‘१४ वर्षको उमेरमा पहिलो एल्बम निकालेँ’

‘१४ वर्षको उमेरमा पहिलो एल्बम निकालेँ’

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार ८, २०७६

सुरत रावत ‘डोटेली कान्छा’ 

बुबा २०५२ सालतिर लेवनानस्थित शान्तिसेनामा खटिनुभएको थियो । त्यतिबेला शान्ति सेनामा एक गीत निकै चर्चित भएको थियो–

बाचे भने तीन लाख
मरे सात लाख पाइने...

बुबा पनि लोकसंगीतमा रुचि राख्नुहुन्थ्यो । उहाँ लोकदेउडा र ठाडी भाका भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । 

त्यसैले पनि होला– उहाँले लेबनानबाट घर फर्कदा टेप (टेपरेकर्ड) ल्याउनुभएको थियो । स्वदेश पुगेपछि देउडा गीतका केही क्यासेट पनि किन्नुभयो । 

त्यसपछि त घर नै संगीतमय बनेको थियो । घरमा दिनभरजसो लोकदेउडा तथा ठाडी भाका धन्किन्थे । स्कुलबाहेकको समयमा म हजुरबुबाको छेउमा बसेर टेप सुन्थें । त्यसले गीत–संगीतप्रति मलाई मोहनी लगायो । 

बुबा पनि ठाडी भाका गाउनुहुन्थ्यो । र, कहिलेकाहीँ टेपमा रेकर्ड पनि गर्नुहुन्थ्यो । उहाँले रेकर्ड गर्नुभएको ठाडी भाका सुनेर मलाई आनन्द लाग्थ्यो । उहाँ भावमा डुबेर गीत गाउनुहुन्थ्यो । उहाँकै ठाडी भाका सुनेरै मलाई संगीतमा क्षेत्रमा क्रियाशील हुने प्रेरणा मिलेको हो । 

रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र, दिपायलबाट देउडा गीत तथा ठाडी भाका बज्थ्यो । म ध्यान दिएर गीत सुन्थे । 

मलाई लोकदेउडा गीतले ‘मोहनी’ लगाइसकेको थियो । यसै ‘मोहनी’कै परिणाम मैले २०५४ सालमा १४ वर्षको उमेरमा लोकदेउडा गीति एल्बम ‘सुन्तली बोट’ एल्बम बजारमा ल्याए । त्यो एल्बमको शीर्ष गीत सबैले मनपराइदिनुभयो । शिक्षक, अग्रज, साथीभाइले राम्रो छ भनेर हौसला दिनुभयो । यसले म हौसिए । मलाई लोकदेउडा क्षेत्रमा सशक्त भएर काम गर्ने ऊर्जा मिल्यो । त्यसपछि सभा, समारोहसँगै विद्यालयका कार्यक्रममा पनि लोकदेउडा गीत गाउने अवसर पाए । 

मलाई गुरुद्वय वीरबहादुर मल्ल र श्याम सर, लेखापाल तथा कवि आत्माराम गौतम र साहित्यकार ऋचा लुइँटेल दिदीको निरन्तर प्रेरणा दिइरहनुहुन्थ्यो । 

त्यसको केही समयपछि मैले अर्काे गीति एल्बम ‘परदेशी दुःखारी’ बजारमा ल्याए । 

अहिलेसम्म मैले ९ गीति एल्बम बजारमा ल्याइसकेको छु । यस्तै, सयभन्दा बढी गीतमा स्वर दिइसकेको छु । 

मैले आफ्ना गीति एल्बममा सुदूरपश्चिमको संस्कृति उजागर गर्ने खालका गीत समेटेको छु । यस्तै, हास्य, प्रेम, रोदनलगायत भावलाई गीतमार्फत् अभिव्यक्त गरेको छु । मेरा गीत दर्शक तथा स्रोताले गीत मनपराइदिनुभएको छ । 

कार्यक्रमकै लागि देश÷विदेश पुगेको छु । यस्तै, मेला तथा महोत्सवमा गीत गाउन निम्तो आउने गरेको छ । 

गीत–संगीत क्षेत्रमा दर्शक–स्रोताले देखाउनुभएको मायाप्रति आभारी छु । आगामी दिनमा यसै क्षेत्रमा क्रियाशील हुने योजना छ । 

(लोकसंवादकर्मी लक्ष्मण ओझासँगको कुराकानीमा आधारित)