ?’ भन्ने सोचाइ राख्नेलाई सुकरातको बाँसुरी सिक्ने उत्कट चाहनाले अवश्य नै झसंग बनाइदिन्छ । त्यसो त आजीवन सिकाइलाई जोड दिँदै अल्बर्ट आइन्स्टाइनले पनि भनेका छन्, ‘जब तपाईं सिकाइ रोक्नुहुन्छ, तब तपाईंको मरण सुरु हुन्छ ।’ मानव जीवनमा हर पल, हर क्षण सिकाइको आवश्यकता परिरहेकै हुन्छ । लेखाइ, पढाइ र अंकगणितको सिकाइ त अति आवश्यक छँदैछ । एकपल्ट सिकेको ज्ञान र सीपलाई निरन्तर प्रयोग गरिरहनु पनि झन् अपरिहार्य छ । त्यस्तै, समयको परिवर्तनसँगै जीवनोपयोगी सीप सिक्दै जानुपर्ने हुन्छ । उदाहरणको रूपमा धेरै वर्षपहिले विद्यावारिधी गरेका व्यक्तिले सूचना प्रविधिको बाह्रखरी अहिले पो सिक्न पर्दैछ । अंग्रेजी वर्णमालाको ज्ञान नहुनेले पनि मोबाइल चलाउनु पर्ने भएको छ, एसएमएस गर्नु पर्ने भएको छ । सामाजिक सञ्जाल, फेसबुक, ट्विटर, ह्वाट्सअप, भाइबर आदिको प्रयोग दिनानुदिन बढ्दैछ । 

समय परिवर्तनशील छ । मानव जीवन संघर्षशील छ । जिन्दगीको लामो गोरेटोमा, अनि हरेक उकाली–ओराली र संघर्षका मोडमा सिक्न पर्ने परिस्थिति आइरहन्छ । बुद्धले भनेका छन्, ‘ज्ञानको अन्त्य कहिल्यै पनि हुँदैन, सिक्नको लागि पनि कहिँ न कहिँ बाँकी रहेकै हुन्छ ।’ 

यस आलेखले वडा–वडा तथा गाउँ–गाउँमा आजीवन सिकाइको अवधारणा र अभ्यासलाई प्राथमिकतामा राखेर साक्षर नेपालको गन्तव्यतिर अगाडि बढ्न खास गरेर स्थानीय सरकारलाई केही सुझाव पस्किने प्रयत्न गरिएको छ ।  

सबैको लागि शिक्षाका उद्देश्य हासिल गर्ने समयावधि सन् २०१५ मा सकियो । सहस्राब्दी विकासका लक्ष्य प्राप्त गर्ने समयसीमा पनि गुज्रिसक्यो । तर, संसारभरिका सबै मानिसले साक्षर बनेर गर्व गर्ने परिस्थिति सिर्जना हुन अझै सकेको छैन । त्यसपछि विकासको एजेन्डालाई सम्बोधन गर्न दिगो विकासका उद्देश्यलाई अगाडि सारिएको छ । सत्र वटामध्ये चौथो उद्देश्यमा ‘सबैका लागि समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने र जीवनपर्यन्त सिकाइका अवसर बढाउने’ कुरा उल्लेख छ । साथै, यो उद्देश्य अन्तर्गतका सातवटा मध्ये दुईवटा परिसूचक जीवनपर्यन्त सिकाइसँग बढी सम्बन्धित छन्, जसमा भनिएको छ– सन् २०३० सम्ममा सबै युवा र प्रौढ साक्षर बन्ने छन् । साथै आगामी १५ वर्षमा सबै सिकारुले दिगो विकासका लागि चाहिने ज्ञान तथा सीप प्राप्त गर्ने छन् । यसमा दिगो विकासका लागि शिक्षा, दिगो जीवनशैली, मानव अधिकार, लैंगिक समानता, शान्ति र हिंसामुक्त संस्कृति, विश्वव्यापी नागरिकता, सांस्कृतिक विविधताको सम्मान र दिगो विकासका लागि संस्कृतिको योगदान लगायतका कुरा पर्छन् । यसबाट स्पष्ट हुन्छ– बालबालिका, युवा तथा प्रौढहरूले केवल साक्षर भएर अर्थात् लेख्न–पढ्न जानेर मात्र पुग्दैन । सिकेका कुरालाई व्यवहारमा लागू पनि गर्नु पर्छ । साक्षर भएर पनि बाँकी सीप प्राप्त गर्नको लागि निरन्तर सिकाइ प्रक्रियालाई अगाडि बढाइरहनु पर्छ । 

