हार्नबाट जोगिएको भारत

हार्नबाट जोगिएको भारत

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ८, २०७६

काठमाडौं । जारी क्रिकेट विश्वकप २०१९ मा शनिवार भारतले  अफगानिस्तानलाई ११ रनले पराजित गरेको छ । शीर्ष वरियताका राष्ट्रलाई विश्वकपमा पराजय गर्ने  इतिहासको नजिक पुगेर अफगानिस्तान चुक्यो ।

मोहम्मद सामीले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिएपछि भारतले विश्वकपमा शनिबार अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो । 

विश्वकप इतिहासमा ५० औं जित आत्मसात गर्ने क्रममा भारतले अफगानिस्तानलाई ४९.५ ओभरमा अलआउट गरेको हो । २ सय २५ रनको लक्ष्य पच्छ्याएको अफगानिस्तान ४९.५ ओभरमा २ सय १३ रनमा अलआउट भयो । 

जितका लागि अफगानिस्तानलाई अन्तिम ओभरमा  १६ रन चाहिएको अवस्थामा  मोहम्मद नाबीले सामीको पहिलो बलमै चौका प्रहार गरेर खेललाई अझ रोमाञ्चक बनाएका थिए । दोस्रो बलमा  कुनै रन बनाउन नसकेका उनी  तेस्रो बलमा क्याच आउट हुन  पुगे । 

चौथो र पाँचो बलमा सामीले अफ्ताब आलम र मुजिब उर रहमानलाई बोल्ड गरे । 

विश्वकपमा ह्याट्रिक गर्ने सामी भारतका दोस्रो र विश्वका नवौं खेलाडी हुन् ।

सामीले ९.५ ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर ४ विकेट लिए । 

म्यान अफ द म्याचमा भने जसप्रित बुमराह भए । उनले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेका थिए । 

युजभेन्दर चाहल र हार्दिक पाण्ड्येले पनि २–२ विकेट लिए । 

नाबीले अफगानिस्तानबाट सर्वाधिक ५२ रन बनाए । उनले ५५ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । रहमत शाहले ३६ र गुलबदिन नैबले २७ रन बनाए ।

भारतीय कप्तान विराट कोहलीले ६३ बलमा ६७ रन बनाए । त्यसमा ५ चौका समावेश छ । उनले ४४ बलमै अर्धशतक पूरा गरे । यो उनको ५१ औं अर्धशतक हो । 

कोहलीलाई नाबीले ३१ औं ओभरमा शर्ट थर्डम्यानमा क्याच गराए । 

मुजिब उरले ओपनर रोहित शर्मालाई पाँचौं ओभरमा १ रनमै आउट गरेपछि भारतको सुरुआत राम्रो हुन सकेन । शर्माले प्रतियोगितामा यसअघि दुई शतक बनाइसकेका छन् । 

लोकेश राहुलले ३० रन बनाउँदै कोहलीसँग दोस्रो विकेटमा ५७ रन जोडे । तर भारतको समस्या तब सुरु भयो, जब राहुल अनावश्यक रिभर्स स्वीप गर्नेक्रममा क्याच हुन पुगे । 

अफगानका बलरले त्यसपछि नियमित रनमा अंकुश लगाउँदै विकेट लिइरहे । शाहले विजय शंकरलाई २७ औं ओभरमा एलबीडब्लू आउट गरे ।

महेन्द्रसिंह धोनी र केदार जाधबले पाँचौं विकेटमा ५७ रन जोडे । धोनीले ५२ बलमा २८ रन बनाए । उनी सन् २०११ यता पहिलो पटक एकदिवसीयमा स्टम्पआउट भए । 

जाधबले ६८ बल खेली ३ चौका र १ चौका प्रहार गरी ५२ रन बनाए । मुजिब उरले १० ओभरमा २६ रनमात्र खर्चेका थिए भने नाबीले ९ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

स्कोर कार्ड
भारत
११ रनले विजयी

भारत
५० ओभर २२४–८
विराट कोहली–६७
केदार जाधव–५२
लोकेश राहुल–३०

मोहम्मद नाबी २–३३
गुलवदिन नैब २–५१

अफगानिस्तान
४९.५ ओभर २१३
मोहम्मद नाबी–५२
रहमत शाह–३६
गुलवदिन नैब–२७

मोहम्मद सामी ४–४०
युजभेन्द्र चाहल २३६