एकदिवसीय विश्वकप क्रिकेट : पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै

एकदिवसीय विश्वकप क्रिकेट : पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १२, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । 

बुधबार राति तेस्रो जित निकाल्दै पाकिस्तानले सेमिफाइनल सम्भावना कायमै राखेको हो । पाकिस्तानले ७ खेलबाट ७ अंक बटुलेको छ । 

तेस्रो जित निकाल्ने क्रममा पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्यो । २३८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९.१ ओभरमा ४ विकेट गुमाएर २४१ रन बनायो । बाबर आजमको अभिजित १०१ र हारिस सोहिलको ६८ रनको पारीको मद्दतमा पाकिस्तानले खेल जितेको हो । पाकिस्तानका लागि मोहम्मद हफिज ३२, इमाम उल हक १९ र फकर जमानले ९ रन जोडे । कप्तान सरफराज अहमदले अभिजित रहँदै ५ रन बनाए । 

न्युजिल्याण्डका लागि ट्रेन्ड बोल्ट, केन विलियम्सन र लक्की फरगुसनले समान १ विकेट लिए । एक खेलाडीलाई मार्टिन गुप्टिलले रनआउट गरे । न्युजिल्याण्डले पाकिस्तानविरुद्ध ८ बलर प्रयोग गरे पनि सफल हुन सकेन । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर २३७ रनको सामान्य योगफल तयार गर्यो । न्युजिल्याण्डले सुरुवातमै राम्रो प्रदर्शन गर्न सकेन । १.१ ओभरमा मार्टिन गुप्टिलका रूपमा पहिलो विकेट गुमाएको न्युजिल्याण्डले २६.२ ओभर हुँदा ८३ रनमा ५ विकेट गुमाइसकेको थियो । त्यसपछि जेम्स निसम र कोलिन डि ग्रान्डहोमले छैठौं विकेटका लागि १३२ रनको साझेदारी गरेपछि टिमको पारी उकासिएको थियो । तर, ४७.४ ओभरमा ग्रान्डहोम रनआउट भए । 

निसमले अभिजित रहँदै ९७ रन जोडे । ग्रान्डहोमले भने ६४ रन बनाए । केन विलियम्सले ४१ र कोलिन मुनरोले १२ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । 

साहिन शाह अप्रिदीले ३ तथा मोहम्मद आमिर र सादब खानले समान १ विकेट लिए । 

खेलको म्यान अफ दि म्याच बाबर आजम घोषित भए ।