यसरी पुग्न सक्छ पाकिस्तान सेमिफाइनल

यसरी पुग्न सक्छ पाकिस्तान सेमिफाइनल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १२, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले तेस्रो जित निकाल्दै सेमिफाइनलको सम्भावना कायमै राखेको छ । 

तर, पाकिस्तानलाई सेमिफाइनलमा स्थान बनाउनु ‘फलामको चिउरा चपाउनुजस्तै’ छ ।

अंकतालिकाका पाकिस्तान छैठौं स्थानमा छ । पाकिस्तानको ७ खेलबाट ७ अंक छ । 

अंकतालिकामा पाकिस्तानभन्दा अगाडि अस्ट्रेलिया, न्युजिल्याण्ड, भारत, इग्ल्याण्ड र बंगलादेश छन् । अस्ट्रेलिया सेमिफाइनल पुगिसकेको छ । अस्ट्रेलियाको ७ खेलबाट १२ अंक छ ।

समान खेल खेलेको न्युजिल्याण्डको ११ अंक छ । ५ खेल मात्रै खेलेको भारतको ९ अंक छ भने ७ खेल खेलेको इग्ल्याण्डको ८ अंक छ । समान खेल खेलेको बंगलादेशको पाकिस्तानभन्दा रनरेटका आधारमा मात्रै अगाडि छ । यता सातौं स्थानको श्रीलंकाको ६ खेलबाट ६ अंक छ भने वेस्ट इण्डिजको ६ खेलबाट ३ अंक मात्रै छ । 

त्यसकारण पाकिस्तानलाई सेमिफाइनल पुग्न राउन्ड रोबिन चरणका बाँकी खेल जितेर मात्र हुँदैन, अन्य टिम पराजित पनि हुनुपर्नेछ । 

पाकिस्तानले अफगानिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ ।

यस्तो छ अवस्था 

दुई खेल जितेमा 

राउन्ड रोबिन चरणका बाँकी दुई खेल जितेमा पाकिस्तानको ११ अंक हुनेछ । यो अवस्थामा पाकिस्तानलाई सेमिफाइनल पुग्न भारतले चार खेलमा तथा बंगलादेश र श्रीलंकाले कम्तीमा एक खेलमा पराजित हुनुपर्नेछ । यो अवस्थामा पाकिस्तानको अंक भारत, बंगलादेश र श्रीलंकाभन्दा बढी हुनेछ ।

भारतले चार खेलमध्ये तीनमा फराकिलो हार भोगेमा पनि पाकिस्तान सेमिफाइनल पुग्न सक्छ । तर, यो अवस्थामा पाकिस्तानलाई बाँकी दुई खेलमा फराकिलो जित आवश्यक पर्नेछ भने बंगलादेश र श्रीलंकाले कम्तिमा एक खेलमा पराजित हुनुपर्नेछ । यो अवस्थामा पाकिस्तान र भारतको अंक ११ हुनेछ । र, भारतलाई रनरेटका आधारमा पछि पार्दै पाकिस्तान सेमिफाइनल पुग्नेछ । 

न्युजिल्याण्डले बाँकी दुई खेलमा फराकिलो हार भोगेमा पनि पाकिस्तान सेमिफाइनल पुग्न सक्छ । तर, यो अवस्थामा पनि पाकिस्तानलाई बाँकी दुई खेलमा फराकिलो जित आवश्यक पर्नेछ भने बंगलादेश र श्रीलंकाले कम्तिमा एक खेलमा पराजित हुनुपर्नेछ । यो अवस्थामा न्युजिल्याण्ड र पाकिस्तानको समान ११ अंक हुनेछ । र, न्युजिल्याण्डलाई रनरेटका आधारमा पछि पार्दै पाकिस्तान सेमिफाइनल पुग्नेछ । 

इग्ल्याण्डले एक खेलमा पराजित भएको खण्डमा पनि पाकिस्तानको सेमिफाइनल पुग्न सक्छ । यो अवस्थामा पनि बंगलादेश र श्रीलंकाले कम्तिमा एक खेलमा पराजित हुनुपर्नेछ । यो अवस्थामा इग्ल्याण्डको १० अंक मात्रै हुनेछ । र, पाकिस्तान सेमिफाइनल पुग्नेछ । 

एक खेल जितेमा 

पाकिस्तानले राउन्ड रोबिन चरणको एक खेल जितेमा पनि सेमिफाइनल पुग्न सक्छ । यो अवस्थामा पाकिस्तानको ९ अंक हुनेछ । यो अवस्थामा पाकिस्तान सेमिफाइनल पुग्न भारत चार वटै खेलमा फराकिलो अन्तरमा पराजित हुनुपर्नेछ । यससँगै बंगलादेश र श्रीलंका दुई तथा वेस्ट इण्डिज एक खेलमा पराजित हुनुपर्नेछ । यो अवस्थामा भारतको ९, बंगलादेशको ७, श्रीलंकाको ८ र वेस्ट इण्डिजको ७ अंक हुनेछ । र, पाकिस्तान रनरेटका आधारमा भारतलाई पछाडि पार्दै सेमिफाइनल पुग्नेछ । 

इग्ल्याण्डले बाँकी दुई खेलमा पराजित भएको अवस्थामा पनि पाकिस्तान सेमिफाइनल पुग्न सक्छ । यो अवस्थामा पनि बंगलादेश र श्रीलंका दुई तथा वेस्ट इण्डिज एक खेलमा पराजित हुनुपर्नेछ । यो अवस्थामा इग्ल्याण्ड र श्रीलंकाको ८, बंगलादेशको ७ अंक हुनेछ । यही अवस्थामा बंगलादेशकाे एकमा फराकिलो हार र एकमा झिनो जित भएमा पनि पाकिस्तान सेमिफाइनल पुग्न सक्छ । तर, यो अवस्थामा पाकिस्तानलाई बाँकी दुई खेलमा फराकिलो जित आवश्यक हुन्छ । यो अवस्थामा बंगलादेशको ९ तथा इग्ल्याण्ड र श्रीलंकाको ८ अंक हुनेछ । र, रनरेटका आधारमा बंगलादेशलाई पछि पार्दै पाकिस्तान सेमिफाइनल पुग्नेछ ।