भारतीय ट्रक रहेकाे  तरकारीको विषादी परीक्षण शुरु

भारतीय ट्रक रहेकाे  तरकारीको विषादी परीक्षण शुरु

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १०, २०७६


बाँके । नेपाल–भारत सीमाको जमुनाहा नाकाबाट भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण शुरु भएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले परीक्षणबिना फलफूल तथा तरकारी नेपाल भित्र्याउन रोक लगाएपछि परीक्षण शुरु गरिएको हो ।

विषादी अन्वेषण द्रुत विश्लेषण एकाइ नेपालगञ्जका अनुसार आइतबार मात्रै ११ वटा ट्रकमा ल्याइएका फलफूल तथा तरकारीको गुणस्तर परीक्षण गरिएको छ ।

वाणिज्यको पत्रानुसार अब गुणस्तर जाँचपछि मात्रै फलफूल तथा तरकारी नेपाल भित्र्याउन पाइने छ । यसअघि भन्सारबाट निर्वाधरुपमा भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण अनिवार्य गरिए पनि त्यसको जाँचका लागि नेपालगञ्जमा पर्याप्त व्यवस्था भने गरिएको छैन । नेपालगन्जमा विषादी द्रुत विश्लेषण एकाइले फलफूल तथा तरकारीको गुणस्तर जाँच गरिरहेको छ ।

नयाँ व्यवस्थापछि परीक्षणका लागि आउने फलफूल र तरकारीको चाप बढेको छ । विषादी अन्वेषण दु्रत विश्लेषण एकाइका प्रमुख सकिल अहमदले भन्नुभयो, 'आइतबार आएका ११ वटा ट्रकको नमूना परीक्षण गरी पठाएको छु, सोमबार पनि २२ ट्रकका ४० वटा ट्रकका नमूना परीक्षणका लागि आएका छन् ।' 

सो एकाइमा कामको चाप बढे पनि सकिल एक्ला कर्मचारी हुनुहुन्छ । बढ्दो चाप थेग्नका लागि थप चार जना कर्मचारी आवश्यक पर्ने उहाँले बताउनुभयो ।'एउटा नमूना परीक्षणका लागि करीब ३० मिनेटसम्म लाग्छ”, उहाँले भन्नुभयो, 'परीक्षणका लागि आउने नमूना बढ्दै जाने हो भने थप कर्मचारी आवश्यक पर्छ ।'

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले गुणस्तर परीक्षण नभएका मालवाहक ट्रकको जाँच पास रोकेको बताउनुभयो । “भन्सारमा आउने तरकारी तथा फलफूलको नमूना सङ्कलन गरेर विषादी दु्रत विश्लेषण एकाइ परीक्षणका लागि पठाइने गरेको छ”, उहाँले भन्नुभयो, “परीक्षणमा विषादी फेला परे सामानको जाँचपास गरिने छैन ।” विषादी परीक्षणका कारण भन्सारबाट वस्तु भित्रिन थप समय भने लाग्नेछ । नेपालगञ्ज भन्सार भएर विभिन्न जिल्लाका लागि दैनिक सरदर १० वटा तरकारी तथा फलफूलका ट्रक भित्रिने गरेका प्रमूख निरौलाले बताउनुभयो । उहाँले विषादी छ÷छैन भन्नेबारे परीक्षणपछि मात्रै थाहा हुने र सोही आधारमा ट्रकलाई जाँचपास दिने गरेको बताउनुभयो । “विषादीयुक्त पाइएमा ट्रक फिर्ता पठाउछौँ”, उहाँले भन्नुभयो । भन्सार कार्यालयबाट झण्डै पाँच किलोमिटर दूरीमा रहेको रानी तलाउमा विषादी अन्वेषण दु्रत विश्लेषण एकाइको कार्यालय रहेको छ । विषादी अन्वेषण दु्रत विश्लेषण एकाइका प्रमुख अहमदले परीक्षणका क्रममा विषादीको मात्रा ३५ प्रतिशतभन्दा बढी भएमा त्यसलाई खान नमिल्ने बताउनुभयो । यदि ३५ देखि ४५ प्रतिशतसम्म भएमा क्यारेन्टाइन गर्नुपर्ने र त्यसभन्दा माथि भएमा डिस्पोज नै गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले सीमाबाट भित्रिने खाद्य पदार्थको विषादीको जाँच उपभोक्ताको स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपालमा प्रतिबन्धित क्लोरडाइन, डीडीटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, मोनोक्रोटोफस, लिण्डेन, बीएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, इण्डोसल्फेन जस्ता विषादी अवैध रुपमा विक्री वितरण हुने गरेका र तरकारी खेतीमा प्रयोग हुने अधिकांश विषादी भारत र अन्य मुलुकबाट आयात हुने गर्छन् । त्यसलाई नियमन गरेर आखाद्य वस्तु भित्रिन नदिन सरकारले विषादीको मात्रा जाँच गर्न थालेको हो । विषादी प्रयोग गरेका बालीनाली कति दिनसम्म टिपेर विक्री वितरण र उपभोग गर्ने भन्नेबारे किसानले ध्यान नदिँदा त्यस्ता तरकारी र खाद्यान्न प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको छ । विषादियुक्त तरकारी र खाद्यान्न प्रयोगले श्वासप्रश्वास, छाला, नसाका साथै स्मरणशक्ति, प्रजनन् क्षमतामा असर पर्ने बताइएको कुरा राससकाे लागि काशीराम शर्मा लेख्नु भएकाे छ ।