साक्षर नेपालः 

नेपाल सरकारले २०६५ सालको बजेटमा ‘दुई वर्षमा साक्षर नेपाल घोषणा गर्ने कार्यक्रम’ ल्याएको थियो । तर, प्रभावकारी रणनीति, कार्यनीति, कार्यान्वयन र अनुगमनको अभावले गर्दा अपेक्षित उपलब्धी हासिल हुन सकेन । यस वर्षको नेपाल सरकारको नीति र कार्यक्रममा पनि ‘दुई वर्षमा साक्षर नेपाल’ बनाउने उद्देश्य राखिएको छ । दिगो विकासको उद्देश्यमा सन् २०३० सम्ममा विश्वका सबै युवा र प्रौढलाई साक्षर बनाउने भनिएको छ । तर, नेपाल त्योभन्दा एक दशकअघि नै त्यो गन्तव्यमा पुग्न चाहन्छ । यो चाहना धेरै महत्वाकांक्षी छ तथापि स्वागतयोग्य छ । तर, विगत दशककै जस्तो लर्बराउने कदमले सफलताको सगरमाथा चुम्न सक्दैन । घोषणा पनि उस्तै र कार्यान्वयन गर्ने शैली पनि उस्तै भएमा नतिजा पनि फेरि उस्तै नआउला सकिन्न । 

२०६८ सालको जनगणना अनुसार नेपालको साक्षरता दर ६५.९४ प्रतिशत (५ वर्ष र माथिका), युवा साक्षरता ८५ प्रतिशत (१६–२४ वर्ष) र प्रौढ साक्षरता ५८ प्रतिशत (१६ वर्ष र माथिका) रहेको छ । प्रौढ साक्षरताको दर प्रदेश १ मा ६४ प्रतिशत, प्रदेश २ मा ४० प्रतिशत, प्रदेश ३ मा ६९ प्रतिशत, गण्डकी  प्रदेशमा ६७ प्रतिशत, प्रदेश ५ मा ५८ प्रतिशत, कर्णाली प्रदेशमा ५२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५४५ छ । सबै प्रदेशमा ९५ प्रतिशत भन्दा बढी युवा, प्रौढ तथा विद्यालय गएका ५–७ वर्षका बालबालिका पनि साक्षर भएमा मात्रै साक्षर नेपाल बन्न सक्छ । यो गन्तव्यमा पुग्न चुनौतीपूर्ण यात्रा गर्नु पर्ने देखिन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युनेस्कोको मापदण्ड पछ्याउँदै १६ देखि ६० वर्ष उमेर समूहको साक्षरता ९५ प्रतिशत पुगेको जिकिर गर्दै भरपर्दो सर्वेक्षण तथा अध्ययन र अनुसन्धानबिना नै भटाभट साक्षर जिल्ला घोषणा गरिरहेको छ । हालसम्म घोषित जिल्लाको संख्या ४७ पुगेको छ । घोषणाको आशय राम्रो भए पनि घोषणा गर्नको लागि संकलित तथ्यांक र मापदण्ड भरपर्दाे छैनन् । अर्कोतिर एकपटक घोषणा गरेपछि सबै काम सकियो जस्तो ठान्ने मनोविज्ञानले पनि साक्षर नेपालको यात्रामा अवरोध खडा गरेको छ । यही पाराले दुई वर्षमा ७७ वटै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिसके पनि जनगणना २०७८ को प्रतिवेदनले अन्यथा देखाएमा घोषणा मान्य हुने छैन । त्यसैले उक्त प्रतिवेदनमा साक्षरताको गन्तव्यमा पुगेको सुनिश्चित गर्न संघीय, प्रान्तीय र स्थानीय सरकारले द्रुततर गतिमा साक्षर नेपालको अभियानलाई आजीवन सिकाइसँग जोडेर अगाडि बढाउनु अत्यावश्यक छ । वर्तमान परिस्थितिमा संविधानप्रदत्त अधिकारलाई उपयोग गर्दै स्थानीय सरकारले साक्षर नेपालको गन्तव्यमा पुग्नको लागि साक्षर पालिकाको अभियानलाई सफलीभूत बनाउन तल उल्लेखित काम गर्न आवश्यक छः  

