राजवंशी समुदायको ‘लोथापोथा’ पर्व प्रारम्भ

राजवंशी समुदायको ‘लोथापोथा’ पर्व प्रारम्भ

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार ६, २०७६


मोरङ ।  कोच राजवंशी समुदायको लोपोन्मुख अवस्थामा रहेको लोथापोथा पर्वको पूजा बिहीबारदेखि शुरु भएको छ । मोरङको रङ्गेली नगरपालिका–२ दौलतपुरमा राजवंशी समाज विकास समितिद्वारा यहाँ उक्त पूजा कार्यक्रमको आयोजना शुरु गरिएको छ ।

तराईमा बसोबास गर्ने आदिवासी जनजाति राजवंशी समुदायमा मनाइने यो पर्व ‘लोथापोथा गौर’ भन्नाले पर्वको शुरुआत हो भने वैशाख महीनाको शुरुमा मनाइने ‘सिरुवा और’ ले पर्वको समाप्त भन्ने बुझिन्छ । राजवंशी समुदायले असार महीनाको प्रत्येक बिहीबार यो पर्व मनाउने गर्दछन् ।
 
यो पर्व मनाउने क्रममा राजवंशी समुदायका श्रद्धालुले स्थानीय भाषामा ‘बिर्ना झुटी’ भनिने एक प्रकारको घाँसलाई देउताको रूपमा स्थापना गरेर पूजापाठ गर्ने गर्दछन् । बिर्ना झुटीलाई मध्यभागमा राखेर श्रद्धालुहरु वरिपरि बस्छन् र शङ्खनाद गर्दै बिर्ना झुटीलाई पूजा गरिन्छ ।

पूजाका लागि यस मौसममा उत्पादन हुने फलफूल आँप, लिची, अठिया केरा, काँक्रा र राजवंशी भाषाको डोहा ९वडहर० फल तथा उसिना चामल, दूध, दही आदि सामग्री प्रसादको रुपमा चढाई पूजा गरिन्छ । पूजापश्चात प्रसादको रुपमा खीर, फलफूल वितरण गरिन्छ । यो पर्व लोक कथनसँग सम्बन्धित रहेकाले पर्वसँग जोडिएको लोक कथावाचन र श्रवण गर्ने गरिन्छ ।
 
   स्थानीय जानकार व्यक्तिले पर्वको शुरुआतसँग जोडिएको कथावाचन गर्ने प्रचलन छ । पूजाको क्रममा मौलिक भाकाको गीतसमेत गाउने गरिन्छ भने समापनको क्रममा पूजास्थलको मध्यभागमा स्थापना गरिएको बिर्ना झुटीलाई उचाल्ने र थेचार्ने गरिन्छ । यसरी बिर्नाको मुठालाई माथि उठाउने तल राख्ने कार्यले समुदायमा सुख, शान्ति कायम भई सुस्वास्थ्य हुने विश्वास रहेको छ ।

यस कार्यमा समुदायका पुरुषको सहभागिता रहने गरेको छ । परापूर्वकालदेखि कृषिलाई मूल पेशाको रूपमा अङ्गालेको यो समुदायले कृषिलाई पूजनीय बनाएकाले पूजा गर्ने गरिएको हो । यस पर्वमा गरिने पूजाले समुदायमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरी धनसम्पत्तिको अहमता त्याग्नु र आफ्नो शरीरको ध्यान दिनुपर्ने पर्वको मान्यता रहेको पूर्वराज्यमन्त्री एवं राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले बताउनुभयो ।

किंवदन्तीअनुसार यो पर्वले भगवान् श्रीकृष्णको समेत पूजा गरिएको सो समुदायका सरोज राजवंशीले बताउनुभयो । पूजापश्चात सुखली दुखली ९धनी र गरीब० दुई दिदीबहिनीसँग सम्बन्धित कथावाचनपश्चात बेर्नालाई सबै महिलाले माथि उठाउने र तल राख्ने प्रकिया गरी पूजा समाप्त गरिन्छ । समितिका अध्यक्ष राजवंशीले यो समुदाय भाषा, वेषभूषा र संस्कृतिमा धनी रहेको बताउँदै कसैको प्रलोभनमा नपरी आधुनिकतासँगसँगै संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।

राजवंशी समाज विकास समितिका केन्द्रीय उपाध्यक्ष उपसादेवी राजवंशीले समुदायको भाषा संस्कृतिबाट मुलुकको समृद्धि झल्किने बताउँदै युवापुस्तालाई आ–आफ्नो संस्कृतिको संरक्षणमा ध्यान दिन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

नेपालको विविधतायुक्त जातजाति र भाषाभाषीका अनगिन्ती पर्वहरु लोपको सङ्घारमा रहेको अवस्थामा राजवंशी समुदायको लोथापोथासहित अन्य समुदायका मौलिक चाडपर्वलाई संरक्षण र संवद्र्धन गर्नसके त्यसले प्रदेश र देशको सांस्कृतिक समृद्धिमा टेवा पुर्‍याउने छ । मोरङ जिल्लामा ५० हजार कोच राजवंशीको बसोबास छ । सो अवसरमा राजवंशी युवायुवती आफ्नो भाषाको गीतमा नृत्यसमेत प्रस्तुत गरेको समाचार राससकाे लागि  मनोज दाहालले लेख्नुभएकाे छ