शिक्षणः शिक्षकलाई ‘फलामको चिउरा चपाएजस्तो’

शिक्षणः शिक्षकलाई ‘फलामको चिउरा चपाएजस्तो’

रमेश भट्टराई ‘सहृदयी’  |  दृष्टिकोण  |  असार ६, २०७६

भर्खरै विवाह गरी पठाएकी छोरीलाई मैतालु लिन आउँदा बाबाले सोधेछन्, ‘छोरी नयाँ जीवनको सुरुवात गरेको घर कस्तो बस्दै छ त ?’ 

छोरीले भनिछिन्, ‘कडा ठाउँमा हातको कुहिनो मज्जाले ठोक्किएर हुरुक्कै भएजस्तो बाबा ।’  

शिक्षकलाई पनि आफ्नो काम ‘फलामको चिउरा चपाउनु’ झै बन्दै छ, प्रयोगात्मक अनि व्यावहारिक हिसाबमा । भनिन्छ– बालमैत्री शिक्षा दिनुपर्छ, बालकका इच्छामा असर पार्नुहुँदैन, रुचिपूर्ण सिकाइलाई वैज्ञानिक ढंगबाट शिक्षण गर्नुपर्छ । फेरि त्यहाँ शिक्षकलाई ‘खान पनि दिन पाइँदैन तर मोटाउनुपर्छ’ भन्ने सिद्धान्तको झोला भिराइन्छ । पुस्तकका पाना अक्षरस नपढाए आलोचना हुन्छन्, आरोप आउँछन् । परीक्षामा विद्यार्थीले प्राप्त गरेका प्राप्ताङ्कमा विद्यार्थीको मूल्याङ्कन हुन्छ । अर्को कुरा, ४० मिनेटको एउटा पिरियडमा कति विद्यार्थीलाई शिक्षकले आँखा पुर्याएर सिकाइरहेको होला ? अर्थात् जान्ने र नजान्नेका लागि ककसलाई कसरी हेरेको होला ? के जान्नेको स्तर सुहाउँदो अनि कमजोरको स्तरसँग मिल्दो विषयवस्तुलाई एकै समयमा समायोजन गरेको होला त ? सायद, यी विषय केवल ठूला–ठूला सिद्धान्तमा पुर्‍याएर विश्लेषित हुन्छन् । यहाँ एरिस्टोटल, रुसो, डिवे, पेस्तालोजीजस्ता विद्वानका विचारलाई ठेलीका ठेली पढ्ने–पढाउने गरिन्छ । सत्य पक्ष सत्य नै हुन्छ, यसमा शिक्षक जिम्मेवार छ, साथमा अभिभावक, शिक्षक प्रशासन र स्वयम् विद्यार्थीको सहकार्य हुन्छ । विद्यार्थीलाई एउटै समयमा नृत्य सिकाउनु छ, कराँते खेलाउनु छ, गायनमा रुचि छ, फुटबल, भलिबल या त अन्य चित्रकला, हस्तकलामा चाहना छ र सिकाउनु छ । 

कक्षामा ३० जनाभन्दा बढी शिक्षार्थी हुन्छन्, तिनको मनोविज्ञान बुझेर स्तरअनुकूल सिकाउनु कुनै सामान्य कुरा होइन । एउटै विषयवस्तुलाई फरक शिक्षकले फरक–फरक ढङ्गले सिकाउँछन् । तर, लिखित मूल्याङ्कनमा एउटै प्रश्न सोधिन्छ । कपी जाँचकीले आफ्नै मनोविज्ञानबाट मापन गर्दा विद्यार्थीको बौद्धिकताको उचित मूल्याङ्कन पनि त हुँदैन । त्यही स्तरका कसैले प्रशस्त विषयवस्तु पाए, कुरा स्पष्ट बुझे, अभ्यासको अवसर मिल्यो, परीक्षामा सोही प्रश्न आयो भनेपछि राम्रै हुने भो । अर्को विद्यालयको विद्यार्थीले सो अवसर पाउन सकेन । त्यसमा होला शिक्षक पनि तालिमप्राप्त र प्रमाण पुगेकै होला । तर, त्यो ज्ञान, सीप र सक्षमता उसमा छैन । अर्थात् ज्ञान छ, विद्यार्थीमा पस्कन सक्दैन । यसमा शिक्षकहरूको लगाव, सक्षमता, पेशाप्रति दक्षता, सन्तुष्टि, दिइने पृष्ठपोषणको प्रत्यक्ष असर पर्छ । ट्युसनमा जति प्रभावकारी पढाउँछन् त्यति कक्षामा शिक्षकले जाँगर चलाउँदैनन् । हुनत यसमा शिक्षकले बौद्धिक भ्रष्टाचार गर्दैनन् भन्ने पनि छैन । त्यो विषय पेसागत विकासको कुरा बुझेका शिक्षकमा निर्भर रहन्छ । शिक्षक मनोविज्ञानले प्रत्यक्ष असर पार्छ भन्दा फरक नपर्ला ।

