अंकमाल नगर्न र हात नमिलाउन चिकित्सकको आग्रह

अंकमाल नगर्न र हात नमिलाउन चिकित्सकको आग्रह

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार ५, २०७६

काठमाडौ । अहिले दक्षिण एशियाभरी नै मौसमी रुघाखोकीको महामारी फैलिएको छ । नेपालमा विभिन्न रोगहरु फैलिएको भन्दै चिकित्सकले अंकमाल नगर्न र हात नमिलाउन आग्रह गरेका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुन महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले ‘ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्नेजस्ता सतर्कता अपनाउन आवश्यक रहेको वताएका छन् ।’

खासगरी, मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समय र भारी बर्षा हुने समयमा देखिने भए पनि पछिल्लो समयमा सिजनल इन्फ्लुएन्जा भाइरसका सङ्क्रमित देखिने गरेका छन् ।

क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गौलाले काम गर्न छाडेका, डायलासिस गरिएका, ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा रहेको निर्देशक आचार्यले जानकारी दिए ।