यु ट्युबः पुराना भाकाहरूको पुनरागमन

यु ट्युबः पुराना भाकाहरूको पुनरागमन

यमबहादुर दुरा  |  लोकरञ्जन  |  असार ६, २०७६

पुराना पात झर्छन् नयाँ पात पलाउँछन् । पुराना जान्छन्, नयाँ आउँछन्, जुन दुनियाँको सर्वजनीन तथा सर्वविदित रीत हो । तर, यो शाश्वत रीत सधैँ सही नहुने रहेछ । ‘यु ट्युब’ मा धमाधम अपलोड भइरहेका पुराना नेपाली लोकगीत देख्दा यस्तै लाग्छ । 

अहिले सयौँको सङ्ख्यामा पुराना नेपाली लोकगीत ‘यु ट्युब’ मा अपलोड भइसकेका छन् । यो क्रम जारी नै छ । यस्ता गीतको भ्यु पनि लाखौँको सङ्ख्यामा पुगेका छन् । 

‘यु ट्युब’ मा मास्टर मित्रसेन (वि.सं. १९५२—२००२), मेलवादेवी गुरुङ (वि.सं. १९५९—२०१२) जस्ता कालातीत कलाकारका गीत पनि भेटिन्छन् । उनीहरू पछिका कलाकारहरू धर्मराज थापा (वि.सं. १९८१—२०७१), हीरादेवी वाइबा (सन् १९४०—२०११), भलकमान गन्धर्व (वि.सं. १९९२—२०६०) आदिका पुराना गीत ‘यु ट्युब’ को विशाल भण्डारमा पनि सजिलै भेटिन्छन् । 

कविता आले, मन छञ्त्याल, लोकबहादुर क्षेत्री (वि.सं. १९१८—२०५०), बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना, हरिदेवी कोइरला, माया गुरुङ, बीमाकुमारी दुराजस्ता कलाकारका पुराना लोकगीत पनि ‘यु ट्युब’ मा भेटिन्छन् । यी नाम त दृष्टान्त मात्र हुन् । 

सङ्गीत एकदमै चञ्चल र चलायमान विधा मानिन्छ । ख्यातिप्राप्त सङ्गीतकार अमर गुरुङ (वि.सं. १९९४—२०७३) भन्ने गर्थे, सङ्गीतमा समयानुकूल परिवर्तन र नयाँ शैली सधैँ अपेक्षित रहन्छ ।

 

साङ्गीतिक महफिलमा एकपछि अर्को गरी देखा परेका नवीनतम शैली र ट्रेन्डले यही वास्तविकतालाई पुष्टि गरिरहेका छन् । 

गतिशील र परिवर्तनशील साङ्गीतिक दुनियाँमा पुराना गीतको स्थान कति छ ? ‘एन्टिकरेन्ट’ जस्तो देखिने गरी आएका पुराना लोकगीतको लहरले कुन सांस्कृतिक तथा साङ्गीतिक समीकरणलाई उद्घाटन गर्छ ? यसको समाजशास्त्रीय वा अर्थशास्त्रीय नाता–सम्बन्ध के हो ? यसबारे घोत्लिन आवश्यक छ ।

अमेरिकामा पनि पुराना लोकगीतको पुनरागमन भएको थियो । त्यहाँ लोकगीतको पुनरागमन सन् १९४० को दशकमा सुरु भएर १९६० को दशकमा चुचुरोमा पुगेको अभिलेख भेटिन्छ । 

अमेरिकामा सन् १९२० देखि सुरु भएको रेडियो प्रसारण सन् १९४० को दशकसम्म आइपुग्दा रेडियो लोकप्रिय सञ्चार माध्यम बन्न पुग्नु, त्यसमा रैथाने लोकगीतले स्थान पाउनु, अमेरिकाका अश्वेत समुदायले सञ्चालन गरेको नागरिक अधिकारसम्बन्धी आन्दोलनमा लोकगीतलाई ‘प्रोटेष्ट सङ’ का प्रयोग गर्नुलाई त्यहाँ लोकगीतको पुनरागमन हुनुको मूलभूत कारण मानिएका छन् । 

नेपालमा वि.सं. २०५० को दशकमा एफएम रेडियो स्थापनाको उभार आयो, जुन २०६० को दशकमा उत्सर्गमा पुग्यो । देशभरि स्थापना भएका स्थानीय रेडियोहरूले लोकगीतलाई उच्च स्थान दिए । यसबाट लोकगीत लोकप्रियता हासिल गर्‍यो । यससँगै सङ्गीत उद्योगले पनि राम्रो प्रगति गर्‍यो ।

अहिले समयले नयाँ मोड लिइसकेको छ । अहिले ‘एफएम युग’ को क्रेज पातलिँदै गएको छ भने ‘यु ट्युब युग’ को क्रेज बाक्लिदिँदै गएको छ । 

