बढैयातालमा ६० लाखको  कृषि पकेट क्षेत्र

बढैयातालमा ६० लाखको  कृषि पकेट क्षेत्र

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १२, २०७६

 बर्दिया । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ । माछा उत्पादनसँगै गाउँपालिकामा आलुको बीउ उत्पादन र व्यावसायिकरुपमा तरकारीखेती पनि हुँदै आएको छ ।

 यो गाउँपालिकाका करीब ८५ प्रतिशत स्थानीय मानिसहरु कृषि पेशामा आबद्ध  रहँदे आएका छन् । यस वर्ष गाउँपालिकाले कृषि क्षेत्रका लागि रु ६० लाख बजेट विनियोजन गरेपछि माछा उत्पादनका साथै अन्य बाली उत्पादन बढ्ने विश्वास गरिएको छ ।

गाउँपालिका बर्दियाको पूर्व–दक्षिण भागमा पर्दछ । मैनापोखर, भोलागौढी र शीतलाबजार बजार क्षेत्र हो भने अन्य सबै क्षेत्रका स्थानीय मानिसहरु कृषि पेशामा आबद्ध छन् । 

गाउँपालिकाको आठ हजार हेक्टरमा खेती हुदै आएको छ भने ८५ प्रतिशत स्थानीय मानिस कृषिमा आश्रित छन् । स्थानीयवासी कृषिमा आश्रित भएकाले कृषि उत्पादनलाई जोड दिइरहेको बताउनुहुन्छ वडा नं ४ का अध्यक्ष कर्णबहादुर थापा । थापाका अनुसार, बढैयाताल गाउँपालिकामा माछा र आलुको बीउको राम्रो उत्पादन हुदै आएको छ । 

करिब ४० जना किसानले माछापालन गरिरहेका छन् भने २०० किसानले तरकारी र आलुखेती गर्दै आएका छन् । राज्यले कृषिका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसके पनि कृषिलाई टेवा पुग्ने कार्यक्रम गरिरहेको छ । 

गाउँपालिकामा स्थानीयस्तरमा उत्पादन भएको तरकारी शीतला हाटबजार, पशुपति हाटबजार, सीतापुर हाटबजार र मैनापोखरबाट बिक्री वितरण हुँदै आएको छ । मैनापोखरी र कालिकामा वर्षेनी ४०० टन आलुको बीउ र एक हजार ४०० टन आलु उत्पादन हुन्छ ।

 गाउँपालिकामा परम्परागत तरिकाबाट किसानले खेती गर्दै आएका छन् । किसानले तरकारीका अलावा धान, गहुँ , मकै, मुसुरो, केराउ, अरहरलगायतका अन्नबाली पनि उत्पादन गर्दै आएका छन् । गाउँपालिकाले यो वर्ष कृषिका लागि ६० लाख निःशर्त बजेट र १८ लाख सःशर्त बजेट विनियोजन गरेर कृषिका लागि छनोट गरेका योजनाको कार्यान्वयनको तयारी गरेको छ । 

कृषि शाखाबाट प्रवाह भइरहेको सेवामा स्थानीयलाई पहुँचमा पुर्‍याउन वडाका जनप्रतिनिधिले नै बढी भूमिका खेल्नुपर्ने स्थानीयको माग छ । विगतका दिनमा जिल्ला कृषि विकास कार्यालयबाट प्रवाह हुँदै आएको कृषि सेवा अहिले स्थानीय तहबाट प्रवाह भइरहेको छ ।

गाउँपालिकाले पनि कृषि शाखामार्फत सेवा प्रवाह गरिरहेको छ । तर सबै स्थानीयले कृषि शाखाबाट प्रवाह भइरहेको सेवाको सही उपभोग गर्न सकेका छैनन् । 'हामीले कृषि विकास शाखाबाट प्रवाह हुँदै आएको सेवा समयभित्र पाउन सकेका छैनौँ, यो सेवा प्रवाहलाई सहज बनाउनुपर्छ', गाउँपालिका–३ का स्थानीय किसान रामकुमार थारुको भनाइ छ ।

बजेट अभावले चाहेर पनि गाउँपालिकाले पर्याप्तरुपमा कृषि सेवा दिन सकेको छैन । गाउँपालिकामा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर किसानका लागि खर्च हुने गरेको छ । सरकारले कृषिमा आधुनिकीकरण गर्ने भने पनि कृषिका लागि भने न्यून बजेट छुट्याउने गरेको वडाध्यक्ष थापाले बताएको समाचार राससको लागि नीरज गौतमले लेख्नु भएको छ ।