दैनिक करीब ४०० भारतीय तीर्थयात्री नेपालगञ्जबाट सिमकोट जाँदै

दैनिक करीब ४००  भारतीय तीर्थयात्री नेपालगञ्जबाट सिमकोट जाँदै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार ७, २०७६

बाँके । नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् । 

   होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाखदेखि भदौसम्म हो । मानसरोवर–कैलाश पर्वत भ्रमणका लागि आउने भारतीयको सङ्ख्या बढ्दै गएको  काफ्ले बताउनुहुन्छ । 'पर्यटकको सङ्ख्या बढेसँगै यहाँ होटल तथा अन्य व्यवसाय फष्टाएको छ', उहाँले भन्नुभयो । मानसरोवरको यात्रामा जाने प्रत्येक भारतीय तीर्थयात्रीले रु एक लाखभन्दा बढी खर्च गर्ने गरेका छन् । नेपालको बाटो हुँदै जाने भारतीय तीर्थयात्रीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समय पर्यटकको सङ्ख्यासँगै स्तरीय होटलसमेत बढेका छन् ।

 हवाई उडानलाई व्यवस्थित गर्दै हुम्लाको हिल्सासम्मको सडकलाई विस्तार गर्न सके अझै धेरै भारतीय तीर्थयात्री बढ्न सक्ने देखिन्छ । पाँच महीनासम्म चल्ने मानसरोवर यात्रामा जानेको सङ्ख्या बढ्दै गएको छ । बाँकेमा तीन हजारभन्दा बढी होटल सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै एक हजार ५०० भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताउनुभयो । 

नेपालगञ्जमा होटल सोल्टी, वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु र कोहलपुरमा सेन्टर प्लाजालगायत होटल सञ्चालनमा छन् । भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगञ्जका प्रायः सबै ठूला र मध्यम खालका होटल भरिभराउ छन् । नेपालगञ्ज नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जान दैनिक सयौँको सङ्ख्यामा भारतीय पर्यटक नेपालगञ्ज आउने गरेका छन् । 

 गत वर्ष करीब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेको तथ्याङ्क छ । यस वर्ष यो सङ्ख्या बढेर करीब २५ हजार पुग्ने अनुमान गरिएको छ । भारतबाट भित्रिने पर्यटक दिल्लीबाट हवाई मार्गहुँदै काठमाडौँ र त्यहाँबाट नेपालगञ्ज आउने गरेका छन् । त्यसबाहेक सडक यातायातको प्रयोग गरी नेपालगञ्ज नाकाबाट समेत पर्यटक भित्रिने गरेका छन् ।     होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्याल मानसरोवरका यात्रुले होटल भरिभराउ रहेको बताउनुहुन्छ । अधिकांश पर्यटक नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरुले नेपालमै ९० प्रतिशत रकम खर्च गर्ने गरेको उहाँले बताउनुभयो ।   

नेपालगञ्ज र काठमाडौँबाट मानसरोवर जानका लागि पर्यटकले रु पाँच लाखदेखि रु सात लाखसम्म खर्च गर्ने गरेका छन् । विभिन्न ट्राभल एजेन्सीमार्फत आएका पर्यटक नेपालगञ्ज–सिमकोट–हिल्सा हुँदै जाने गरेका छन् । मानसरोवर जाने पर्यटकले तीन सातासम्मको प्याकेज मिलाउने गरेको होटल सिद्धार्थका प्रबन्ध निर्देशक मुक्तिराम भण्डारी बताउनहुन्छ ।

नेपालगञ्ज विमानस्थल व्यस्त

तीर्थयात्रीका कारण नेपालगञ्ज विमानस्थल व्यस्त बनेको छ । मानसरोवर जाने तीर्थयात्री ओसार्न निजी एयरलाइन्सलाई भ्याइनभ्याइ छ । तीर्थयात्री ओसार्नकै लागि नेपालगञ्ज विमानस्थलमा ताराका दुई, सीताका दुई, सिम्रिकका दुई र नेपाल वायुसेवा निगमको एक जहाजले दैनिक २० उडान भर्ने गरेको छ । सिमकोट विमानस्थलमा सिम्रिक, डाइनेस्टी, फिस्टेल, माउन्टेन एयरका हेलिकप्टरले हिल्सासम्मको उडान भर्दै आएका छन् । 

 नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक करीब ४०० सम्म भारतीय तीर्थयात्री नेपालगञ्जबाट सिमकोट पुग्ने गरेका छन् ।  'भारतीय तीर्थयात्रीको चाप बढेको छ । यात्रुको चापका कारण नेपालगञ्जमा जहाज थप्ने तयारीमा छौँ', उहाँले भन्नुभयो । 'मौसम तथा आवश्यकताअनुसार उडान हुँदै आएको छ', उहाँले भनाइ भन्ने समाचार  राससकाे लागि काशीराम शर्माले लेख्नु भएकाे छ ।