वि.सं. २०६५ मा दुई वर्षको समयसीमा राखेर गरिएको ‘साक्षर नेपालको घोषणा’ दस वर्षमा पनि पूरा हुन सकेन । यसले हामी घोषणा गर्न फुर्तिला छौं । तर, घोषणाको मर्म अनुसार काम गर्न सक्षम छैनौं भन्ने तथ्य ‘दिनको घामजत्तिकै’ छर्लंग देखाएको छ ।

क) आफ्नो पालिकाका हरेक घरधुरीमा तालिम प्राप्त गणक पठाई साक्षरताको सर्वेक्षण गर्ने र प्राथमिक तथ्यांकको आधारमा साक्षरताको अवस्था पत्ता लगाउनु पर्छ । सर्वेक्षण प्रतिवेदनको अतिरिक्त कुन घरमा कुन उमेरका व्यक्ति असाक्षर छन् भन्ने कुराको रेकर्ड वडा–वडामा र पालिकामा तयार गर्नुपर्छ । 

ख) साक्षरताको वास्तविक अवस्थालाई सही विश्लेषण गरी साक्षर पालिकाको गन्तव्यमा पुग्नको लागि सम्बन्धित सरोकारवालाको सक्रिय सहभागितामा दुई वर्षे योजना निर्माण गरी कार्यान्वयनको प्रक्रियालाई तीव्र गतिमा अघि बढाउनुपर्छ । 

ग) वि. सं. २०७८ सालमा हुने जनगणनामा राखिने साक्षरतासम्बन्धी प्रश्नावली उपयुक्त बनाउन र पालिका तहको साक्षरता दर प्रतिवेदनमा निकाल्न केन्द्रीय तथ्यांक विभागलाई शिक्षा मन्त्रालयमार्फत् सुझाव दिन लगाउने र उक्त जनगणणा हुँदा आफ्नो पालिकाभित्र राम्रो निगरानी र सहयोग गर्नु पर्छ । 

घ) ५ वर्षमाथिको जनसंख्याको साक्षरता प्रतिशतले समग्र नेपालको साक्षरता दर प्रतिबिम्बित गर्छ । त्यसैले १ देखि ३ कक्षामा पढ्ने बालबालिकाले सामान्य लेखपढ र अंकगणित जानेनन् भने त्यसले साक्षरता प्रतिशत घटाउने भूमिका खेल्छ । सार्वजनिक विद्यालयमा गुणस्तर खस्केको कारण कतिपय दुर्गम जिल्लामा २/३ कक्षामा अध्ययनरत बालबालिकाले सामान्यरूपमा नेपाली विषयको पाठ पढ्न नसक्ने अवस्था पनि देखिएका तथ्य सार्वजनिक भएका छन् । तसर्थ, साक्षर नेपाल बनाउने अभियानको बेला प्रारम्भिक कक्षाका बालबालिकाको पठन सीपको बढोत्तरी गर्ने कुरालाई पनि बिर्सनु हुँदैन ।

ङ) प्रौढ कक्षामार्फत् एकपल्ट साक्षर भएका नवसाक्षर निरन्तर वा आजीवन सिकाइको अवसर तथा पुस्तकालयको सुविधा र पढ्ने संस्कृतिको अभावमा फेरि असाक्षर बन्न सक्ने खतरा हुन्छ । त्यसैले आजीवन सिकाइका वैकल्पिक उपाय अवलम्बन गर्नुपर्छ । 

