लाइफ इज सो ब्युटिफुल !

लाइफ इज सो ब्युटिफुल !

निर्जला कक्षपति  |  जीवनशैली  |  असार १०, २०७६

अचेल मलाई नकारात्मक समाचार पढ्ने मन नै लाग्दैन । संचारकर्मी भएपछि यो कुरा सम्भव त हुँदो रहेनछ । तर पनि भर्सक यस्ता समाचार म पढ्दिनँ । बरु, अरुबाट थाहा पाउने कोसिस गर्छु । यसो गर्न थालेको केही वर्ष हुन लाग्यो । त्यसैले हत्या, बलात्कार, कुटपिट, झै–झगडा, यातना लगायतका समाचार मेरा प्राथमिकतामा पर्दैनन् । यस्ता समाचार पढेपछि म दिनभरण् दुःखी हुने गर्छु । यस्ता समाचारले मेरो पोजिटिभ इनर्जी घटाइदिन्छ । सामाजिक सञ्जाल र टेलिभिजनमा देखिने यस्ता हिंसाका घटनाले मेरो मानसिकतामा एक प्रकारको घृणा, द्वेस, नैराश्यता अनि दिक्क सिर्जना गर्छ । बिहान उठेपछि मेरो दिनभरीको समय फलदायी रहोस् भन्ने मनोकांक्षालाई सायद यस्ता घटनाले दिग्भ्रमित पार्ने गर्छन् । हत्या, बलात्कार लगायतका नकारात्मक समाचार मिडियामा आउँदै नआउन् भन्ने मनशाय अवश्य होइन । यसले मेरो मन र मस्तिष्कमा असर पार्ने भएकाले अलि टाढा छु भन्न मात्र खोजेकी मात्र हुँ । 

मानिसको स्वभाव नै हो कि ऊ बाँचुन्जेल आफ्नो जीवन सुखी र खुसी होस् भन्ने चाहन्छ । जो व्यक्ति कर्मशील जीवन बिताउँछ, त्यसको जीवन सहज हुन्छ, यसमा दुईमत नै छैन । दिनभर काममा व्यस्त हुने हुनाले पनि उसको दिमागमा नराम्रा कुरा खेल्न पाउँदैनन् । व्यस्त भएपछि नराम्रा कुरा सोचिँदैनन् पनि ।

विज्ञानले पनि भनेको छ कि जसले दिमागमा नकारात्मक कुरा खेलाउँदैनन् अनि खुसी साथ आफ्नो जीवन जिउँछन्, त्यस्ता व्यक्ति निरोगी हुन्छन् । खुसी रहनु यसको अचुक औषधी पनि हो । रोग लागेको व्यक्ति पनि खुसी साथ रहन सक्यो भने उसको आधा रोग यसै हराएर जान्छ । 

यति मात्र होइन, बिहान उठ्दा खुसी भइयो भने त्यो दिन गरिने काम सहज लाग्छन्, भेटिएका मानिस रमाइला र प्यारा लाग्छन् तथा काम गर्ने उत्साह आउँछ । तर, बिहान उठ्दा दिक्क लाग्यो भने त्यो दिन नैराश्यता, केही गर्न मन नलाग्ने, रिस उठ्ने अनि जीवन बोझ लाग्न थाल्छ । 

खुसी रहने अर्को उपाय भनेको सत्य बोल्नु पनि हो । सधैं सत्कर्म गर्ने, लगनशील हुने, कसैलाई नराम्रो वचन नलगाउने, अरुको भलाई हुने काम गर्ने, अरुको बानी सुधार्ने प्रयासतर्फ नलाग्ने, अरुलाई सहयोग गर्नेलगायत कामले मनमा सन्तुष्टि मिल्छ ।

