एकदिवसीय विश्वकप क्रिकेट : वेस्ट इण्डिजको टुंगियो सेमिफाइनल यात्रा

एकदिवसीय विश्वकप क्रिकेट : वेस्ट इण्डिजको टुंगियो सेमिफाइनल यात्रा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १३, २०७६

काठमाडौं । वेस्ट इण्डिज इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल यात्राबाट बाहिरिएको छ ।

बिहीबार राती भारतविरुद्धको खेलमा पराजित भएसँगै वेस्ट इण्डिजको सेमिफाइनल यात्रा टुंगिएको हो । जारी प्रतियोगिताका ७ खेलमध्ये ५ मा पराजित भएको वेस्ट इण्डिजको अंकतालिकामा ३ अंक मात्रै छ । 

उसले राउण्ड रोबिन चरणका दुई खेल खेल्न मात्रै बाँकी छ । यी दुई खेल जितेमा पनि वेस्ट इण्डिजको ७ अंक पुग्नेछ । जबकी अंकतालिकाको शीर्ष चारमा रहेको इग्ल्याण्डको ८ अंक छ । 

बिहीबार राती सम्पन्न खेलमा वेस्ट इण्डिज भारतसँग १२५ पराजित भएको हो । २६९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज ३४.२ ओभरमा १४३ रनमा अलआउट भयो । वेस्ट इण्डिजका लागि सुनिल अम्बारिसले सर्वाधिक ३१ रन जोडे । त्यस्तै, निकोलस पुरनले २८, सिमरोन हेटमायरले १८ र सेल्डोन कट्रेलले १० रन बनाए । केमार रोच १४ रनमा अभिजित रहे । वेस्ट इण्डिजका ६ खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । 

भरतका मोहम्मद सामीले ४ विकेट चट्काए । यस्तै, जसप्रित बुमराह र युजबेन्द्र चहलले समान २ विकेट लिँदा कुलदीप यादव र हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २६८ रन जोडेको थियो । टिमका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन जोडे । यस्तै, महेन्द्रसिंह धोनीले ५६, केएल राहुलले ४८ र हार्दिक पाण्ड्याले ४६ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । 

वेस्ट इण्डिजका केमार रोचले ३ तथा जेसन होल्डर र सेल्डन कटरेलले समान २ विकेट लिए । 

खेलको प्लेअर अफ दि म्याच विराट कोहली घोषित भए ।