सरकारी विद्यालयका कैयौँ शिक्षकलाई राजनीतिक पक्षपोषणको मोह छ, शिक्षालय राजनीति खेल चर्काउने सजिलो र बलियो आधारशीला बनिरहन्छ । शिक्षकले सो कार्यमा साथ दिनैपर्ने बाध्यता पनि छ । नेताजीले तिनलाई झोला बोकाएका हुन्छन् । व्यवस्थापन समितिमा पार्टीको गुटबन्दीको दादावादबाटै निर्मित राजनीतिक दादागिरी चल्छ ।

अर्को पक्ष, खेदाउने तर नभेट्टाउने नाटक गर्नुपर्छ– शिक्षकलाई विद्यार्थी मनोविज्ञानको ज्ञानको खाँचो छ । शिक्षक अब मनोचिकित्सकभन्दा के कम छ र । आज विद्यार्थीका चाहना असीमित छन्, मूलतः प्राविधिक सामान मोबाइल, इन्टरनेट, फेसबुक, आदिमा भुलिरहने तिनको आदत हुन्छ । हामी तिनलाई फेसबुक, युट्युबबाट टाढा राखेर किताबी रटानमा जोड दिन्छौँ । विद्यार्थी कति बाठो छ, फेसबुकको म्यासेजमा जान्ने विद्यार्थीबाट गृहकार्य माग्छ अनि शिक्षकलाई सारेर देखाउँछ, आफ्नो मौलिकता शून्य । किताब खोलेर बस्छ तर मोबाइलको खेलमा व्यस्त हुन्छ । यस्ता विषयमा अद्यावधिक बन्न नसके शिक्षकले कसरी तिनका आकाङ्क्षालाई खोतल्न सक्ला र ! फिल्म हेर्दा रातिको १२/१ जति बजाउँछ, अनि भोलिपल्ट विद्यालयमा पढ्न जाँदा कक्षामा सुत्छ । प्रत्येक शिक्षकले अलिकति पढाउँछन् अनि गृहकार्य पालैसँग दिन्छन्, उसलाई बोझिलो भारी थपिदिन्छन् । तर, उसलाई त्यसमा चाहना छैन । अर्को कुरा, एउटा एकाइको गृहकार्य नसकिँदै अर्को थपिँदा ऊ अरु विद्यार्थीको तुलनामा कमजोर बन्दै जान्छ । बिस्तारै शिक्षकबाट टाढा बन्दै जाँदा ऊ क्षमतावान् हुन्छ तर पनि ऊ कमजोरको दर्जातिर लम्किन पुग्छ ।  

यसरी हेर्दा शिक्षकले जागिर खान्छन्, विद्यार्थी पनि कसैका लागि पढिदिन्छन् । शिक्षकलाई कुनै पार्टीप्रति झुकाव हुन्छ वा कसैले जागिरमा झुन्ड्याइदिन्छ अनि ऊ पार्टीको पुच्छर बन्छ । जागिर जोगाउन, बढुवा हुन वा जागिरको अस्तित्वलाई सानसहित बढाबा दिनु छ भने पाटीको गुलाम बन्नै पर्ने बाध्यता शिक्षामा निसङ्कोच जोडिएका घटना आजकै हुन् । निजी संस्थातिर हेर्ने हो भने न त शिक्षकलाई खुसी दिइन्छ । जतिसक्दो कम तलब दिएर शिक्षकलाई सकेसम्म जोत्न चाहिन्छ । शिक्षक पनि प्रधानाध्यापकको आँखा छल्न तत्पर हुन्छन् । सरकारीतिर हेर्दा शिक्षक विद्यालयमा हाजिर गर्दै जागिर खान, बढुवा हुन, सरकारी जागिर खाएको अनुभव पनि त बटुल्नु प¥यो । जब हतियार नै भुत्ते हुन्छ अनि काम कसरी बन्छ ? सरकारी विद्यालयका कैयौँ शिक्षकलाई राजनीतिक पक्षपोषणको मोह छ, शिक्षालय राजनीति खेल चर्काउने सजिलो र बलियो आधारशीला बनिरहन्छ । शिक्षकले सो कार्यमा साथ दिनैपर्ने बाध्यता पनि छ । नेताजीले तिनलाई झोला बोकाएका हुन्छन् । व्यवस्थापन समितिमा पार्टीको गुटबन्दीको दादावादबाटै निर्मित राजनीतिक दादागिरी चल्छ । सेवाका गर्नकै लागि जागिर कसले खानेको सङ्ख्या कति छ ? प्रश्न उठ्छ । कति पुराना शिक्षकलाई समय अवधि पूरा गर्नका लागि मात्र विद्यालय जानु छ । रिटायर हुने समयको व्यग्र प्रतीक्षामा कक्षा कार्यकलाप कसरी प्रभावकारी होला ? 

