थिमि भैलः नाचलाई श्रीगोपाल कला पुरस्कार

थिमि भैलः नाचलाई श्रीगोपाल  कला पुरस्कार

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार १२, २०७६

थिमि ।   थिमि कला परिषद थिमिले यस वर्षको श्रीगोपाल कला सिरपा (पुरस्कार)–११३९ मध्यपुर थिमि नगरपालिकाको वडा नंं ५ स्थिति थिमि भैलः नाच (तुलननी टोल) कुम्हाननीलाई प्रदान गर्ने भएको छ ।

परिषदको सम्पन्न कार्यसमितिको बैठकले तुलननीको थिमि भैलः नाच १९९७ सालदेखि निरन्तर रुपमा मञ्चन गरी थिमिका सांस्कृतिक संरक्षण र सम्बद्र्धनमा योगदान पुर्‍याए बापत सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । रु. २५००१/- धनराशी रहेको सो पुरस्कारका साथ ताम्रपत्र र चांदीको पदक समेत रहेको छ ।

सो पुरस्कार छनौट गर्न पुरस्कारका दाता गणेशराम प्रजापतिको संयोजकत्वमा बाद्यगुरु प्रा. न्हुच्छेबहादुर डंगोल र तुलसीराम प्रजापति सदस्य रहको सिफारिश समिति गठन गरेको थियो । परिषदका अनुसार हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यो दसौं पटकको हो  । यस अघि उक्त पुरस्कार वागलुङ्ग जिल्लाको हनुमान नाचलाई प्रदान गरिएको थियो । 

थिमि कला परिषदका  सचिव  ज्ञानराम श्रेष्ठका अनुसार २०७६  असार ३१ गते विशेष कार्यक्रमका साथ पुरस्कार प्रदान गरिने छ ।