के हो त खुसी ? अनि खुसी कसरी रहने ? यी गम्भीर प्रश्न हुन् । खुसी सुन्दा जति सहज छ, यो पाउन कठिन छ । तर, जीवनलाई सरल बनाउने हो भने पाइलैपिच्छे हामी खुसी भेटाउन सक्छौं । जानेर वा नजानेर हामी आफ्ना बच्चालाई सानो उमेरदेखि नै राम्रो घर, महँगा गाडी अर्थात् भौतिक विलासिताले मात्र जीवनमा खुसी ल्याउँछ भनेर सिकाउँछौं । हाम्रा बच्चा पनि त्यसैमा सुखी र खुसी देख्छन् । महँगा गाडी चढेर हिँड्छन्, विलासिताको सामान उपभोग पनि गर्छन् । तर, उनीहरू खुसी हुँदैनन् । कोही बच्चा बिहान उठेदेखि नै टेन्सनमा हुन्छन् । फलानो साथीले यति करोडको गाडी चढेर हिँड्छ, अत्याधुनिक घरमा बस्छ भनेर उनले मन भित्रभित्रै अरुसँग दाँज्न खोज्छ र ऊ दुःखी हुन्छ । भौतिक सुख–सुविधाले मात्र जीवन सुखी हुँदैन भन्ने कुरा अभिभावकले छोराछोरीलाई बुझाउन सकेका छैनन् । त्यसैले भौतिक सुख सुविधाले जिउन सहज तुल्याए पनि जीवन सुखमय र खुसी हुन्छ भनेर बुझ्नु बिल्कुलै भ्रम मात्र हो । तर, भौतिक सुखले नै जीवनमा खुसी ल्याउँछ भन्ने ठानेर मानिस जिन्दगीभर यसैका पछाडि लागिरहन्छन् । रूपैयाँ, जग्गा– जमिन, बैंक ब्यालेन्स लगायत कुरालाई सुख ठान्नेको जमात सहरमा बाक्लो छ । यस्ता कुराले मानिसको जीवनमा सुख ल्याउँथ्यो भने सायद संसारका धेरै धनी मानिसको अनुहारमा खुसी देख्न पाइन्थ्यो होला ।  

खुसी रहन सक्नु नै सुखी हुनु हो । मानिसका खुसी प्राप्त हुने क्षण र अवस्था फरक हुन सक्छन् । कोही जीवनमा सानो केही कुरा पाउँदा पनि खुसी हुन्छन् भने कोही खर्बौं सम्पत्ति पाउँदा पनि खुसी हुन सक्दैनन् । त्यसैले खुसी पाउने तौरतरिका भिन्न हुन सक्छन् । आर्थिक संकट हुँदा कतैबाट थोरै रकम मिल्यो भने मानिस खुसी हुन्छ । आफूले चिताएको कुरा पूरा हुँदा प्राप्त हुने खुसीको वर्णन गरी साध्य हुँदैन । छोरीछोरी गन्तव्य पुग्दा बाबुआमालाई लाग्ने खुसीको वर्णन नै गर्न सकिँदैन । त्यसैले मान्छेको आवश्यकता, लक्ष्य र उद्देश्य व्यक्तिपिच्छे फरक हुने भएकाले आफ्नो उद्देश्य र लक्ष्य पूरा हुँदा नै मानिसको अनुहारमा खुसी देख्न सकिन्छ । तर, मानिसले आफूले पूरा गर्न नसक्ने ठूल्ठूला महत्वाकांक्षा राख्दा दुःख अवश्य पाइन्छ । 

खुसी रहने अर्को उपाय भनेको सत्य बोल्नु पनि हो । सधैं सत्कर्म गर्ने, लगनशील हुने, कसैलाई नराम्रो वचन नलगाउने, अरुको भलाई हुने काम गर्ने, अरुको बानी सुधार्ने प्रयासतर्फ नलाग्ने, अरुलाई सहयोग गर्नेलगायत कामले मनमा सन्तुष्टि मिल्छ । 

म सानो छँदा आमाले भन्नुहुन्थ्यो– नानी कसैसँग नमिठो नबोल है । बोलीमा ईश्वरको बास बसेको हुन्छ । त्यसैले छुद्र नबन है । 

हुन पनि जीवनमा म छुद्र कहिल्यै भइनँ । आमाको भनाइ थियो– मिठो बोल्दा सबैको प्रिय होइन्छ । छुद्र बोलीका कारण अरु व्यक्ति तिमीसँग सधैं दुःखी हुन्छन् । 

हाम्रो धर्मशास्त्रमा पनि भनिएको छ– दीन–दुःखी र नसक्नेलाई सहयोग गर्नु पर्छ । गुरुलाई सकेको दान गर्नु पर्छ, यसो गर्दा पुण्य पाइन्छ । पुण्य पाइन्छ कि पाइँदैन, त्यो कुरा थाहा भएन । तर, आफूले सक्दो सहयोग र दान गर्दा सन्तुष्टि भने  अवश्य मिल्ने गर्छ । यसरी सन्तुष्टि मिल्दा जीवनमा खुसी भइन्छ । 

त्यसैले जसले जीवनको अर्थ बुझ्छ, त्यो व्यक्तिले जीवन एकदमै इन्जोय गरेर बाँच्छ । जीवन बुझ्ने हो भने हरेक पल यसको महत्व बुझिन्छ । आखिर के भरोसा छ र यो जीवनको । कतिबेला टुंगिन्छ थाहा नै हुँदैन । त्यसैले आफूसँग जे छ त्यसैमा सन्तुष्टि लिने, सधैं सकारात्मक सोच राख्ने, सहयोग गर्ने, अनि जीवनलाई सधैं ऊर्जाशील बनाउने हो भने एकवारको यो जीवन रंगीन बन्नेछ ! लाइफ इज सो ब्युटिफुल !