एसइईमा ‘सी’ ग्रेड ल्याउनेले शिक्षाशास्त्र पढ्न पाउने विकल्प दिइन्छ भने त्यो शिक्षा विकासको ठाडो अन्याय व्यवहार हो । सङ्कीर्णताले शिक्षाजस्तो गम्भीर विषयमा अपहेलना गरे देशको गुणस्तरीयतामा आँच पुग्छ ।

देशले शिक्षा विषयको जनशक्तिलाई मनोवैज्ञानिक हिसाबमा शिक्षाशास्त्र संकायबाट उत्पादन गराउने जमर्को गरेको छ । यद्यपि नीतिनिर्मातादेखि पुस्तकका लेखकलाई शिक्षाशास्त्रीय ज्ञान छ/छैन सोचिएको लाग्दैन । पहुँच र पैसामा बिकेको बौद्धिक दमनले पनि कैयौँ बालबालिकाको भविष्यमा खेलबाड नभएका हुन् भन्ने विश्वास गर्न सकिन्न । शिक्षक हुन शिक्षाशास्त्र अध्ययन गरेर तालिम लिएको हुनु आवश्यक छ । तालिम, गोष्ठी, सेमिनारको आयोजना पनि हुन्छ । तर, भन्नैपर्ने तीतो पीडा अवश्य छ– छेउमा निजी विद्यालय छ भने अर्कोतिर सामुदायिक विद्यालय हुन्छ । दुई विद्यालयको भौतिक संरचनालाई हेर्दा सामुदायिक विद्यालयको कुरुप संरचना, भताभुङ्ग डेक्सबेन्च, भत्केका कक्षाकोठामा भन्दा चिल्लो, सफा, सुन्दर वातावरणीय संरचनाको निजीमा विद्यार्थी र अभिभावकको आकर्षण पक्कै बढेको तीतो सत्य होइन र । प्रश्न उठ्छ– सरकारले गरेको शैक्षिक लगानी के प्रभावकारी छ त ! शैक्षिक समुन्नति मुलुकको उन्नतिको आधार हो । तर, शिक्षाले बेरोजगारिता जन्माउनु अर्को शैक्षिक विकर्षणको कारक बन्दै गएको हो । पढिदिनका लागि पढ्ने अनि पढेपछि के गर्ने, वेदनाको विलौना सुन्नैपर्छ । शिक्षकले पनि न नाजवाफ हुनुपर्छ । अतः अब परिवर्तनकारी, वैज्ञानिक, प्राविधिक, सीपमूलक शिक्षामा उच्च तहका वर्ग आउनु आवश्यक छ । अरु केही काम गर्न नसकेका, अरु कुनै विषय पढ्न नसकेकालाई शिक्षामा होम्ने शैक्षिक स्थितिको कमजोर जगलाई सोच्ने बुद्धिलाई बदल्नैपर्छ । शिक्षा क्षेत्रमा त ‘ए’ ग्रेडका माइन्डहरूको प्रभुत्व हुनुपर्छ । एसइईमा ‘सी’ ग्रेड ल्याउनेले शिक्षाशास्त्र पढ्न पाउने विकल्प दिइन्छ भने त्यो शिक्षा विकासको ठाडो अन्याय व्यवहार हो । सङ्कीर्णताले शिक्षाजस्तो गम्भीर विषयमा अपहेलना गरे देशको गुणस्तरीयतामा आँच पुग्छ । एउटा शिक्षकले पाइलट, इन्जिनियर, डाक्टरलाई पढाएको हुन्छ । नेतालाई जन्माएको, हुर्काएको हुन्छ । अनि मनोचिकित्सक बनेर कर्मको फलबाहेक अन्य लालचमा होमिएको हुन्न । यदाकदाबाहेक कालोधनको अकूत सम्पत्तिमा राल चुहाइएको हुन्न, देशले सोच्न सक्नुपर्छ । 

bhattarairamesh353@gmail.com