संस्कृति पर्यटन मन्त्रालयले ५ जनालाई पुरस्कृत गर्ने घाेषण

संस्कृति पर्यटन  मन्त्रालयले ५ जनालाई पुरस्कृत गर्ने घाेषण

लोकसंवाद संवाददाता  |  समाज  |  असार १३, २०७६

काठमाडाै‌ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’ तीन जनालाई प्रदान गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले पुरस्कार छनोट समितिको बुधबार बसेको बैठकले यस वर्ष उक्त पुरस्कार रणेन्द्र बराइली, चितवन, भद्रमान घले, धनकुटा र रमेशरञ्जन झा, धनुषालाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभएकाे छ ।

 बराइलीलाई दलित मुक्ति आन्दोलनको क्षेत्रमा, घलेलाई समाज सुधार अभियानको क्षेत्रमा र झालाई सीप, कला, शिक्षा–साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रमा योगदान गरेवापत पुरस्कार प्रदान गर्न लागिएको हो ।

एक/ एक लाख राशी रहेको उक्त पुरस्कार हरेक वर्ष राजनीतिक, सामाजिक शैक्षिक र सांस्कृतिक क्षेत्र, दलित मुक्ति आन्दोलनको क्षेत्र, समाज सुधार आन्दोलनको क्षेत्र मानव अधिकारको क्षेत्र र सीप, कला शिक्षा साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रमा प्रदान गरिँदै आइएको छ ।

यसैगरी मन्त्रालयले प्रदान गरिने गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार भीष्म उप्रेती, झापा र गोपालप्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कार प्रा. डा. केशवप्रसाद उपाध्याय, काठमाडौँलाई प्रदान गरिने भएको प्रवक्ता उपाध्यायले जानकारी गराउनुभयो । एक लाख राशी भएको उक्त दुवै पुरस्कार नेपाली कविता र गद्याख्यान/नाटक क्षेत्रमा योगदान गर्ने एक/ एक जना स्रष्टालाई प्रदान गरिँदै आएको छ ।