च) जति–जति साक्षरताको प्रतिशत बढ्दै जान्छ, त्यति–त्यति थोरै प्रतिशत बढाउन पनि गाह्रो हुँदै जान्छ । साक्षरता ९० बाट ९५ प्रतिशत पुर्याउन कठिन हुन्छ भने त्योभन्दा माथि लैजान झन् मुस्किल पर्छ । सानो संख्यामा रहेका असाक्षर विभिन्न बस्तीमा छरिएर रहेका हुन्छन्, जसलाई साँझको समयमा एकै प्रौढ कक्षामा समेट्न सकिन्न । यस्तो अवस्थालाई सम्बोधन गर्न ‘इच् वान टिच वान’ (एकजनाले एकजनालाई सिकाउने) कार्यक्रम लागू गर्न सकिन्छ । हरेक पालिकाले एक वर्षभित्र एक जनालाई साक्षर बनाउन सक्ने स्वयंसेवी सहजकर्ताको रूपमा सहयोग गर्न आफ्ना शिक्षित नागरिकलाई आह्वान गर्नुपर्छ । साक्षर पालिकाको अभियानअन्तर्गत ‘इच् वान टिच वान’ कार्यक्रमका सहजकर्ता शिक्षासेवीलाई पालिकाले विशेष सम्मानको व्यवस्था गर्नुपर्छ । 

छ)    पाँच वर्षपछि स्वतन्त्र अनुसन्धानकर्तामार्फत् फेरि अर्को साक्षरता सर्वेक्षण वा अध्ययन र अनुसन्धान गरी सार्वजनिक गर्ने र पालिकाले प्राप्त गरेको साक्षरतासम्बन्धी उल्लेखनीय उपलब्धीबारे सबैलाई जानकारी दिई सगौरव खुशीयाली मनाउने गर्न सकिन्छ । 

आजीवन सिकाई केन्द्रः 

आजीवन सिकाइको अभ्यासलाई जीवन्त बनाइराख्नको लागि हरेक नगरपालिका तथा गाउँपालिकाले विशेष कार्यक्रम संचालन गर्नुपर्छ । यसलाई बहुआयामिक केन्द्रको रूपमा विकास गरेमा निरन्तरता र दिगोपनाको लागि सहयोग पुग्छ । वडाका सबैलाई पायक पर्ने स्थान, वडा कार्यालय वा पर्यटकीय दृष्टिले सम्भावना बोकेको स्थानमा कम्तिमा एउटा आजीवन सिकाइ केन्द्र स्थापना गर्नुपर्छ । यस क्रममा पहिलेदेखि चलेका प्रभावकारी सामुदायिक सिकाइ केन्द्र छन् भने अर्को नयाँ केन्द्र आवश्यक छैन । राम्रो नचलेकालाई समायोजन गरेर लैजानुपर्छ । आजीवन सिकाइ केन्द्रलाई प्रभावकारी बनाउन निम्न कुरामा ध्यान दिनु पर्छ । 

क) आजीवन सिकाइ केन्द्रले साक्षर नेपाल तथा साक्षर पालिका अभियानको वडा वा गाउँ तहमा स्रोत केन्द्रको रूपमा संयोजनको काम गर्न सक्छ । साथै उक्त केन्द्रमा आवश्यकता अनुसार अनौपचारिक प्रौढ कक्षा पनि संचालन गर्न सकिन्छ ।