यससँगै सङ्गीतकर्मी र सङ्गीत उद्योगको कार्यशैली र रणनीति बदलिएको छ । उनीहरूको ध्यान ‘यु ट्युब’ केन्द्रित हुन थालेकाे छ। अहिले गीतको लोकप्रियता यु ट्युबको भ्युवरसिप’ निर्धारण गर्न थालेको छ ।  हिजो यस्तो थिएन । यो नयाँ ट्रेन्ड हो । 

सङ्गीत उद्योगको अर्थशास्त्र पनि यु ट्युबको भ्युवरसिपसँग नै जोडिएको छ । भिडियो सेयरिङ साइट यु ट्युबले मनिटाइजेसनको प्रावधान ल्याएपछि यु ट्युबमा भिडियो अपलोड गर्ने होड नै चलेको छ, जसमा कलाकार स्वयं र सम्बन्धित म्युजिक कम्पनी सामेल छन् ।

कतिपय यु ट्युबरले अरूका गीत आफ्ना च्यानलमा अनधिकृत रूपमा राख्ने प्रवृत्ति देखा परेको छ । गीत अपलोड गर्ने क्रममा पुराना गीतले पनि राम्रै प्राथमिकता पाउन  थालेका छन् ।

हालका दिनमा पुराना लोकगीत खोजीखोजी अपलोड गर्ने प्रवृत्ति बढेको छ । यसो हुनुमा यु ट्युबको मनिटाइजेसन नीतिलाई कारक तत्त्व मान्न सकिन्छ । यद्यपि, कतिपयले गीत मन परेर अर्थोपार्जन गर्ने मनाशय नराखी पुराना लोकगीत अपलोड गरेका छन् । योे तथ्यलाई पनि भुल्न मिल्दैन । 

कतिपय यु ट्युबरले आफ्ना च्यानलमा राखेका पुराना लोकगीत प्रतिलिपि अधिकारका दृष्टिले कति नियमसम्मत छ ? त्यो बेग्लै विश्लेषणको विषय हुनसक्छ । तर, यु ट्युबभरि छताछुल्ल पुराना गीत सुनेर मनोरञ्जन लिन चाहनेको मनोकांक्षा पूरा हुन थालेको छ । 

यु ट्युबमा पुराना लोकगीत अपलोड गर्ने परिपाटी सम्पदा अभिलेखीकरण र विस्तारीकरणको एउटा महत्त्वपूर्ण हिस्सा बनेको छ, जुन प्रविधिले दिएको सुन्दर वरदान हो । यसबाट मौलिक साङ्गीतिक सम्पदाको श्रीवृद्धिमा योगदान पुगेको छ ।

 

‘यु ट्युब’ मा नयाँ नयाँ ट्रेन्डका गीत टनाटन छन् । संसारभरबाट ‘यु ट्युब’ मा भिडियो अपलोड भइरहँदा प्रत्येक मिनेट तीन सय घण्टाको भिडियो अपलोड हुने तथ्याङ्कले देखाएको छ । 

त्यसमा नेपालको हिस्सेदारी कति छ, त्यसबारे कुनै यकिन आँकडा छैन । तर, नेपालबाट पनि उत्साहजनक किसिमले भिडियो अपलोड भएका छन् । 

‘यु ट्युब’ मा अपलोड भएका पुराना लोकगीतलाई एउटा अडियन्सले मन पराएका छन् । त्यसमा भ्युअरसिप पनि उत्साहजनक निकै बढेको छ । उनीहरूबाट प्रेमपूर्ण प्रतिक्रिया पनि आइरहेका छन् ।

चेतमान गुरुङ, नारायण रायमाझी, लक्ष्मी न्यौपाने र चन्द्र गुरुङको स्वरमा रहेको स्वरमा गुञ्जिएको ‘शिरमा रिबन’ बोलको गीतमा प्रवीण दर् लामी मगरले प्रतिक्रिया लेखेका छन्, ‘यो गीत २०–२५ पटक सुनिसकेँ । अझै धित मरेको छैन ।’

त्यही गीतमा विजय सिंहले गीत जति सुने पनि मन नभरिएको प्रतिक्रिया दिँदै फेरि पनि यस्तै गीत ल्याउन आग्रह गरेका छन् ।

समयले पछि पारेका तर जनमनमा अमिट छाप पार्न सफल यस्ता गीतको पुनरागमनले लोक सङ्गीत अनुरागी तथा अध्येताहरूका अगाडि सुन्दर अवसर ल्याइदिएको छ । 

त्यो हो, पुराना लोकसम्पदाबाट अनुप्राणित हुने र तिनलाई विभिन्न दृष्टिबाट विश्लेषण गर्ने । ‘सिलिकन भ्याली’ को अत्याधुनिक ‘क्लाउड स्टोरेज’ बाट उदाएका यी सांस्कृतिक सम्पदा हाम्रा लागि अनुपम उपहार हुन् ।

यस्ता सांस्कृतिक सम्पदाको उभारले सांस्कृतिक चेतको विकास र मौलिक लोकगीतको श्रीवृद्धिमा रचनात्मक योगदान पुग्ने अपेक्षा छ