गुजारेका ५४ घरघरमा खानेपानी

गुजारेका ५४ घरघरमा खानेपानी

लोकसंवाद संवाददाता  |  समाज  |  असार ७, २०७६

स्याङ्जा। खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका यहाँका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको छ । स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पुर्‍याइएको हो । 

 गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०÷२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । घर नजिकै खानेपानीको मुहान नहुँदा यहाँका बासिन्दालाई पानी ओसार्नमै दिन बित्ने गरेको बाहुनधारा हर्रेडाँडा लिफ्टिङ खानेपानी योजना हिलेपानीका अध्यक्ष विक्रान्त अधिकारीले बताउनुभयो ।

  'सिँचाइको त कुरै छाडौँ खानेपानीसमेत नहुँदा दैनिकी कष्टकर बनेको थियो', उहाँले भन्नुभयो, 'अहिले योजना सम्पन्न भई गाउँमै खानेपानी पुगेपछि  घण्टौँ समय बिताउनुपर्ने बाध्यता हटेको छ ।' वालिङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख र गत आवमा रु सात लाख रकम विनियोजन गरेको थियो ।

स्थानीयवासीले करीब रु दुई लाख बराबरको जनश्रमदान गरी खानेपानी आयोजना निर्माण गरेको वडासदस्य इन्द्रबहादुर गुरुङले बताउनुभयो । चौवन्नमध्ये ४४ परिवार दलित समुदायको रहेको छ । दैनिक पानी खोल्ने कर्मचारीलाई मासिक रु दुई हजार पारिश्रमिक उपलब्ध गराउने र मर्मतसम्भार कोष स्थापनासमेत गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो समाचार राससमा छ ।