ख) केन्द्रको अभिन्न अंगको रूपमा एउटा पुस्तकालय संचालन गर्नु पर्छ । पुस्तकालयमा वेद, गीता, महाभारत, पुराण, रामायण, कुरान, बाइबल आदि जस्ता धार्मिक ग्रन्थ, बुद्ध धर्म तथा अन्य धर्मसम्बन्धी ग्रन्थ, साहित्य, कला संस्कृति, इतिहास, तथा सामाजिक विकाससम्बन्धी पुस्तक, वडा वा गाउँको स्रोत नक्सा, सामाजिक नक्सा, मौसमी पात्रो, विश्व, नेपाल, प्रदेश तथा पालिकाको नक्सा, विभिन्न पार्टीका चुनावी घोषणापत्र तथा अन्य पुस्तक तथा पत्रपत्रिका राख्न सकिन्छ । वडाबाट बाहिर गएर पढेका विद्यार्थीका स्नातकोत्तर, एमफिल तथा पिएचडी डिग्रीका थेसिस तथा वडामा अध्ययन र अनुसन्धान गरिएका थेसिस तथा प्रतिवेदन पनि अनिवार्यरूपमा संकलन गरी पुस्तकालयमा राख्ने प्रणालीको विकास गर्नु पर्छ । 

समय परिवर्तनशील छ । मानव जीवन संघर्षशील छ । जिन्दगीको लामो गोरेटोमा, अनि हरेक उकाली–ओराली र संघर्षका मोडमा सिक्न पर्ने परिस्थिति आइरहन्छ । बुद्धले भनेका छन्, ‘ज्ञानको अन्त्य कहिल्यै पनि हुँदैन, सिक्नको लागि पनि कहिँ न कहिँ बाँकी रहेकै हुन्छ ।’

ग) केन्द्रमै एउटा सामाजिक तथा सांस्कृतिक संग्रहालय पनि स्थापना गर्नु पर्छ । संग्रहालयमा उक्त वडाका वा गाउँका वासिन्दाले लगाउने परम्परागत पोशाक, जस्तैः गुन्यु, सारी, चौबन्दी चोली, दौरा, सुरुवाल, कोट, ज्वारी कोट, इष्टकोट, टोपी, बक्खु, घलेक, धोती–कुर्था, गम्छा, भोटो, जामा, कछाड, परदनी, बुर्का, मजेत्रो, पटुका, पगरी, लगौटी र कन्दनीलगायत विभिन्न जातिका परम्परागत पोशाक तथा विभिन्न अवस्था र चाड पर्वमा लगाइने पोशाक प्रदर्शन गरेर राख्दा राम्रो हुन्छ । त्यहाँ अन्य जिल्लाबाट आउने आगन्तुक र स्वदेशी तथा विदेशी पर्यटकले केही पैसा तिरेर उनीहरूको रुचि अनुसार पोशाक लगाई फोटो खिचेर आनन्द लिन सक्नेछन् ।

घ) संग्रहालयको अर्को आकर्षण हुन सक्छ– स्थानीय रूपमा प्रचलित परम्परागत बाजा,  जस्तै: नौमति पञ्चे बाजा (नरसिंगा, ढोलकी, दमाहा, सहनाई, झ्याली, ट्याम्को आदि), सारंगी, मादल, खैचडी, मुरली, बाँसुरी, डम्फु, डमरु, कर्नाल, मुर्चुङ्गा, बिनायो, एकतारे, शंख, घण्टा, तुंगना, आदि । साथै, किसानले प्रयोग गर्ने औजार तथा सामग्री र परम्परागत घरायशी चिजको प्रदर्शनले पनि संग्रहालयको चार चाँद थपिदिन सक्छ । हलो र हलोका सामग्री (अनौ, हरिस, फाली, ठेडी), जुवा र जुवाका सामग्री (सोइला, नारा, हल्लुड, जोतारा), ढिकी र यसका सामग्री (ओखल, मुसल, लाउनिकाठ), जाँतो र यसका सामग्री (हातो, मानी), हलीका सामग्री (खुर्पे ठ्याक, खुर्पेटो, खुर्पा, लौरो), माछा मार्ने तथा माछा राख्ने सामग्री (ढडिया, जाल, बल्छी, खुंगा, फुर्लुंग), झरीबाट बच्ने सामग्री (घुम, स्याखु, छत्री), पिङसम्बन्धी सामग्री (रोटे पिङ, जाँते पिङ, लिंगे पिङ), राखनधरनका सामग्री (भकारी, कोठो, संदुस, बिरिम, घ्याम्पो, भिउट, ढकिया, थैली), पानी राख्ने भाँडा (गाग्रो, गाग्री, अम्खोरा, लोटा, पंचोबात्रो, क्रियापुत्रीले बोक्ने झारी), भार, ओदान, मकल, ठडेउरो, अगेनो, सिलौटो, लोरो, गग्रेटो, मोही पार्ने ठेकी, फाम, मदानी, नेती, बस्ने सामग्री (गुन्द्री, पिर्का, चकटी), ढोकामा लगाउने आग्लो, आग्लो खोल्ने तालोस र आगोसँग सम्बन्धित सामग्री (घुपौरो, झिर, चिम्टा, ढुंग्रो), बिस्कुन सुकाउने मान्द्रो, काट्ने औजार (तरबार, खुकुरी, खुँडा, खुर्पा, खुर्पी, करौती), खन्ने औजार (कोदाली, चाँदे, कोदालो, खन्ती, घन), उद्याउने ढुंग्रो, आदिलाई व्यवस्थित रूपमा राख्न सकेमा विद्यालय तहका विद्यार्थीहरूले केन्द्रमा भ्रमण गरी परम्परागत सामग्रीबारे थाहा पाउनेछन् । 

