सबै क्षेत्रको सहयोगमा भ्रमण वर्ष २०२० सफल पारिने

सबै क्षेत्रको सहयोगमा भ्रमण वर्ष २०२० सफल पारिने

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार १०, २०७६


काठमाडाै । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला निकायले सक्रियता देखाएका छन् ।

भ्रमण वर्षलाई लिएर विभिन्न टीका टिप्पणी भइरहेको सन्दर्भमा सरकारी निकाय तथा निजी क्षेत्रका पर्यटन व्यवसायीले भ्रमण वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धनको उपयुक्त अवसर रहेकाले यसलाई सफल पार्न सबै क्षेत्रको सहयोग चाहिने खाँचो औँल्याउनुभएको छ ।

राष्ट्रिय पर्यटन पत्रकार सङघ (नाटोज)को छैटौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भ्रमण वर्षलाई अवसरका रुपमा लिएर प्रवद्र्धनको अभियानलाई प्रभावकारी बनाउन सबैको सक्रियता चाहिने बताउनुभयो । 'भ्रमण वर्षबारे केही व्यवसायीले चिन्ता व्यक्त गर्नुभएको छ, यतिबेला चिन्ता र गुनासो हैन कसरी प्रभावकारी बनाउने भन्नेबारे चिन्तन मनन गर्न जरुरी छ । यो अवसरको सदुपयोग गरी परिणाममुखी बनाउन सरकार तथा व्यवसायी जिम्मेवार भएर लाग्नुपर्छ ।' संरक्षण क्षेत्रमा जाने पर्यटकको आकर्षण बढ्दै गएको तथा नेपाल घुम्न आउने पर्यटकमध्ये करीब ६० प्रतिशतले राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा भ्रमण गर्ने गरेको मन्त्री बस्नेतले तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

प्रवेशका लागि दोहोरो शुल्क लिने गरेको व्यवसायीको गुनासोको जवाफ दिँदै मन्त्री बस्नेतले संरक्षित क्षेत्रको संरक्षण, वातावरण सहज र पर्यटनमैत्री बनाउनका लागि व्यवस्थित गर्ने काम भएकाले अन्तरमन्त्रालय छलफल गरी शुल्कमा एकरुपता ल्याइने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन, व्यावसायिकीकरण तथा सेवा स्तरीकरणका लागि सम्बन्धित निकायको सहयोग र समन्वयको खाँचो औँल्याउनुभयो । 'जतिसक्दो चाँडो प्रवद्र्धनका गतिविधि सञ्चालन गर्नुपर्छ', उहाँले भन्नुभयो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भ्रमण वर्षलाई ध्यानमा राखेर पर्यटकीय पूर्वाधार विकास, गुणस्तरीय सेवा तथा नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनका कामलाई प्राथमिकता दिइएको बताउनुभयो । भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।

भ्रमण वर्षको प्रवद्र्धनको समयावधि थोरै रहेकाले विवाद र उल्झनबाट टाढिएर प्रवद्र्धनका कार्मलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने व्यवसायीको माग छ । भ्रमण वर्ष सन् २०११ का राष्ट्रिय कार्यक्रम संयोजकसमेत रहिसक्नुभएका वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यले तत्कालीन भ्रमण वर्ष अभियानका चुनौती र सम्भावनाको अनुभव सुनाउनुभयो । 'अघिल्ला दुई भ्रमण वर्ष सन् १९९८ ‘भिजिट नेपाल’ मनाउँदा पर्यटन क्षेत्रमा सबै क्षेत्रले गाली मात्रै गर्ने र सन् २०११ को नेपाल भ्रमण वर्ष मनाउँदा विभिन्न पक्षको त्रास बेहोर्नुपर्ने अवस्था थियो । अहिले स्थिर सरकार छ । पर्यटकीय पूर्वाधार धमाधम बन्दैछ, त्यसैले चुनौती हैन भ्रमण वर्षका लागि उपयुक्त अवसर छ । यसलाई साझा अभियानका रुपमा अघि बढाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्ष मनाएर उल्लेख्य सङ्ख्यामा बाह्य पर्यटक आकर्षित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनका विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । उहाँले भ्रमण वर्ष अभियानअन्तर्गत पर्यटन लगानी सम्मेलन, भारत र चीनमा नेपाल प्रवद्र्धनलगायत कार्यक्रम गरिने उल्लेख गर्नुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले स्थिर सरकार गठन भएको र पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाइरहेको सन्दर्भमा भ्रमण वर्ष घोषणा आफैँमा अवसर भएको बताउनुभयो ।

पर्यटन व्यवसायी कमल सापकोटाले भ्रमण वर्षलाई सार्थक बनाउन नयाँ गन्तव्य प्रवद्र्धन र गाउँसम्म पर्यटन विस्तारका कार्यक्रम चलाइनुपर्ने खाँचो औँल्याउनुभयो । नाटोजका अध्यक्ष शिव अधिकारीले भ्रमण वर्षलाई राष्ट्रिय पर्वकै रुपमा अघि बढाउन सबै क्षेत्रको सक्रियता चाहिने बताउनुभयो । सो अवसरमा सगरमाथा आरोही कल्पना महर्जन तथा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यवसायीलाई सम्मान गरिएको थियो ।