एकदिवसीय विश्वकप क्रिकेट : बंगलादेश अस्ट्रेलियासँग पराजित

एकदिवसीय विश्वकप क्रिकेट : बंगलादेश अस्ट्रेलियासँग  पराजित
अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेपछि खुसी मनाउँदै बंगलादेशका मुस्तफिजर रहमान । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ६, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार राती अस्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको छ । 

३८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ८ विकेट गुमाउँदै ३३३ रनमै सीमित भएपछि अस्ट्रेलियाले प्रतियोगितामा पाँचौ जित निकालेको हो ।

बंगलादेशका मुस्तफिर रहिमले १०२ रनको नटआउट पारी खेल्नुभए पनि टिमलाई जित दिलाउन सक्नुभएन ।  अर्का ब्याट्सम्यान महमुदुल्लाहले ५० बलमा ६९ रनको पारी खेल्नुभयो । यस्तै, प्रारम्भिक ब्याट्सम्यान तमिम इकवालले पनि अर्धशतकीय पारी खेल्नुभयो । उहाँलेण् ७४ बलमा ६ चौकाको मद्दतमा ६२ रन बनाउनुभयो । अर्का ब्याट्सम्यान सकिब अल हसनले ४१ रनको योगदान दिनुभयो । अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सक्नुभएन । बंगलादेशका तीन खेलाडीले त दोहोरो अंकको रन नै जोड्न सक्नुभएन ।  

बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्र्टाक, नाथन कुल्टर नायल र मार्कस स्टोनिसले समान २ विकेट लिँदा एडम जाम्पाले १ विकेट चट्काउनुभयो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले डेभिड वार्नरको १६६ रनको मद्दतमा ५ विकेट गुमाएर ३८१ रनको विशाल स्कोर खडा गरेको थियो । अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले ८९, कप्तान आरोन फिन्च ५३ र ग्लेन म्याक्सवेलले ३१ रन जोड्नुभयो । माकर्स स्टोनिस १७ तथा एलेक्स क्यारी ११ रनमा अभिजित रहनुभयो । 

बलिङतर्फ बंगलादेशका सौम्य सरकारले ३ तथा मुस्तफिजर रहमानले १ विकेट लिनुभयो । 

अस्ट्रेलिया शीर्षमा

पाँचौं जितसँगै अस्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले ६ खेलबाट १० अंक जोडेको छ । 

यसअघि शीर्ष स्थानमा रहेको न्युजिल्याण्ड एक स्थान तल झरेको छ । न्युजिल्याण्डले ५ खेलबाट ९ अंक बटुलेको छ । यस्तै, दोस्रो स्थानमा रहेको इग्ल्याण्ड तेस्रो स्थानमा झरेको छ । ५ खेल खेलेको इग्ल्याण्डको ८ अंक छ । भारत भने चौथो स्थानमा यथावत छ । भारतले ४ खेलबाट ७ अंक बटुलेको छ ।