ङ)    केन्द्रमा टेलिफोन र कम्प्युटरको व्यवस्था गरी डिजिटल साक्षरता कक्षा संचालन गर्न सकिन्छ । निःशुल्क रूपमा वाइफाइको सुविधा पनि उपलब्ध गराउनु पर्छ, जसले गर्दा अविभावक वा परिवारका सदस्यले विदेशमा वा स्वदेशकै अन्य प्रदेश तथा जिल्लामा काम गर्ने श्रीमान् वा श्रीमती, छोराछोरी वा परिवारका सदस्यसँग अनलाइन कुराकानी गर्न सक्ने छन् । फुर्सदको समयमा केन्द्रमा बसी अनलाइनमार्फत् सामाजिक संजालको प्रयोग पनि गर्न सक्नेछन् । 

च)    आजीवन सिकाइ केन्द्रमा बालबालिकाको चौतर्फी विकास (शारीरिक, सामाजिक, संवेगात्मक, बौद्धिक, आत्मिक तथा भाषिक) को लागि अविभावक शिक्षा संचालन गर्नु पर्छ । 

छ)    वरिष्ठ नागरिकका लागि योगा तथा ध्यान गर्न सिक्ने र अभ्यास गर्ने स्थानको रूपमा पनि यसलाई विकास गर्न सकिन्छ । जीवनको ६–७ दशक नाघीसकेपछि पनि यस केन्द्रमा आएर वडावासी तथा गाउँवासी वरिष्ठ नागरिकले योगा सिक्ने र अभ्यास गर्ने कुरालाई आजीवन सिकाइकै अभिन्न अंगको रूपमा हेर्नु अतिशयोक्ति हुने छैन ।

वि.सं. २०६५ मा दुई वर्षको समयसीमा राखेर गरिएको ‘साक्षर नेपालको घोषणा’ दस वर्षमा पनि पूरा हुन सकेन । यसले हामी घोषणा गर्न फुर्तिला छौं । तर, घोषणाको मर्म अनुसार काम गर्न सक्षम छैनौं भन्ने तथ्य ‘दिनको घामजत्तिकै’ छर्लंग देखाएको छ । विगतको असफलताबाट शिक्षा लिँदै नयाँ चुनौतीको सामना गर्न साक्षर नेपालको सही मार्गचित्र (रोडम्याप) तयार गरेर योजनावद्ध ढंगले अगाडि बढ्नु नै आजको आवश्यकता हो । सर्वेक्षण वा अध्ययन र अनुसन्धानबाट प्राप्त प्राथमिक तथ्यांक वा प्रमाणको जगमा टेकेर एवम् आजीवन सिकाइको अवधारणा आत्मसात गरेर स्थानीय सरकारले सशक्त रूपमा जिम्मेवारी र नेतृत्व लिएमा मात्रै साक्षर नेपालको गन्तव्यमा पुग्न सकिन्छ ।