हजारभन्दा बढी ज्येष्ठ नागरिकले आठ महीनादेखि सामाजिक सुरक्षाभत्ता पाएनन्

हजारभन्दा बढी ज्येष्ठ नागरिकले  आठ महीनादेखि सामाजिक सुरक्षाभत्ता पाएनन्

लोकसंवाद संवाददाता  |  समाज  |  असार ९, २०७६

सप्तरी । सप्तरी बोदे बर्साइन नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिलाले सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करीब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत आठ महीनादेखि सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् । 

गत वर्षको मङ्सिर महीनायता सामाजिक सुरक्षाभत्ताबापत कुनै रकम पाउन नसकेको बोदे बर्साइन नगरपालिका–१ का ज्येष्ठ नागरिक शिवनन्दन यादवले बताउनुभयो । चालू आर्थिक वर्षको दोस्रो र तेस्रो किस्ताबापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको ज्येष्ठ नागरिकको गुनासो छ । 

   सामाजिक सुरक्षाभत्ताकै रकमबाट औषधि उपचार गराइरहेको थिए, बोदे बर्साइन– ५ का स्थानीयवासी ८१ वर्षीय फुलेश्वर दासले भन्नुभयो, 'श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउनसमेत समस्या भएको छ ।' भत्ताबापतको रकमका लागि पटकपटक वडादेखि नगरपालिकाको कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको उहाँको गुनासो छ । 

 मन्त्रालयबाट नै सोबापतको रकम आउन ढिलाइ भएकाले ज्येष्ठ नागरिक तथा एकल महिला लगायतले पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको नगरपालिकाका प्रमुख आतेशसिंह यादवले बताउनुभयो । 

उहाँले अब मन्त्रालयबाट रकम निकासा भइसकेकाले केही दिनभित्रै सबै सेवाग्राहीको बैंकमा खाता खुलाएर दुवै किस्ताको रकम एकैपटक वितरण गरिने नगरप्रमुख यादवको भनाइ छ ।